बालेनले उद्योगीलाई कार्यकक्षमा बोलाएर पारे आश्वस्त, ‘खस्किएको मनोबल ५०% बढ्यो’



बिजमाण्डू
२०८३ असार २४ गते १४:१७ | Jul 8, 2026
बालेनले उद्योगीलाई कार्यकक्षमा बोलाएर पारे आश्वस्त, ‘खस्किएको मनोबल ५०% बढ्यो’


काठमाडौं। करिब दुई तिहाइ बहुमतसहितको सरकार बनेका बेला निजी क्षेत्र उत्साहित हुनुपर्नेमा उल्टै त्रसित भएपछि प्रधानमन्त्री बालेन्द्र शाहले उद्योगी व्यवसायीलाई बोलाएर छलफल गरी मनोबल बढाउने प्रयास गरेका छन्।

Tata
GBIME
Nepal Life

प्रधानमन्त्री बालेनले निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरु नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई), नेपाल उद्योग परिसंघ (सीएनआई) र नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीलाई बोलाएर बुधबार करिब दुई घण्टा लामो अनौपचारिक छलफल गरी मनोबल बढाउने प्रयास गरेका हुन्।

बालेनको निम्तामा एफएनसीसीआईका तर्फबाट अध्यक्ष अन्जन श्रेष्ठ र उद्योग समितिका सभापति उज्ज्वलकुमार श्रेष्ठ, सीएनआईका तर्फबाट निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाल र महानिर्देशक डा. घनश्याम ओझा तथा चेम्बरका तर्फबाट अध्यक्ष कमलेशकुमार अग्रवाल र वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा प्रधानमन्त्री कार्यालय पुगेका थिए।

उद्योगी व्यवसायीलाई प्रधानमन्त्री बालेनले आफ्नै कार्यकक्षमा राखेर छलफल गरे। ‘बैठक कक्षमा बढी औपचारिक हुन्छ। त्यसैले कार्यकक्षमा नै बसेर अनौपचारिक कुरा गरौं,’ सुरुवातमै बालेनले भने, ‘सरकार निजी क्षेत्रसँग मिलेर आर्थिक विकास गर्नुपर्छ भन्नेमा स्पष्ट छ। त्यसैले तपाइँहरुले आफ्ना कुरा निर्धक्क भएर राख्नुहोला।’

बालेनले सुरुमै नहिच्किचाइकन समस्या राख्न भनेपछि उद्योगी व्यवसायीले अनुसन्धानका नाममा अन्धाधुन्ध पक्राउ गरिंदा निजी क्षेत्रको मनोबल खस्किएकोदेखि राष्ट्र बैंकको कसिलो नीतिले लगानी विस्तारमा बाधा परेको कुरा उठाए।

अन्तरक्रियात्मक शैलीमा भएको छलफलमा प्रधानमन्त्री बालेनले सरकार उद्योगी व्यवसायीलाई धरपकड गर्ने पक्षमा नरहेको प्रष्ट पारे। ‘प्रधानमन्त्रीज्यूले हामी कसैलाई थुन्ने पक्षमा छैनौं। निजी क्षेत्रलाई तर्साउने हाम्रो नियत छैन भन्नुभयो,’ छलफलमा सहभागी चेम्बरका वरिष्ठ उपाध्यक्ष मल्होत्राले बिजमाण्डूसँग भने, ‘उहाँले धरपकड हुँदैन भन्ने कुरा क्लियरली भन्नुभयो।’

प्रधानमन्त्री बालेनले मनोबल बढाउनका लागि उद्योगी व्यवसायीलाई सरकारले गर्नुपर्ने काम के-के हुन् भनेर प्रश्न गर्दै गोलमटोलरुपमा नभइ किटेर नै भन्न आग्रह गरे।

‘कुन ठाउँमा के गर्नु पर्ने हो त्यो स्पष्टसँग भन्नुहोला। प्राक्टिकली के गर्नुपर्ने हो? त्यो भन्नुहोस्। सरकारले गर्छ। सरकारले निजी क्षेत्रसँग मिलेर नै काम गर्ने हो,’ बालेनलाई उद्यृत गर्दै मल्होत्राले भने।

बालेनले निजी क्षेत्रका समस्या समाधानका लागि विज्ञसहितको समिति गठन गर्ने र निरन्तर छलफल गर्ने बताएका छन्। उनले त्यो समितिमा एफएनसीसीआई, सीएनआई र चेम्बरका प्रतिनिधिलाई पनि राख्ने आश्वासन दिए।

छलफलमा सीएनआईका निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवालले लगानीको वातावरण बनाउनका लागि जग्गाको हदबन्दी बढाउन प्रस्ताव गरे। अहिलेको हदबन्दीले उद्योग व्यवसाय गर्न समस्या रहेको भन्दै सरकारले फास्ट ट्र्याकबाट निर्णय गर्नुपर्ने बताए।

सीएनआईका महानिर्देशक ओझाले खुला अर्थ व्यवस्थामा सरकारले उद्योग चलाउने नभइ नियमन गर्ने भन्दै सार्वजनिक संस्थानहरु सार्वजिनक निजी साझेदारीमा चलाउने व्यवस्था गर्न आग्रह गरे। बालेनले यसमा आफू सकारात्मक रहेको जवाफ दिए।

उद्योगी व्यवसायीले आगामी आर्थिक वर्षको बजेटमा गरिएका व्यवस्था कार्यान्वयन गर्न पनि ध्यानाकर्षण गराए।

बालेनले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि आफूहरुसँग पहिलोपटक गरेको संवादबाट निजी क्षेत्र उत्साहित भएको छ। निजी क्षेत्रको खस्किएको मनोबल यो संवादले ५० प्रतिशत बढेको उद्योगी व्यवसायीले बताएका छन्।

‘प्रधानमन्त्रीज्यूले हामीले उठाएका हरेक विषयलाई सम्बोधन गर्नुभयो। अन्तर्क्रियात्मक छलफलमा उहाँले आधा घण्टाजति बोल्नुभयो। यो संवादबाट गाँठो फुकेको छ। यो संवादलाई हामीले ठूलो अचिभमेन्टका रुपमा लिएका छौं,’ मल्होत्राले भने, ‘प्रधानमन्त्रीज्यूसँग भएको छलफलले नै निजी क्षेत्रको मनोबल ५० प्रतिशत उकास्छ।’

छलफलमा प्रधानमन्त्री बालेनका प्रमुख सल्लाहकार कुमार बेन, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार लगायत पनि थिए।