गगनलाई धक्का दिने तयारीमा देउवा समूह, खबरदारी गर्न संस्थापनइतर एकै मञ्चमा



नेत्र तामाङ
२०८३ साउन ८ गते २१:२४ | Jul 24, 2026
गगनलाई धक्का दिने तयारीमा देउवा समूह, खबरदारी गर्न संस्थापनइतर एकै मञ्चमा


काठमाडौं। नेपाली कांग्रेस संस्थापनइतरले साउन २९ गते काठमाडौंमा राष्ट्रिय भेला गर्दैछ। भेलाको एउटै उद्देश्य हो -पार्टीमा पुराना नेताहरूको उचित व्यवस्थापनको मागसहित सभापति गगन थापालाई खबरदारी गर्ने।

Tata
GBIME

१४औं महाधिवेशनपछि शेरबहादुर देउवा समूह र डा शेखर कोइराला समूहको हालीमुहाली थियो कांग्रेसमा। महामन्त्री बनेका निरन्तर संस्थापनसँग प्रश्न गर्ने गगन अहिले कांग्रेसको नेतृत्वमा छन्।

विशेष महाधिवेशनबाट सभापतिमा चयन भएका गगनसँग देउवा र कोइराला समूहका नेताहरू अहिले केन्द्रीय समितिमा उचित ठाउँ माग्दै संघर्षमा उत्रेका हुन्।

फागुन २१ गतेको निर्वाचनपछि होटल स्मार्टमा जुट्दै आएका संस्थापनइतरलाई गगनले कमजोर बनाउँदै लगेका छन्। कोषाध्यक्षमा देउवा टिमकै उमेश श्रेष्ठ मनोनीत भएका छन्।

साउन २८ देउवा र शेखर समूहका १९ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेपछि झनै कमजोर बनेको छ संस्थापनइतर। यो बीचमा गगनले पूर्णबहादुर खड्का र डा शेखरलाई ‘वरिष्ठ नेता’को अफरसमेत गरेका थिए।

यद्यपि, दुई नेताले उक्त प्रस्ताव अस्वीकार गरेपछि सभापति थापाले राष्ट्रिय सभागृहबाट गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता घोषणा गरेका छन्। निर्वाचन आयोग, सर्वोच्च अदालतपछि ७ महिनादेखिको वार्ता कुनै निचोडमा पुगेको छैन।

यो बीचमा कांग्रेस संस्थापनले देउवा पक्षका थप दर्जन नेताहरूलाई केन्द्रीय समितिमा ल्याउने तयारी गरेको छ।

कसको आडमा भेला?

संस्थापन पक्ष पेलेरै जाने देखेपछि पूर्व उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा देउवा पक्ष र शेखर पक्ष संघर्षमा उत्रेका हुन्। राष्ट्रिय भेला संयोजनको जिम्मेवारी प्रकाशमान सिंहलाई दिइएको छ।

यो समूहमा खड्कासहित, सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, डा शशांक कोइराला, डा. शेखर कोइराला, डा. प्रकाशशरण महत, शंकर भण्डारी, एनपी साउद, मोहन बस्नेत, जितजंग बस्नेत लगायत नेताहरूको लर्को छ।

संस्थापन पक्षका एक पदाधिकारी यो समूहमा पुराना नेता मात्र भएको छ यस्तो खालको सभाहरू लाज छोप्ने काम मात्र भएको बताउँछन्।

‘कार्यकर्ता छैनन्। पुराना नेताको लर्को छ। पूर्व पदाधिकारी क्लब चलाएर बसेको नेताहरूलाई कार्यकर्ताले पनि पत्याएका छैनन्,’ ती पदाधिकारीले भने।

संस्थापनइतर भने अहिले २० भन्दा बढी जिल्ला सभापति आफ्नो पक्षमा रहेको दाबी गर्छन्।

‘जता शक्ति छ उतैतिर जाने हाम्रो चलनै हो। केही अघिसम्म प्रदेश सभापतिसहित ४५ जना जिल्ला सभापति थिए। अहिले कम हुँदै गएको छ,’ संस्थापनइतरका नेताले भने।

संस्थापनले भने १५ जिल्लाको सभापति संस्थापनइतरमा रहेको दाबी गर्छन्।

संस्थापनइतरका नेता मीनबहादुर विश्वकर्माका अनुसार अहिले केन्द्रीय निकाय गगनकै नेतृत्वमा भएकाले जिल्ला सभापतिहरूलाई यो पक्ष र त्यो पक्ष भन्न नमिल्ने बताउँछन्।

‘जिल्लामा पहिलेकै संख्यामा जिल्ला सभापतिहरू हाम्रो पक्षमा हुनुहुन्छ। तर, अहिले नेतृत्वको हुकुमी शैलीका कारण नखुल्नुभएको हो,’ विश्वकर्माले भने।

संस्थापनले वैकल्पिक शक्तिको आधार तय गर्न राष्ट्रिय भेला गर्न लागेको र यसका चार मुख्य आधार भएको उनले बताए।

‘पहिलो आधार नियमित महाधिवेशन पक्षधर हो, दोस्रो आधार क्रियाशील अद्यावधिकको विरोध, तेस्रो आधार जेन-जी विद्रोहको विरोध,’ विश्वकर्माले भने, ‘चौथो आधार भनेको विचार नै हो। गगन नेतृत्वको कांग्रेसले हिजोको विचार छाडेर सामाजिक लोकतन्त्र रोजिसकेको छ।’

कांग्रेसमा क्रियाशील अद्यावधिक नगर्नेको संख्या साढे ३ लाख भएको संस्थापनइतरको दाबी छ। त्यसै गरी, प्रजातान्त्रिक समाजवाद सिद्धान्त बनाउँदै आएको कांग्रेसले अहिले सामाजिक लोकतन्त्रलाई अँगाल्नु राष्ट्रिय स्वतन्त्र पार्टीको पछि लागेको पुष्टि भएको विश्वकर्माले आरोप लगाए।

‘गगन नेतृत्वले वीपीको सिद्धान्त त्यागिसके। जेनजी विद्रोहको स्वागत गरेका छन्। यो त रास्वपाकै लाइन हो। रास्वपाको लाइनमा गएको पार्टीमा धेरै कांग्रेस कार्यकर्ता जाँदैनन्,’ विश्वकर्माले भने।

राष्ट्रिय भेलामा महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिहरूलाई सहभागी गराउने संस्थापनइतरको तयारी छ। १५औं महाधिवेशनमा संस्थापनले प्रतिस्पर्धा नगर्ने हिसाबले इतर पक्षलाई नसमेट्ने तयारी गरेको उनको बुझाइ छ।

यसो भएमा धेरै नेता कार्यकर्ता इतर पक्षमा खुल्ने र साउन २९ गतेको राष्ट्रिय भेलाले वैकल्पिक शक्ति निर्माणको ढोका खुल्ने विश्वकर्मा बताउँछन्।