उद्योग सचिव राउत तीन महिनामै सरुवा, विश्वबाबु सतर्कता केन्द्रमा, अरु चारजना कहाँ?



बिजमाण्डू
२०८३ असार ३१ गते १३:४८ | Jul 15, 2026
उद्योग सचिव राउत तीन महिनामै सरुवा, विश्वबाबु सतर्कता केन्द्रमा, अरु चारजना कहाँ?
कृष्णबहादुर राउत


काठमाडौं। सरकारले ६ जना सचिवको सरुवा गरेको छ। मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले ६ जना सचिवको सरुवा गरेको हो।

Tata
GBIME
Nepal Life

मुख्यसचिव गाेविन्दबहादुर कार्कीले केही सचिवहरुको सरुवा भएको बताए। उनका अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई महिला, बालबालिका मन्त्रालयमा पुर्‍याइएको छ। राउत तीन महिनाअघि मात्र निर्वाचन आयोगबाट उद्योग मन्त्रालयमा आएका थिए।

महिला मन्त्रालयकी सचिव राधिका अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरी अतिरिक्त समूहमा राखिएको छ।

राउतको स्थानमा अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगका सचिव नारायणप्रसाद शर्मा दुवाडीलाई लगिएको छ। प्रधानमन्त्री कार्यालयमा अतिरिक्त समूहमा रहेका डिल्लीराम शर्मालाई अख्तियारमा सरुवा गरिएको छ। शर्मालाई जेठ तेस्रो साता प्रधानमन्त्री कार्यालय पुगेका थिए।

राष्ट्रिय सतर्कता केन्द्रका सचिव दीनानाथ मिश्रलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा सरुवा गरिएको छ। यो मन्त्रालय दुई सातादेखि सचिवविहीन थियो।

पूर्वाधार विकास मन्त्रालयमा दुई महिनादेखि खानेपानी हेर्ने गरी राखिएका विश्वबाबु पुडासैनीलाई राष्ट्रिय सतर्कता केन्द्रमा सरूवा गरिएकाे छ।