प्रमुख प्रशासकीय अधिकृतलाई सरकारले भन्यो- विपद्को समयमा कार्यालयमा अनिवार्य उपस्थित हुनू



बिजमाण्डू
२०८३ साउन ४ गते १७:३२ | Jul 20, 2026
प्रमुख प्रशासकीय अधिकृतलाई सरकारले भन्यो- विपद्को समयमा कार्यालयमा अनिवार्य उपस्थित हुनू


काठमाडौं। सरकारले जिल्ला समन्वय अधिकारी र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई विपद्को समयमा कार्यालयमा अनिवार्य उपस्थित हुन सर्कुलर गरेको छ।

Tata
GBIME

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विपद्जन्य घटनाको जोखिम तथा प्रभावलाई दृष्टिगत गरी विपद् व्यवस्थापन, उद्धार, राहत, समन्वय तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन सोमबार जिल्ला समन्वय अधिकारी र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको नाममा पत्र काटेको हो।

पत्रमा विपद्को संवेदनशील समय अवधिभर कार्यालय नछाड्न तथा कार्यालयमा नियमित रूपमा उपस्थित भइ आवश्यक समन्वय, सहजीकरण र निर्णय प्रक्रियामा सक्रिय हुन भनिएको छ।

यस्तै कुनै प्रकारको बिदामा रहेको भए बिदा छोट्याई यथाशीघ्र कार्यालयमा उपस्थित भई जिम्मेवारी सम्हाल्न निर्देशन दिइएको छ।

‘विपद्सँग सम्बन्धित सूचना, उद्धार तथा राहत कार्य, क्षतिको विवरण तथा अन्य आवश्यक समन्वय कार्यमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, प्रदेश तथा सङ्घीय निकायसँग निरन्तर सम्पर्क र समन्वय कायम गर्नुहुन,’ पत्रमा भनिएको छ, ‘कुनै विशेष परिस्थितिवश कार्यालय छाड्नुपर्ने अवस्था सिर्जना भएमा सम्बन्धित निकायको पूर्वस्वीकृति लिई जिम्मेवारीको उचित व्यवस्था गर्नुहुन अनुरोध छ।’