काठमाडौं। सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले उनीहरूलाई पक्राउ नगर्न सोमबार अन्तरिम आदेश दिएको हो। सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि देउवा दम्पत्ती विरुद्ध २०८२ चैत १४ मा जारी पक्राउ पुर्जी जारी भएको थियो।
सर्वोच्चले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट अनुसन्धान भएको कसुरको मुद्दा हेर्ने क्षेत्राधिकार विशेष अदालतमा रहेको भन्दै अध्यादेश जारी हुनुपूर्व काठमाडौं जिल्ला अदालतबाट २०८२ चैत १४ मा जारी पक्राउ पुर्जी स्वत: निष्क्रिय हुने ठहर गरेको छ।
देउवा दम्पतीविरुद्ध रेड नोटिस जारी गर्न प्रहरीले थप कागजात पठाउने तयारी भइरहँदा सर्वोच्चको यो आदेश आएको हो।




देउवा दम्पती हाल विदेशमा छन्। देउवा उपचारका लागि भन्दै चुनाव समेत छाडेर फागुन १३ गते सिंगापुर उडेका थिए। त्यसको केही दिनमा उनी हङकङ गएका हुन्। आरजु भने भारतबाट सिंगापुर हुँदै हङकङ पुगेकी हुन्।









