काठमाडौं । गत बिहीबार सिराहामा गोली चलेको र सिराहा औरही गाउँपालिका २ का १५ वर्षीय गणेश यादवको मृत्यु भएको घटनाबारे अनुसन्धान गर्न छानबिन समिति गठन गरिएको छ।
गृह मन्त्रालयले गृहका सचिव पुष्पराज शाहीको नेतृत्वमा पाँच सदस्य टोली गठन गरेको हो। नेपाल प्रहरीका एसपी मोहन थापा, सशस्त्र प्रहरीका एसपी नरेश भण्डारी, नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालाका डिएसपी पवन ढुङ्गाना र गृह मन्त्रालयका उपसचिव कुलेश्वर अर्याल सो टोलीमा छन्।
सुनसरीको घटनापछि सिराहाको गोलबजारमा झडप हुँदा चलेको गोली लाग्दा यादवको मृत्यु भएको थियो। त्यसपछि तराई पुगेका गृहमन्त्री सुधन गुरुङले घटनाको छानबिन गर्न मृतकका परिवारसँग सम्झौता गरेका थिए।
गृहले सो सहमति बजोजिम छानबिन टोली गठन गरेको हो। टोलीले आजै सिराहा पुगेर छानबिन सुरु पनि गरेको छ। घटनास्थल पुगेर उनीहरुले अवस्थाबारे जानकारी लिएका छन् भने सर्वदलीय बैठक पनि बसेको छ।
सो टोलीले आज मृतकका परिवार, प्रत्यक्षदर्शी, घाइते लगायतसँग सो दिनको घटनाबारे बुझ्ने काम गरिरहेको छ। टोलीले घटनाबारे विस्तृत विवरण तयार पारेर गृह मन्त्रालयमा बुझाउनेछ। उनीहरुलाई आउने दिनमा यस्तो घटना फेरि दोहोरिन नदिने के गर्न सकिन्छ भनेर सुझाव दिन पनि भनिएको छ।
सुनसरीको कप्तानगन्जबाट सुरु भएको विवादबाट सुरु भएको प्रदर्शन हाल साम्य भएको छ। सो घटनामा विभिन्न स्थानमा ४ जनाको गोली लागेर मृत्यु भइसकेको छ।










