करार अवधि थप गर्न दबाब दिँदै कर्मचारीहरूले आज पनि जारी राखे विरोध प्रदर्शन

बिजमाण्डू
२०८३ असार ३१ गते १३:२७ | Jul 15, 2026
करार अवधि थप गर्न दबाब दिँदै कर्मचारीहरूले आज पनि जारी राखे विरोध प्रदर्शन


काठमाडौं। करारका कर्मचारीहरूले विरोध प्रदर्शनलाई बुधबार पनि जारी राखेका छन्। सरकारले करार थप नगर्ने भएपछि कर्मचारीहरू विरोधमा उत्रिएका हुन्।

Vigo
GBIME
Tata

विभिन्न मन्त्रालय मातहत करारमा कार्यरत कर्मचारीले मंगलबार अर्थ मन्त्रालय पुगेर प्रदर्शन सुरु गरेका थिए। त्यसलाई बुधबार पनि निरन्तरता दिइएको हो।

आफूहरूलाई हटाएर सरकारले आउटसोर्सिङमार्फत भर्ना गर्ने तयारी गरेको भन्दै करारका कर्मचारीले प्रदर्शन गरेका हुन्। सरकारले साउन १ देखि करार नथप्ने यसअघि नै बताइसकेको छ।

संघीय मामिला मन्त्रालयका अनुसार करार कर्मचारीको यकिन तथ्यांक छैन। मन्त्रालयका उपसचिव विवेक घिमिरेले सम्बन्धित कार्यालय र विभागले नियुक्ति गर्ने भएकाले तथ्यांक नहुने बताए।

संघ सरकार मातहत हाल ५१ हजार ९०० दरबन्दी रहेकामा ४१ हजार ५०० कार्यरत छन्। विभिन्न मन्त्रालयदेखि केन्द्रीय निकाय र मातहतका कार्यालय तथा सार्वजनिक संस्थानहरूमा करिब १४ हजार कर्मचारी करारमा कार्यरत रहेको सरकारको अनुमान छ।