काठमाडौं । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा स्वेदश फर्किने भएपछि प्रहरी ‘अलर्ट’मा बसेको छ। साउन २६ गते काठमाडौं ओर्लिने बताएका देउवा दम्पत्तीविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गरिरहेको छ।
शेरबहादुर देउवा र आरजु देउवासँगै उनीहरुका छोरा जयवीर देउवाविरुद्ध पनि पक्राउ पूर्जी जारी गरिएको थियो। त्यसमा देउवा दम्पत्तिलाई पक्राउ नगर्न सर्वोच्चले आदेश पनि दिइसकेको छ।
देउवा फर्किने बित्तिकै प्रहरीले पकाउ गर्ने त होइन? भन्ने प्रश्नको जवाफमा डिआइजी अबि नारायाण काफ्ले भने, ‘उनको विषयमा के छ भन्ने हेर्दै छौं। कुनै मुद्दा छ छैन हेरिरहेका छौं।’
सर्वोच्चले आदेश दिए पनि अनुसन्धान जारी रहेकोले के गर्ने भन्ने विषयमा प्रहरी अहिले छलफलमा छ। देउवालाई ओर्लिने बित्तिकै समाउने कि नसमाउने, उत्पन्न हुन सक्ने परिस्थिति लगायतका बारेमा प्रहरी विभिन्न निकायसँग छलफलमा छ।
सर्वोच्चले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट अनुसन्धान भएको कसुरको मुद्दा हेर्ने क्षेत्राधिकार विशेष अदालतमा रहेको भन्दै अध्यादेश जारी हुनुपूर्व काठमाडौं जिल्ला अदालतबाट २०८२ चैत १४ मा जारी पक्राउ पुर्जी स्वत: निष्क्रिय हुने ठहर गरेको थियो।
देउवा दम्पतीविरुद्ध रेड नोटिस जारी गर्न प्रहरीले थप कागजात पठाउने तयारी भइरहँदा सर्वोच्चको यो आदेश आएको थियो।









