बाँदरलाई सडक वारपार गराउन नारायणगढ-बुटवल सडकखण्डमा बन्यो ‘क्यानोपी ब्रिज’



बिजमाण्डू
२०८३ असार २१ गते १६:३७ | Jul 5, 2026
बाँदरलाई सडक वारपार गराउन नारायणगढ-बुटवल सडकखण्डमा बन्यो ‘क्यानोपी ब्रिज’


काठमाडौं। जैविक विविधता संरक्षण तथा प्रवर्धन अन्तर्गत नेपालमा पहिलो पटक बाँदरलाई सुरक्षित रुपमा सडक वारपार गराउन सडकमाथि क्यानोपी ब्रिज निर्माण गरिएको छ।

Tata
GBIME
Nepal Life

सरकारले लामो समयपछि अन्तिम चरणमा पुर्‍याएको नारायणगढ-बुटवल सडकखण्डको पितौजी क्षेत्रमा सडकमाथि ओभरहेड क्यानोपी ब्रिज निर्माण गरिएको हो।

विशेषगरी बाँदर लगायतका वन्यजन्तु सडक पार गर्ने क्रममा हुने दुर्घटना न्यूनीकरण गर्नुका साथै उनीहरूको प्राकृतिक आवतजावतलाई सुरक्षित बनाउने उद्देश्यले उक्त संरचना निर्माण गरिएको हो।

सडक विस्तारपछि वन्यजन्तुको बासस्थान र आवागमनमा पर्ने असर कम गर्न यसलाई जैविक विविधता संरक्षणको महत्त्वपूर्ण पहलका रुपमा हेरिएको छ।

आयोजनाका अनुसार क्यानोपी ब्रिजको उपयोगिता, प्रभावकारिता तथा वन्यजन्तुले यसको प्रयोग गर्ने अवस्थाको अध्ययन र अनुगमन गरिनेछ। प्राप्त नतिजाका आधारमा भविष्यमा उपयुक्त अन्य स्थानहरू पहिचान गरी यस्ता थप क्यानोपी ब्रिज निर्माण गर्ने योजना रहेको आयोजनाले जनाएको छ।

यस प्रकारको संरचनाले वन्यजन्तु संरक्षणसँगै सडक सुरक्षामा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा आयोजनाको छ।