काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको विकासमा सहयोग गर्न एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्डासँग आग्रह गरेका छन्।
उनले मंगलबार एडीबीका अध्यक्ष मासातो कान्डासँग सिंहदरबारमा भएको शिष्टाचार भेटवार्तामा डिजिटलाइजेसन र पर्यटकीय सडक पूर्वाधारमा सहयोग गर्न आग्रह गरेका हुन्। बालेनले आगामी आर्थिक वर्षको पर्यटकीय सडकलाई प्राथमिकतामा राखेका छन्।
चैत १३ गते प्रधानमन्त्री बनेयता पहिलो पटक विदेशी अधिकारीसँग ‘वान वन वान’ वार्ता गरेका बालेनले कान्डासामु सुशासन र पारदर्शिताका लागि कुनै सम्झौता नगर्ने बताए। बालेनले सुशासन र पारदर्शितामार्फत विकासको नयाँ फड्को मार्ने बताएको उनकी प्रेस विज्ञ दीपा दाहालले जानकारी दिइन्।
बालेन र कान्डाबीच नेपालको आर्थिक विकासका लागि जलविद्युत् र पर्यटनलाई अर्थतन्त्रको मेरुदण्डका रूपमा अघि बढाउने विषयमा छलफल भएको छ। बालेन र कान्डाबीच आधा घण्टा वार्ता भएको थियो।

एडीबीका अध्यक्ष कान्डाले नेपालमा विकासमा सहयोग अझ विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले नेपालको आर्थिक विकास र समृद्धिका लागि एडीबी दीर्घकालीन साझेदारका रूपमा निरन्तर क्रियाशील रहने बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
कान्डाले नेपालमा आर्थिक विकासको ठूलो सम्भावना रहेको भन्दै बलियो जनादेश प्राप्त युवा नेतृत्वको सरकारलाई एडीबीको साथ रहने बताएका थिए। उनले सुशासन र पारदर्शिताप्रति बालेनको प्रतिबद्धतालाई कान्डले प्रेरणादायी भनेका छन्।
बालेनसँग आर्थिक रुपान्तरण, रोजगारी सिर्जना र लगानी बढाउने विषयमा छलफल भएको एडीबीले जनाएको छ।
कान्डाले नेपाल अहिले एउटा निर्णायक मोडमा रहेको भन्दै थप गतिशील र उत्थानशील अर्थतन्त्र निर्माण गर्ने अवसर सदुपयोग गर्न आग्रह गरेका थिए।
‘हाम्रो ध्यान जनताका लागि प्रत्यक्ष परिणाम ल्याउनमा केन्द्रित रहेको छ। यसअन्तर्गत रोजगारी सिर्जना, व्यवसायलाई सबल बनाउने र नेपालभरिका समुदायका लागि उत्तम जीविकोपार्जन निर्माण गर्नु रहेको छ,’ कान्डाले भने।

नेपालको सबैभन्दा ठूलो बहुपक्षीय विकास साझेदारका रुपमा एडीबीले आफ्नो सहयोगलाई तीव्रता दिइरहेको जनाएको छ। सहयोग रकमलाई सन् २०२९ सम्ममा २.४ अर्ब अमेरिकी डलर पुर्याउने एडीबीको लक्ष्य छ।
कान्डा बालेनले ‘वान वन वान’ वार्ता गरेका पहिलो विदेशी अधिकारी हुन्। उनले यसअघि राजदूतहरुसँग सामूहिकरुपमा मात्र वार्ता गरेका थिए।
आइतबार राति नेपाल आएका नेपालको सबैभन्दा ठूलो बहुपक्षीय साझेदार एडीबीका अध्यक्ष कान्डाले त्रिभुवन विमानस्थलमा उत्रेलगत्तै सामाजिक सञ्जालमार्फत नयाँ सरकारसँग सिक्न र बुझ्न चाहेको बताएका थिए।
कान्डाको उपस्थितिमा एडीबी र नेपालबीच सोमबार २५ अर्ब ८ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको थियो।










