अन्तर्राष्ट्रिय उडानमा बढ्यो एनएसीको व्यापार, हिमालय एयरलाइन्सले गुमायो ३५ प्रतिशत यात्रु



प्रमिला भट्ट
२०८३ साउन ४ गते ०९:२६ | Jul 20, 2026
अन्तर्राष्ट्रिय उडानमा बढ्यो एनएसीको व्यापार, हिमालय एयरलाइन्सले गुमायो ३५ प्रतिशत यात्रु


काठमाडौं। नेपाल वायुसेवा निगम (एनएसी)ले आफ्नो व्यापार बढाएको छ। एनएसीले त्रिभुवन विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा यात्रु संख्या बढाएर आफ्नो आम्दानी वृद्धि गरेको हो।

Tata
GBIME

चालु आर्थिक वर्ष ६ महिनामा एनएसीले अन्तर्राष्ट्रिय उडानतर्फ ३ लाख ८ हजार ८६७ यात्रुलाई ओहोरदोहोर गराएको छ। यो संख्या पोहोर ६ महिनाको तुलनामा १७ हजार बढी हो। एनएसीले पोहोर ६ महिनामा २ लाख ९१ हजार ६४५ यात्रुलाई ओहोरदोहोर गराएको थियो।

यात्रु संख्याका आधारमा एनएसीको हिस्सा १२.१२ प्रतिशत हो।

त्यसो त यो वर्ष एनएसीको उडान संख्या पनि बढेको छ। एनएसीले पोहोर ६ महिनामा त्रिभुवन विमानस्थल हुँदै १ हजार ६३१ वटा उडान अवतरण गरेकामा यसपालि ६ महिनामा त्यो संख्या १ हजार ७२० पुगेको छ।

एनएसीले अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँ दिल्ली, मुम्बई, दुबई, दोहा, दमाम, क्वालालम्पुर, बैंकक, हङकङ लगायत विभिन्न ११ वटा गन्तव्यमा उडान गर्ने गरेको छ।

एनएसीकी प्रवक्ता अर्चना खड्काले चार वटै जहाजले नियमित उडान गरिरहेका कारण व्यापार बढेको बताइन्।

‘हाम्रा चार वटै जहाजले तालिका अनुसार नै उडान गरिरहेका छन्। त्यसैले उडान संख्या र यात्रुको संख्या बढेको हो। यात्रुको पहिलो रोजाइमा पर्नुको कारण हाम्रो भरपर्दो सेवा र प्रतिस्पर्धी दरको टिकट हो,’ उनले भनिन्।

त्रिभुवन विमानस्थल हुँदै यात्रा गर्नेको संख्या पोहोरको तुलनामा यसपालि एक लाख बढेको छ। सन् २०२५ मा जनवरीदेखि जुनसम्म अन्तर्राष्ट्रिय उडानका लागि २४ लाख ३१ हजार ५८३ यात्रुले त्रिभुवन विमानस्थल प्रयोग गरेकामा यो वर्ष सोही अवधिमा २५ लाख २० हजार ४४९ यात्रुले ओहोरदोहोर गरेका छन्।

यात्रु बढेका कारण उडान संख्या पनि बढेको छ। पोहोर ६ महिनामा १६ हजार ७२ उडान अवतरण भएकामा यसपालि ६ महिनामा त्यो संख्या १६ हजार ८१४ पुगेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको तथ्यांक छ।

स्रोत : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय

यात्रु धेरै बोक्नेमा एनएसीपछि एयर इन्डिया छ। वायुसेवा प्रदायक यो कम्पनीले ६ महिनामा २ लाख ७९ हजार ११६ यात्रुलाई गन्तव्यमा पुर्‍याएको छ।

यात्रु संख्या एनएसीको भन्दा कम भए पनि एयर इन्डियाले ६ महिनामा २०५२ उडान अवतरण गरेको छ। एयर इन्डियाले गत वर्ष ६ महिनामा १ हजार ६३४ उडान अवतरणबाट २ लाख ७० हजार ९८५ यात्रुलाई ओहोरदोहोर गराएको थियो।

व्यापार सबैभन्दा धेरै बढाउनेमा इन्डिगो एयर दोस्रोमा छ। यो कम्पनीले यात्रु संख्या ३७ हजार बढाएको छ।

यात्रु संख्याका आधारमा तेस्रो स्थानमा रहेको इन्डिगो एयरले यो वर्ष ६ महिनामा २ लाख ५३ हजार ७०५ जनालाई सेवा दिएको छ। यो संख्या पोहोर ६ महिनामा २ लाख १६ हजार २९७ थियो। कम्पनीले गत वर्ष ६ महिनामा १ हजार २६८ उडान अवतरण गरेकामा यस वर्ष त्यो संख्या १ हजार ६१८ पुगेको छ।

त्यस्तै, कतार एयरवेजले पनि व्यापार बढाएको छ। यो कम्पनीले पोहोर पहिलो ६ महिनामा ७२० वटा उडान अवतरणमार्फत १ लाख ९१ हजार ६४५ यात्रु बोकेकामा यसपालि त्यो संख्या २ लाख २९ हजार ३२४ पुगेको छ। कतार एयरवेजले यो वर्ष त्रिभुवन विमानस्थलमा ८५८ उडान अवतरण गरेको छ।

फ्लाई दुबईको व्यापार भने खस्किएको छ। पोहोर ६ महिनामा १ हजार २३० उडान अवरतण गर्दा १ लाख ७५ हजार ४६४ यात्रु बोकेको फ्लाई दुबईले यसपालि १ लाख ६० हजार ६४ यात्रुमा चित्त बुझाएको छ। यो वर्ष कम्पनीको उडान संख्या १ हजार ८६ मा झरेको छ।

हिमालय एयरलाइन्सको व्यापारमा ठूलो गिरावट देखिएको छ। कम्पनीको उडानमा यात्रुको संख्या ३६ प्रतिशतले घटेको हो।

हिमालय एयरलाइन्सले पोहोर पहिलो ६ महिनामा २ लाख ४० हजार ६१० यात्रुलाई गन्तव्यमा लगेकामा यो वर्ष त्यो संख्या १ लाख ५२ हजार ६३२ मा सीमित भएको छ।

गत वर्ष ६ महिनामा १ हजार ७४९ उडान अवतरण गरेको हिमालय एयरलाइन्सले यस वर्ष १ हजार २६८ वटा मात्र उडान गरेकाले यात्रु गुमाएको हो।

एयरलाइन्सका कर्मचारीले पश्चिम एसियाको द्वन्द्व र त्यही कारण हवाई इन्धनको मूल्य वृद्धिले उडान महँगो भएका कारण यात्रुको संख्यामा गिरावट बताए।

‘पश्चिम एसियाको द्वन्द्वको असरले गर्दा यात्रु घटेपछि हामीले नियमित उडान भइरहेका ठाउँमा उडान कटौती गरेका छौं। उडानमा अकुपेन्सी पनि कम छ,’ कम्पनीका ती कर्मचारीले भने, ‘एकातिर इन्धनका कारण हाम्रो लागत बढिरहेको छ। अर्कातिर यात्रु गुमाउनुपरेको छ। यसले गर्दा आम्दानीमा ठूलो असर परेको छ।’

यात्रु संख्याका आधारमा एयर अरेबिया सातौं स्थानमा छ। यो कम्पनीले ८३० उडानमार्फत ६ महिनामा १ लाख २२ हजार ५५३ यात्रु बोकेको छ। यो संख्या पोहोर ६ महिनाको तुलनामा केही कम हो।

कम्पनीले पोहोर ६ महिनामा १ लाख २७ हजार ४७३ यात्रुलाई गन्तव्यमा लगेको थियो। पोहोर कम्पनीले ८१८ उडान अवतरण गरेको थियो ।

नवौं स्थानमा रहेको थाई एयरवेजले यात्रु संख्या उल्लेख्य बढाएको छ। कम्पनीले पोहोर ६ महिनामा ६१ हजार १२५ यात्रुलाई ओहोरदोहोर गराएकामा यसपालि त्यो संख्या ९९ हजार १४७ पुगेको छ। उडान संख्या ६२६ बाट ७२४ पुर्‍याउँदा कम्पनी यात्रु संख्या ६२ प्रतिशतले बढाउन सफल भएको हो।