मोरङ उद्योग व्यापार संघ अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्सको सदस्यमा मनोनीत



बिजमाण्डू
२०८३ असार ३१ गते १२:०० | Jul 15, 2026
मोरङ उद्योग व्यापार संघ अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्सको सदस्यमा मनोनीत


विराटनगर। मोरङ उद्योग व्यापार संघ विश्वमा निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था इन्टरनेसन चेम्बर अफ कमर्स (आइसीसी)को सदस्य भएको छ।

Tata
GBIME

विश्वका १०० भन्दा बढी मुलुकका उद्योग वाणिज्य संघ, व्यावसायिक संस्था तथा करोडौँ व्यावसायिक प्रतिष्ठानको प्रतिनिधित्व गर्ने आईसीसीले संघलाई सदस्यमा मनोनीत गरेको हो।

संघका अध्यक्ष अनुपम राठीले आइसीसीले संघलाई सदस्यमा मनोनीत गरेको जानकारी दिए। अध्यक्ष राठीले संघ आइसीसीमा सदस्य भएसँगै अन्तर्राष्ट्रिय व्यावसायिक एजेन्डा र संजालसँग प्रत्यक्ष जोडिएको बताए।

राठीले संघको यस उपलब्धिले नेपाली उद्योग तथा व्यवसाय क्षेत्रका लागि नयाँ अवसरको ढोका खुलेको र संघले अन्तर्राष्ट्रिय व्यापारिक क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको जिकिर गरे।

‘अब संघमार्फत् नेपाली उद्योगी-व्यवसायीले आइसीसीअन्तर्गत उपलब्ध हुने विश्वस्तरीय सेवा, सुविधा र अवसर उपयोग गर्न सक्नेछन्। आईसीसीले विश्वभरका निजी क्षेत्रका उद्योग व्यवसायको हित संरक्षण, अन्तर्राष्ट्रिय व्यापार सहजीकरण, व्यावसायिक क्षमता अभिवृद्धि, नीति निर्माण तथा व्यापारिक सहकार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ,’ उनले भने।

उनले आइसीसीको सदस्य बनेपछि संघले अन्तर्राष्ट्रिय व्यापार, भन्सार नीति, लगानी, बौद्धिक सम्पत्ति अधिकार, डिजिटल अर्थतन्त्र लगायतका विषयमा हुने विश्वस्तरीय छलफल तथा अन्तरक्रिया कार्यक्रममा नेपालको निजी क्षेत्रको आधिकारिक सहभागिता सुनिश्चित गर्ने जानकारी दिए।

उनका अनुसार अब संघमार्फत् अन्तर्राष्ट्रिय नीतिनिर्माण तथा पैरवी प्रक्रियामा नेपाली उद्योगी व्यवसायीका सुझाव र धारणा समावेश गराउन सहज हुनेछ। त्यस्तै, अस्थायी आयात-निर्यातलाई सहज बनाउने उद्देश्यले आइसीसीद्वारा संचालन हुँदै आएको एटीए कार्नेट प्रणालीसमेत नेपालका उद्योग व्यवसायीहरूले संघमार्फत् उपयोग गर्न सक्नेछन्।

अन्तर्राष्ट्रिय रूपमा स्वीकृत अस्थायी आयात/निर्यात प्रणालीलाई एटीए कार्नेट सिस्टम भनिन्छ। यस व्यवस्थाअन्तर्गत कुनै वस्तु भन्सार महसुल वा आयातकर नतिरी सीमित अवधिका लागि अर्को मुलुकमा लैजान र पुनः फर्काउन सकिन्छ।

सामान्यतया अन्तर्राष्ट्रिय प्रदर्शनी वा मेला तथा खेलकुद वा सांस्कृतिक कार्यक्रमका सामग्री लैजान एटीए कार्नेट सिस्टम अपनाइन्छ। यसबाहेक क्यामेराजस्ता उपकरण र नमुनाका लागि पठाइने सामान पनि यही सिस्टमअन्तर्गत ओसारपसार गरिन्छ।

व्यवसायीले एटीए कार्नेटको सुविधा प्राप्त गर्न आईसीसीको मापदण्डअनुसार आवश्यक प्रमाणपत्र, व्यावसायिक सिफारिस तथा अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी कागजात संघबाट प्राप्त गर्न सक्ने राठीले बताए।

उनले भने, ‘यसरी संघले अब आफ्ना सदस्य प्रतिष्ठानलाई विश्वका १०० भन्दा बढी देशका चेम्बर तथा व्यावसायिक संस्थासँग प्रत्यक्ष सम्पर्क स्थापित गराउनेछ।’