काठमाडौं। गत वर्ष अटो शो अगाडि एउटा समाचार भाइरल भयो- उड्ने कार बोकेर ल्याइयो। उड्ने कार किन बोकेर ल्याउन बाध्य भएका थिए व्यवसायी? यसको एउटै उत्तर हो- पहिरोका कारण बाटो बन्द।
तातोपानी र रसुवा दुवै नाका बन्द भएका कारण प्रदर्शनीमा बुकिङ भएका गाडी ग्राहकलाई हस्तान्तरण गर्न व्यवसायीले करिब दुई महिनासम्म कुर्नुपर्यो।
चीनबाट नियमित ढुवानी गर्ने बाटो नखुलेपछि कतिपय आयातकर्ताले लागत महँगो परे पनि मुस्ताङको कोरला नाका प्रयोग गरेर गाडी ल्याएका थिए।
एक वर्षको अन्तरालमा केही दिनमा काठमाडौंमा फेरि अटो शो सुरु हुँदैछ। तर, तातोपानीको बाटो अहिले पनि बन्द नै छ। पहिरोका कारण तीन साताअघि बन्द भएको बाटो कहिले खुल्छ भन्ने टुंगो छैन।
साउन २६ गते नाइमा मोबिलिटी एक्स्पो सुरु हुँदैछ। त्यसलगत्तै नाडा अटो शो आयोजना गर्ने तालिका छ। तर, चीनबाट नयाँ मोडलका गाडी ल्याउने अधिकांश अटो व्यवसायीको चिन्ता एउटै छ- मगाएका गाडी प्रदर्शनीअघि नेपाल आउलान् कि नआउलान्?
अटो शो नजिकिँदै गर्दा चीनबाट सवारीसाधन आयात गर्ने व्यवसायी यसपालि पनि तनावमा देखिएका हुन्।
चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी तीन सातादेखि बन्द रहँदा रसुवा नाकामा चाप बढेको छ। त्यहाँ चीनतर्फ कन्टेनरको लामो लाइन लागेको छ। अर्कातर्फ नेपालतर्फ सडकको अवस्था कमजोर रहेकाले अटो व्यवसायीले ठूलो सास्ती बेहोर्नुपरेको छ।
नाइमा मोबिलिटी एक्स्पो र नाडा अटो शोका लागि अधिकांश विक्रेताले नयाँ मोडल र नयाँ ब्रान्डका गाडी मगाएका छन्। केही व्यवसायीले मगाएका गाडी नेपाल भित्रिए पनि धेरैजसो सवारीसाधन बाटोमा अलपत्र छन्। जसले गर्दा व्यवसायीहरु गाडी सार्वजनिक गर्ने कार्यक्रम नै स्थगित गर्न बाध्य भएका छन्। व्यवसायीहरुका अनुसार सडकको समस्याका कारण धेरै गाडी चीनमै रोकिएका छन्।
‘तातोपानी नाका बन्द भएपछि हामीले केरुङको बाटोबाट गाडी ल्याउन खोजेका छौं। तर, केरुङमा कन्टेनरको अत्यधिक चाप रहेकाले गाडी ल्याउन लामो समय कुर्नु परिरहेको छ। त्यसमाथि भन्सार नाकाबाट नेपालतर्फको सडक क्षतिग्रस्त रहेकाले कन्टेनरको नियमित आवतजावत प्रभावित छ। त्यसैले अटो शोका लागि गाडी आइपुग्दैनन् कि भन्ने चिन्ता बढेको छ,’ एक व्यवसायीले भने।
केही व्यवसायीले भने सवारीसाधन कन्टेनरबाट निकाली जोखिम मोलेर ट्रलीमा राखेर नेपाल ल्याइरहेका छन्। यसले ढुवानी खर्च बढेको छ। तर, समयमै गाडी आइपुग्ने सुनिश्चितता छैन। कतिपय आयातकर्ता समयमै गाडी नआए प्रदर्शनीको योजना नै प्रभावित हुन सक्ने भन्दै चिन्तित छन्।
‘पछिल्लो समय चीनसँग ट्रेड बढ्न थाल्यो। सरकारले त्यसलाई मध्यनजर गर्दै रोड कनेक्टिभिटी निर्माणमा जोड दिनुपर्छ। यसरी कहिलेसम्म हामीले बिग्रेको सडकबाट गाडी ल्याउने?,’ नाइमाका संस्थापक आकाश गोल्छाले भने।
वैकल्पिकरुपमा पोहोर जस्तै कोरला नाका प्रयोग गर्न सकिने भए पनि महँगो लागत र सडकको अवस्थाले त्यो मार्गबाट सवारीसाधन ल्याउन सहज नरहेको व्यवसायीहरु बताउँछन्।
अटो शोमा गाडी प्रदर्शनीका लागि लाखौं रुपैयाँ भाडा तिरेका व्यवसायीले स्टल बनाउन पनि ठूलो रकम खर्च गर्दैछन्। तर, गाडी नै नआएपछि उनीहरुलाई अहिले नयाँ तनाव थपिएको छ।
हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक दीपक थपलियाले एउटा नाका बन्द र अर्को नाकामा चाप तथा सडकको अराब अवस्थाले धेरै नै सास्ती भोग्नुपरिरहेको बताउँछन्।
‘हामीले बाटोका कारण निकै ठूलो समस्या भोग्नुपरिरहेको छ। अटो शोलाई सफल बनाउने योजनामा ध्यान केन्द्रित गर्नुपर्नेमा गाडी कसरी ल्याउने भन्ने चिन्ता लिनुपरेको छ,’ उनले भने।
पछिल्लो समय नेपालको अटोमोबाइल बजार चीनबाट आयात हुने विद्युतीय सवारीसाधनमा निर्भर छ। तर, चीनसँगको व्यापारिक मार्ग भरपर्दो नहुँदा हरेक वर्षजस्तै यसपटक पनि अटो शोअघि व्यवसायीले तनाव झेल्नुपरेको छ।
‘हामीले गाडी नाकामा ल्याइपुर्याएका छौं। तर यता ल्याउन समस्या छ। एक त नाकामा कन्टेनरको जाम छ। अर्कातर्फ भन्सार छुटेपछि गाडी ल्याउने बाटो कतिखेर बन्द हुन्छ निश्चित छैन,’ थपलियाले भने, ‘हामीले ट्रेड रुट बनाइदिन लामो समयदेखि भन्दै आए पनि सरकारले अहिलेसम्म वास्ता गरेको छैन।’









