काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद रमेश मल्लले राहदानी सहज रुपमा वितरण नभएको भन्दै सरकारको आलोचना गरेका छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा मल्लले घरघरमै पासपोर्ट पुर्याउने बाचा गरेको सरकार सेवा प्रवाह सहज बनाउन चुकेको बताए।
‘सरकार पासपोर्ट घरसम्मै पुर्याउँछु भन्दै थियो, तर पासपोर्ट लिनेको लाइन घरैसम्म पुगको छ। त्यस्तै लाइन सरकारी सेवा प्रदायक अन्य कार्यालयमा पनि लागेको छ,’ उनले भने।
मल्लले खाना पकाउने ग्यास र रासायनिक मलका लागि पनि उपभोक्ता लाइनमा लागेर सास्ती भोग्न बाध्य भएको बताए। ‘उपभोक्तालाई खाना पकाउने ग्यास र किसानलाई मलको अभाव छ। महँगीका कारण नागरिकले सास्ती व्यहोरिरहेका छन्,’ मल्लले भने।










