लक्ष्मी सनराइज बैंकको ‘द गोल इज ग्रिन’ अभियान : रैथाने बिरुवा रोप्न सहकार्य



बिजमाण्डू
२०८३ साउन ४ गते १३:२० | Jul 20, 2026
लक्ष्मी सनराइज बैंकको ‘द गोल इज ग्रिन’ अभियान : रैथाने बिरुवा रोप्न सहकार्य


काठमाडौं। लक्ष्मी सनराइज बैंकले ‘द गोल इज ग्रिन’ अभियानका लागि डब्ल्यूडब्ल्यूएफ नेपाल र काम्दी सामुदायिक वन समन्वय समितिसँग सहकार्य गरेको छ।

Tata
GBIME

वातावरण संरक्षण र जलवायु परिवर्तनका चुनौतीसँग जुध्ने आफ्नो प्रतिबद्धतालाई थप सुदृढ बनाउँदै अभियानका लागि सहकार्य गरिएको बैंकले जनाएको छ।

बैंकले फिफा विश्वकप २०२६ मा भएका प्रत्येक गोल बराबर एक रैथाने बिरुवा रोप्ने प्रतिबद्धता गरेको थियो। विश्वकपभर भएका ३३३ गोल बराबर ३३३ वटा रैथाने बिरुवा रोपेर बैंकले आफ्नो प्रतिबद्धता पूरा गरेको जनाएको छ।

बैंकले विश्वकै लोकप्रिय फुटबल प्रतियोगिताको उत्साहलाई वातावरण संरक्षणसँग जोड्दै नेपालमा दीर्घकालीन सकारात्मक प्रभाव सिर्जना गर्ने उद्देश्यले अभियान संचालन जनाएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अजय शाहले दिगोपन बैंकको दीर्घकालीन रणनीतिक प्राथमिकता भएको बताउँदै खेलकुदप्रतिको उत्साहलाई जलवायु अभियानसँग जोड्ने उद्देश्यले यो पहल गरिएको उल्लेख गरे।

डब्ल्यूडब्ल्यूएफ नेपालका नेपाल प्रतिनिधि डा. घनश्याम गुरुङले वन पुनःस्थापना भनेको केवल रूख रोप्नु मात्र नभई सही स्थानमा सही रैथाने प्रजाति रोपेर स्थानीय समुदायसँग मिलेर त्यसको दीर्घकालीन संरक्षण गर्नु पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताए। यस्ता साझेदारीले निजी क्षेत्रको लगानीलाई समुदायमा आधारित संरक्षणसँग जोडेर प्रकृति र समुदाय दुवैका लागि दीर्घकालीन लाभ सिर्जना गर्ने उनले उल्लेख गरे।

काम्दी सामुदायिक वन समन्वय समितिका अध्यक्ष महेन्द्र शाहीले यस सहकार्यले जैविक मार्ग (कोरिडोर) पुनःस्थापनाको प्रयासलाई थप बल पुग्ने र स्थानीय समुदायले दीर्घकालीन लाभ प्राप्त गर्ने विश्वास व्यक्त गरे।

बैंकका अनुसार ‘द गोल इज ग्रिन’ अभियानले दिगोपनलाई वित्तीय सेवामा मात्र सीमित नराखी सामाजिक तथा वातावरणीय उत्तरदायित्वसँग जोड्ने सन्देश दिएको छ।