नेदरल्याण्ड्स सिरिजमा शतप्रतिशत हारको लेखाजोखा : मैदान भित्र र बाहिरका कारण के-के?



मुकुन्द घिमिरे
२०८३ साउन १६ गते ०६:०९ | Aug 1, 2026
नेदरल्याण्ड्स सिरिजमा शतप्रतिशत हारको लेखाजोखा : मैदान भित्र र बाहिरका कारण के-के?
तस्बिर : क्यान


काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले जर्सी-नेदरल्याण्ड्स सिरिजमा जाने खेलाडीलाई दुई दिन अगावै बिदा गर्‍यो। सामान्यत: फ्लाइटकै दिन या अघिल्लो दिन बिदाई गर्ने परम्पराहुनेगर्छ। दुई दिन अघि सरेर बिदा गर्नुको कारण थियो- एनपीएल अक्सन।

Tata
GBIME

एनपीएल अक्सनामा राष्ट्रिय टोलीका अधिकांश खेलाडी टेबलमा बसेर खेलाडी छनोट गरिरहेका थिए। त्यसको भोलिपल्ट उनीहरू जर्सी उडे। जर्सीमा तयारी सिरिज खेलमा नेपाली टोली नेदरल्याण्ड्स पुग्यो। नेदरल्याण्डमा सिरिजका चार खेलमा शतप्रतिशत जित निकाल्न सके शीर्ष तीनमा नत्र कम्तीमा तीन खेल जित्न सके अर्को सिरिजमा सम्भावना जोगाउने योजना नेपालको थियो।

तर, नतिजा ?

सोचेभन्दा धेरै खराब।

दुईवटा घरेलु सिरिजमा सानदार लय देखाएको नेपालले लिग-२ मा एउटै खेल जित्न सकेन। यो हार नेपालका लागि यति भारी भइसकेको छ कि अब सबै खेल जिते पनि नेपालले शीर्ष तीनमा स्थान बनाउँदैन। शीर्ष चारमै रहन पनि नेपालले बाँकी सबै खेल जितेर पुग्दैन। नेपालले आफ्नो बाँकी ४ खेल जित पनि ओमनले उसका बाँकी ८ खेल नै हारे, एउटा समीकरण बन्न सक्छ।

पहिलो नजरमै यो व्यवहारिक समीकरण होइन। मानौ, यो नतिजा नेपाल अनुकूल आउँछ भने पनि नामिबिया र क्यानडाले पनि नेपालको अनुकूल नतिजा निकाल्नु पर्छ। निष्कर्षमा भन्दा – नेपालले अब प्लेअफको तयारी थाल्दा हुन्छ।

यसखाले स्थिति नेपाली क्रिकेटका लागि धेरै अर्थमा सहज होइन। अझ जोखिमपूर्ण भन्दा हुन्छ। पहिलो विश्वकप पुग्ने बाटोका रुपमा रहेको ग्लोबल क्वालिफायर नेपालले गुमाउन सक्छ। ग्लोबल क्वालिफायर पुगेमात्रै पनि टेस्टमान्यता प्राप्त टोलीसँग एकदिवसीय फर्म्याटमा खेल्ने अवसर गुम्छ। अघिल्लो पाला ग्लोबल क्वालिफायरमा नेपालले जिम्बावे, वेस्ट इण्डिजजस्ता टोलीसँग एकदिवसीय फर्म्याटमा खेल्ने अवसर पाएको थियो।

दोस्रो, नेपालको एकदिवसीय मान्यता नै गुम्न सक्छ। अघिल्लो चक्रमा तालिकाको पुछारमा रहेको पपुवा न्युगिनीले यसरी नै एकदिवसीय मान्यता गुमाएको थियो। यसले गर्दा आईसीसी/एसीसीबाट प्राप्त हुने रकमदेखि एक्सपोजरसम्म प्रत्यक्ष प्रभाव पार्छ। सन् २०१८ मा जसोतसो मुस्किलले हात परेको यो मान्यता खासगरी टेस्ट मान्यता पाउने योजनामा रहेको नेपालका लागि जोगाउनै पर्ने हुनेछ।

अघिल्लो साइकलमा भारतीय प्रशिक्षक मोन्टी देशाइको प्रशिक्षणमा जादुयी नतिजा निकाल्दै नेपालले कमब्याक गरेको थियो। यसपाला भने बाँकी खेलबाट कमब्याकको गुञ्जायस सकिएको छ। कमब्याकका लागि नेदरल्याण्ड सिरिजमा बलियो नतिजा चाहिन्थ्यो, त्यो आएन।

नेदरल्याण्ड्समा नेपाल किन चुक्यो? यसको पछाडि केही मैदानभित्रका कारण र केही मैदान बाहिरका

कारण छन्।

टिम म्यानेजर

नेपाली खेलकुदमा सबैभन्दा बढी राजनीति हुने एउटा क्षेत्र हो- टिम म्यानेजर। टिम म्यानेजर बनेर विदेश जानेमा संघहरूमा ठूलै लबिइङ हुनेगरेको छ। ओलम्पिकदेखि एसियन गेम्ससम्म सम्बन्धनै नभएको खेलमा पनि खेलकुदमा हालीमुहाली हुनेगरेको देख्ने गरिएको छ।

क्रिकेटमा पनि यो विकृति कम छैन। भागबण्डाका आधारमा सिरिजैपिच्छे फरकफरक म्यानेजर पठाउने, म्यानेजर आफ्नो टोली छाडेर अन्यत्रै घुम्न जाने, टोलीसँग नरहने जस्ता घटना क्रिकेटमा पनि हुने गरेका छन्।

यसपाला टोलीको बिदाइमा क्यानका सचिव पारस खड्कासँग टीमका म्यानेजर पनि थिए श्रीधर केसी। तर, उनी जर्सी र नेदरल्याण्ड्स पुगेनन्। क्यानले यसमा भिषालाई दोष देखाएर पन्छेको छ। टिम म्यानेजर किन गएनन् एउटा प्रश्न हुनसक्छ तर कारण जे भएपछि यसको अझ महत्वपूर्ण अर्को प्रश्न उठ्छ यसले टोलीमा के असर पर्छ?

नेपाल क्रिकेट संघ (क्यान)का केन्द्रीय सदस्य दिवाकरण घलेले घरेलु मैदानमै नेपाल म्यानेजरविहीन भएर खेल्दा यो प्रश्न तेर्स्याएका थिए। गएको अप्रिलमा यूएई र ओमनसँग नेपालले सिरिज खेल्दा पनि नेपाल म्यानेजरविहीन नै थियो।

‘पहिलो खेलमा म्यानेजरको भूमिकामा कसैलाई पनि डगआउटमा देखिनँ। दोस्रो खेलमा पनि खोजेँ, तर भेटिनँ। क्यानले यो सिरिजका लागि म्यानेजर नियुक्त गरेको होला भन्ने लाग्छ,’ उनले त्यसबेला लेखेका थिए, ‘कुनै पनि टिममा सपोर्ट स्टाफको रूपमा म्यानेजरको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। यसले टिमको व्यवस्थापन देखि खेलसम्मलाई प्रभाव पार्छ। विश्वकप लिग-२ को यो महत्त्वपूर्ण सिरिजमा हरेक खेल निर्णायक हुन सक्छ।’

क्यानले यो बुझेर पनि समस्या समाधान गर्न नसकेको त्यसबेला लेखेका थिए।

‘दु:खको कुरा के छ भने, म्यानेजरको महत्त्व हामी अझै पनि राम्ररी बुझ्न सकेका छैनौं। विदेश जानकै लागि मात्र म्यानेजर पद सिर्जना गर्ने प्रवृत्ति बढ्दै गएको देखिन्छ,’ उनले लेखेका थिए, ‘यो पहिलो पटक होइन। यूएईमा पनि हामीले म्यानेजर पदलाई नजरअन्दाज गर्दा अर्कै भूमिकाका कर्मचारीलाई जबर्जस्ती म्यानेजर बनाउनुपरेको थियो।’

त्यसबेला घरेलु मैदानमा जे भएको थियो त्यही यसपाला पनि दोहोरिएको छ।

‘हाम्रो क्रिकेटको वर्तमान आधार एकदिवसीय मान्यतामा टिकेको छ। टी-२० को लोकप्रियता र अन्तर्राष्ट्रिय एक्सपोजर पनि मुख्य रूपमा एकदिवसीय मान्यताकै कारण सम्भव भएको हो।’

यसपाला नेपाल विदेशी मैदानमा म्यानेजरविहीन भएर खेल्यो। सायद यसले प्रदर्शनमा प्रभाव पार्‍यो कि?

प्रशिक्षण र प्रदर्शन

नेपाली टोली जर्सी उड्नु अघिसम्म प्रशिक्षक स्टुअर्ट ल टोलीमा थिएनन्। क्यानका सचिव पारस खड्काले प्राविधिक कारणले उनी टोलीमा रहन नसकेको बताएका थिए।

‘सिनियर हेडकोच पासपोर्ट नवीकरणका कारण उहाँले क्याम्प ज्वाइन गर्न सक्नु भएन,’ पारस खड्काले भनेका थिए।

पछि प्रशिक्षकले टिम ज्वाइन त गरे तर टोलीको सन्तुलन फर्कन सकेन। ब्याटिङ, बलिङ र फिल्डिङ सबै क्षेत्रमा निरीह बन्दै नेपाल चारमध्ये चारवटै खेलमा पराजित हुन पुग्यो।

अतिविश्वास र अविश्वास

नेपाली क्रिकेट टोलीमा पछिल्ला वर्षमा देखिएको एउटा ठूलो समस्या हो- अतिविश्वास र अविश्वास। नेदरल्याण्ड्समा नेपालका शीर्षक्रमका ब्याटर लगातार फ्लप भए। कुनै पनि खेलमा ‘वाह !’ भन्ने खालको सुरुवात नेपाली ब्याटिङले गरेन। समग्र टीमकै कुरा गर्दा करण केसीबाहेक कुनै पनि खेलाडीको प्रदर्शन प्रशंसायोग्य थिएन।

तेस्रो या चौथो खेलसम्म पुग्दा शीर्षक्रमको लय कमजोर छ भन्ने थाहा भइसकेको थियो। प्रशिक्षक स्टुवार्ड लले यसैलाई बुझेर बलर हटाएर ब्याटर थप्ने निर्णय लिए। यसमा उनले भीम सार्कीलाई शीर्षक्रममा ल्याएर ब्याटिङ गराए। तर, न भीम चले न त अन्य ब्याटर नै।

त्यसो भए, टोलीमा शीर्षक्रमका ब्याटरको विकल्पै थिएन त?

त्यसो होइन। टोलीमा घरेलु टोलीमा उच्च प्रदर्शन गरिरहेका विनोद भण्डारी र अर्जुन कुमाल पनि थिए। पछिल्लो वर्षको तथ्यांक हेर्नेहो भने शीर्षक्रमका अन्य कुनै पनि ब्याटरभन्दा यी दुईको प्रदर्शन राम्रो छ। ठूलो इनिङ्स खेल्ने ‘इन्टेन्ड’ यी ब्याटरमा देखिन्छ। एकतर्फ नियमित ब्याटरमा प्रशिक्षकल अतिविश्वास गर्दा भण्डारी, कुमालजस्ता खेलाडीमा प्रशिक्षकले विश्वास गर्नै नचाहेको देखिन्छ।

टोलीको पारा देखेपछि नेपाली टोलीका पहिलो कप्तान लेख क्षेत्रीले आफू खेलाडी छनोटसमितिमा नरहेको र पहिलै राजीनामा दिइसकेको सामाजिक सञ्जालमा स्पष्टीकरण नै दिए।

‘विगत ३-४ महिनादेखि यता सीनियर महिला र पुरुष राष्ट्रिय क्रिकेट टोलीको खस्किएको प्रदर्शनका सम्बन्धमा मलाई प्रमुख छनौट कर्ता भनी/समझी सामाजिक संजाल र फोन मार्फत टोली छनौटका सम्बन्धमा विभिन्न टीका-टिप्पणी भइरहेको प्रति गम्भीरतापूर्वक लिएर यस विषयमा सबैलाई स्पष्ट गराउन चाहन्छु कि म जनवरी २, २०२६ देखि उक्त जिम्मेवारीमा आफू नरहेको र पदबाट राजीनामा गरिसकेको छु (अर्थात् ७ महिना पहिले नै),’ उनले लेखेका छन्।

आफूले राजीनामा दिएको विषय क्यानले सार्वजनिक नगरेकाले बाध्यात्मक हिसाबले सामाजिक सञ्जालबाट प्रस्तुत गरेको उनले बताएका छन्।

टी-२० मोहले बिगार्दैछ क्रिकेट?

नेपाली क्रिकेट टोलीले तीन पटक टी-२० विश्वकप खेलिसकेको छ। नेपालमा पनि पछिल्ला वर्षमा सबैभन्दा धेरै माहोल बनाउने खेल नेपाल प्रिमियर लिग (एनपीएल)नै हो। यो टी-२० फर्म्याटकै खेल हो। नेपालमा वर्षमा एकपटक हुने प्रधानमन्त्री कप र जय ट्रफीबाहेक लगभग सबैजसो खेल टी-२० फर्म्यटमै छन्।

नेपालमात्र होइन, टी-२० फर्म्याटको फ्रेन्चाइज विश्वभर चर्चित छ। टी-२० फर्म्याटमा राम्रो गर्न सके नेपाली खेलाडीहरू पनि विदेशी फ्रेन्चाइज लिगमा जान सक्छन्। नेपालमै पनि महँगो मूल्यमा अक्सन हुन सक्छन्।

यसपाला लंका प्रिमियर लिगमा कुशल भुर्तेल, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी पनि छ। केही वर्षअघिसम्म सन्दीप लामिछानेमात्र विदेशी लिगमा व्यस्त हुने गरेकोमा पछिल्लो पटक दीपेन्द्रसिंह ऐरी पनि विभिन्न लिगमा पुगेका छन्। यसबाहेकका खेलाडीहरूले पनि अवसर पाउन थालेका छन्। मोटो रकम र एक्सपोजर खेलाडीका लागि राम्रो हुनेगरे पनि लामो फर्म्याटका लागि यो घातक बन्ने गर्छ। यस्तो समस्या नेपालको मात्रै पनि होइन। अन्य क्रिकेटिङ राष्ट्रहरूले यसलाई सन्तुलनमा ल्याउन विभिन्न रणनीति बनाउने गरेका छन्।

गैह्रजिम्मेवार ब्याटिङ

नेदरल्याण्ड्स सिरिजमा नेपाल पराजित हुनुको पछाडि मैदानभित्रका धेरै कारण छन्। यसपालाको सिरिजमा वाह! भन्न लायक प्रदर्शन बलिङ/ब्याटिङ या फिल्डिङ कतै पनि आएन। यसमा पनि सबैभन्दा झुर ब्याटिङ रह्यो। दुई खेलमा १५७ रन बनाएको नेपालले बाँकी दुई खेलमा १६८ र २०८ रन बनायो। यी मध्ये कुनैपनि एकदिवसीय अन्तर्राष्ट्रियमा बलियो योगफल होइनन्।

जिम्मेवार ब्याटरले फितलो सर्टसहित लगातार विकेट फाल्नु र हाइप्रोफाइल भनिने बलर नचल्नु नेपालका लागि घातक बनेको छ। नेदरल्याण्ड सिरिजले नेपाली क्रिकेटमा एउटा नमिठो प्रश्न चाहिँ उब्जाएको छ- अब के हुन्छ?