काठमाडौं। सत्तारढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले बजारमा ग्यास अभावलाई लिएर नेपाली जनताले अत्यावश्यक सेवाका लागि कहिलेसम्म लाइन बसिरहनुपर्ने हो? भनी सरकारसँग प्रश्न गरेकी छन्।
उनले मंगलबार प्रतिनिधि सभाको बैठकमा सरकारले आपूर्ति सहज रहेको दाबी गरे पनि पत्याउने अवस्था नरहेको बताइन्।
उनले बजारमा उपभोक्ताको लाइनले वितरण व्यवस्था पूरै असफल भएको देखिएको पनि बताइन्।
‘म एउटा मात्र प्रश्न सोध्न चाहन्छु- नेपाली जनताले अत्यावश्यक सेवाका लागि कहिलेसम्म लाइन बसिरहनुपर्ने हो? सरकार भन्छ आपूर्ति सहज छ। तर जनता सिलिण्डर लिएर सडकमा लाइन बस्न बाध्य छन्। यो कस्तो विरोधाभास विषय हो? वितरण व्यवस्था पूर्णरुपमा असफल भएको छ। बजार अनुगमन कागजमा मात्र सीमित भएको जस्तो देखिएको छ,’ उनले भनिन्।
बजारमा केही दिनयता ग्यास अभाव चुलिएको छ। काठमाडौं लगायत देशका विभिन्न शहरका ग्यास डिपोमा उपभोक्ताको लाइन लाग्न थालेको छ।










