चाबहिल-गौशालामा दुई तले सुरुङमार्ग बनाइने, भूमिगत सडकका लागि ६५ अर्ब लगानी



बिजमाण्डू
२०८३ साउन ३ गते १५:३३ | Jul 19, 2026
चाबहिल-गौशालामा दुई तले सुरुङमार्ग बनाइने, भूमिगत सडकका लागि ६५ अर्ब लगानी


काठमाडौं। विश्व सम्पदा सूचीमा रहेको पशुपति नजिक दुई तले सुरुङमार्ग निर्माण गर्न प्रस्ताव गरिएको छ।

Tata
GBIME

पूर्वाधार विकास मन्त्रालय र जाइकाले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई मध्यनजर गरी चाबहिल-गौशाला क्षेत्रमा दुई तले सुरुङमार्ग निर्माण गर्न प्रस्ताव गरेका हुन्।

मन्त्रालय र जाइकाले निर्माण गरिरहेको ‘काठमाडौं भ्याली अर्बन ट्रान्सपोर्ट सिस्टम मास्टर प्लान’मा चाबहिल-गौशाला सुरुङमार्ग बनाउने योजना अगाडि सारिएको छ।

प्रस्ताव अनुसार सुरुङ मार्ग करिब १.५५ किलोमिटर लामो हुनेछ। विश्व सम्पदा सूचीमा रहेको पशुपति क्षेत्र नजिक भएकाले चाबहिल-गौशाला क्षेत्रमा एलिभेटेड सडक निर्माण गर्न सम्भव नहुने निष्कर्षसहित सुरुङमार्ग बनाउन प्रस्ताव गरिएको मन्त्रालयका एक कर्मचारीले बताए।

‘सम्पदा क्षेत्रमा सकेसम्म असर नपरोस् भनेर हामीले सुरुङ‌मार्ग उपयुक्त विकल्प हुने देखेर प्रस्ताव गरेका हौं,’ ती कर्मचारीले भने।

उनका अनुसार चाबहिल-गौशालामा हालको चार लेन सडकमुनि चार लेनकै सुरुङमार्ग निर्माण गरिनेछ। सुरुङ दुई तह (स्ट्याक्ड टु लेन टीबीएम)मा निर्माण गर्ने योजना छ, जसमा माथिल्लो तह उत्तरतर्फ जाने र तल्लो तह दक्षिणतर्फ आउने सवारीका लागि प्रयोग हुनेछ।

सुरुङ निर्माणअघि हेरिटेज इम्प्याक्ट असेस्मेन्ट तथा पुरातात्त्विक अध्ययन अनिवार्यरुपमा गरिनेछ। सुरुङ खन्न प्रयोग हुने टीबीएम (टनेल बोरिङ मेसिन)को सुरुवाती विन्दु चाबहिल चोकको उत्तरतर्फ राख्ने प्रस्ताव छ।

सुरुङमार्ग निर्माण गर्न ६४ अर्ब ७१ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ। यसमा निर्माण, डिजाइन, प्राविधिक सेवा, व्यवस्थापन, कर तथा जग्गा अधिग्रहण र क्षतिपूर्तिसमेतमा हुने समावेश छ। जग्गा अधिग्रहणका लागि पौने १ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको ती कर्मचारीले बताए।

सुरुङमार्गमा प्रत्येक दिशाको सडककझ चौडाइ ६.५ मिटर र राइट अफ वे १५.५ मिटर हुनेछ। आपतकालीन उद्धार मार्गको व्यवस्था र सुरुङभित्र साझा युटिलिटी डक्ट निर्माण गर्न प्रस्ताव गरिएको छ।

उपत्यकामा बढ्दो ट्राफिक व्यवस्थापनका लागि यस खण्डको हालको चार लेन सडकलाई यथावत् राख्दै सुरुङमार्ग निर्माण गरेपछि सवारी क्षमता वृद्धि हुनेछ।

गौशाला-तीनकुने सडक विस्तार गरिने

मास्टर प्लानमा चक्रपथको गौशालादेखि तीनकुनेसम्मको २.५२ किलोमिटर खण्ड विस्तार गर्न पनि प्रस्ताव गरिएको छ। यो खण्ड ८ लेनमा विस्तार गर्न प्रस्ताव गरिएको हो। यसका लागि करिब ६ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

यो खण्डमा अहिले विमानस्थल प्रवेशद्वारका कारण हुने ट्राफिक जाम कम गर्न डेडिकेटेड राइट-टर्न लेन निर्माण गर्ने योजना छ। हालको चार लेन सडकको दुवैतर्फ दुई-दुई लेनका सर्भिस रोड थप्ने योजना रहेको मास्टर प्लान निर्माणमा संलग्न अर्का कर्मचारीले बताए।

‘मुख्य सडक ४/४ लेन र सर्भिस रोड दुवै किनारमा ७ मिटर चौडाइको हुनेछ। साथै फुटपाथ दुवै किनारमा २ मिटर र राइट अफ वे ४४ मिटरको हुनेछ,’ ती कर्मचारीले भने।