काठमाडौं। सरकारले आर्थिक वर्ष २०८३/८४ देखि आयात हुने सबै वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने व्यवस्था लागू गर्ने तयारी गरेसँगै स्वदेशी जुत्ता उद्योगी उत्साहित भएका छन्।
उद्योगीहरू एमआरपीको प्रभावकारी कार्यान्वयन, भन्सारमा कडाइ र तस्करी नियन्त्रणले आगामी दिनमा स्वदेशी जुत्ताको बजार विस्तार हुनेमा ढुक्क देखिएका छन्।
चालु आर्थिक वर्ष सकिनै लाग्दा आयातकर्ता तथा व्यापारीहरू एमआरपी कार्यान्वयनका लागि पूर्ण रूपमा तयार नभए पनि स्वदेशी उद्योग भने यसलाई आफ्नो बजार विस्तार गर्ने अवसरका रूपमा हेरिरहेका छन्।
उद्योगीहरूका अनुसार एमआरपी, भन्सार दरबन्दी र अन्य नियामकीय व्यवस्थाका कारण चीन, भारत र तेस्रो मुलुकबाट जुत्ता-चप्पल आयात गर्न पहिलेजस्तो सहज हुने छैन। यसले स्वदेशी उत्पादनलाई प्रतिस्पर्धामा थप बल पुग्ने उनीहरूको अपेक्षा छ।
फुटवेयर म्यानुफ्याक्चर एसोसिएसनका अध्यक्ष सुरज बन्जाडेका अनुसार नेपालमा वार्षिक करिब १० करोड जोर जुत्ता-चप्पलको खपत हुने गरेको छ। त्यसमध्ये करिब ७ करोड जोर स्वदेशी उद्योगले उत्पादन गर्छन् भने बाँकी ३ करोड जोरभन्दा बढी आयात हुने गरेको छ। यसबाहेक तस्करीमार्फत पनि ठूलो परिमाणमा जुत्ता-चप्पल नेपाल भित्रिने गरेको उद्योगीहरूको दाबी छ।
उनका अनुसार भन्सारमै एमआरपी अनिवार्य गरिएपछि तस्करी भएर आउने जुत्ता-चप्पलमा कमी आउने र त्यसको प्रत्यक्ष लाभ स्वदेशी उद्योगले पाउनेछ।
‘एमआरपी पूर्ण रूपमा लागू भयो भने नेपाली उद्योगका लागि यो ठूलो अवसर हुनेछ,’ उनले भने, ‘हामीले वर्षौंदेखि उठाउँदै आएको माग अहिले कार्यान्वयनको चरणमा पुगेको छ।’
बन्जाडेका अनुसार नेपालबाट जुत्ता निर्यात गर्दा उत्पादनको विवरण, कम्पनी, लेबल र अन्य जानकारी अनिवार्य हुन्छ। तर, आयात हुने धेरै जुत्ता-चप्पलमा कुन देशबाट आएको हो, उत्पादक कम्पनी, आपूर्तिकर्ता वा खुद्रा मूल्य स्पष्ट नै हुँदैन। यसले गुणस्तर र मूल्यमा अस्वस्थ प्रतिस्पर्धा बढाएको उनको भनाइ छ।
‘सबै व्यवसायीले स्वदेशी उत्पादन मात्र बिक्री गर्नुपर्छ भन्ने होइन,’ उनले भने, ‘ब्रान्डेड जुत्ता आयात गर्नेले पनि एमआरपीसहित ल्याउन सक्छन्। तर, अहिले नेपालमै राम्रो गुणस्तरका जुत्ता उत्पादन भइरहेका छन्। त्यसैले आयात गर्नैपर्ने बाध्यता अब धेरै छैन।’

उद्योगीहरुका अनुसार एमआरपी नभएका सामानका कारण तस्करी बढेर त्यसले स्वदेशी उद्योगलाई ठूलो क्षति पुर्याएको छ। एमआरपी प्रभावकारी रूपमा लागू भएमा तस्करी केही हदसम्म नियन्त्रण भइ स्वदेशी उत्पादनको बजार विस्तार हुनेमा उद्योगी विश्वस्त छन्।
सरकारले यस वर्षको बजेटमार्फत उद्योगका लागि आयात हुने कच्चा पदार्थमा केही सहुलियत दिने घोषणा गरेको छ। यसले उद्योगीहरूको मनोबल बढेको छ।
‘एमआरपी पूर्णरूपमा कार्यान्वयन भए एक वर्षभित्र स्वदेशी जुत्ता उद्योगको बिक्री २० देखि २५ प्रतिशतसम्म बढ्न सक्छ,’ बन्जाडेले भने।
उनले उद्योग विस्तारका लागि तत्काल नयाँ पूर्वाधार निर्माण गर्नुपर्ने अवस्था नभए पनि दक्ष जनशक्तिको अभाव चुनौतीका रूपमा रहेको बताए। पछिल्लो समय उद्योगमै उत्पादन क्षमता पर्याप्त रहेकाले माग बढे तत्काल आपूर्ति गर्न सकिने उनको भनाइ छ।

बन्जाडेका अनुसार पछिल्ला महिनाहरूमा स्वदेशी उत्पादनप्रति उपभोक्ताको धारणा पनि परिवर्तन हुँदै गएको छ। प्रधानमन्त्री वालेन शाहले सार्वजनिक कार्यक्रममा स्वदेशी ब्रान्ड गोल्डस्टारका जुत्ता प्रयोग गरेपछि स्वदेशी उत्पादनप्रति सकारात्मक सन्देश गएको उनको भनाइ छ।
‘उपभोक्ताले स्वदेशी उत्पादन पनि गुणस्तरीय हुन्छ भन्ने विश्वास गर्न थालेका छन्। अहिले बजारमा परिमाणभन्दा गुणस्तरलाई बढी प्राथमिकता दिन थालिएको छ,’ उनले भने।
रन सुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानेले पनि एमआरपी कार्यान्वयनले स्वदेशी उद्योगलाई प्रत्यक्ष फाइदा पुग्ने बताए। उनका अनुसार अहिले उद्योगमा माग उल्लेख्य रूपमा बढिसकेको छैन।
तर, सरकारले साउन १ गतेदेखि आयातित जुत्ता-चप्पलमा एमआरपी अनिवार्य गरेपछि विशेषगरी चाडपर्वको मौसममा स्वदेशी उत्पादनको बिक्री उल्लेख्य रूपमा बढ्ने उद्योगीहरुको विश्वास छ।
‘अहिले अफ सिजन भए पनि बजारमा अपेक्षाभन्दा राम्रो कारोबार भइरहेको छ,’ न्यौपानेले भने, ‘अब चाडपर्व सुरु भएपछि माग अझै बढ्नेछ। उद्योगहरू बजारको मागअनुसार गुणस्तर र विविधतामा केन्द्रित छन्। माग बढे पनि उत्पादन बढाएर आपूर्ति गर्न सक्ने क्षमता उद्योगसँग छ।’
उनका अनुसार एमआरपीका कारण आयात प्रक्रियामा झन्झट बढेपछि केही व्यवसायीले स्वदेशी उत्पादन नै बिक्री गर्न सक्ने सम्भावना छ। उपभोक्ताको रोजाइ पनि पहिलेभन्दा गुणस्तरीय उत्पादनतर्फ केन्द्रित भएकाले उद्योगहरूले बजारको ट्रेन्डअनुसार नयाँ डिजाइन र गुणस्तरमा लगानी बढाइरहेका छन्।
‘बजारमा आन्तरिक प्रतिस्पर्धा धेरै भएकाले एमआरपी लागू हुँदैमा जुत्ता-चप्पलको मूल्य बढ्दैन,’ उनले दाबी गरे।
यद्यपि, सबै व्यवसायी भने यस व्यवस्थाप्रति उत्साहित छैनन्। न्युरोडका एक जुत्ता व्यवसायीले एमआरपीका कारण आयातित तथा स्वदेशी दुवै प्रकारका जुत्ता बिक्री गर्न कठिन हुने बताए।
उनका अनुसार आयातित सामानमा लागत बढ्नेछ भने स्वदेशी उत्पादन उद्योगका आधिकारिक डिलरमार्फत खरिद गर्नुपर्ने भएकाले खुद्रा व्यवसायीको नाफा घट्ने अवस्था आउनेछ।
‘थोक व्यवसायीले पनि डिलरमार्फत नै सामान लिनुपर्छ। यसले लागत बढाउँछ र व्यापारमा असर पर्न सक्छ,’ उनले भने, ‘अहिले धेरै आयातकर्ता अन्योलमा छन्।’

उनका अनुसार साना व्यवसायीले स्वदेशी उत्पादन बिक्री गरेर व्यापार चलाउन सक्ने भए पनि विदेशी ब्रान्ड र विशेष गुणस्तर खोज्ने ग्राहकका लागि आयातित सामान आवश्यक पर्नेछ।
‘लागत बढे पनि त्यस्ता सामान आयात गर्नुपर्ने बाध्यता रहनेछ,’ उनले बताए।
फुटवेयर म्यानुफ्याक्चर एसोसिएसनका अनुसार नेपालमा हाल ठूला तथा मझौला गरी २५० भन्दा बढी फुटवेयर उद्योग संचालनमा छन् भने करिब १ हजार ४ सय साना तथा घरेलु उद्योगले पनि जुत्ता-चप्पल उत्पादन गरिरहेका छन्। पछिल्ला वर्षहरूमा काठमाडौं उपत्यकाबाहिरका जिल्लामा समेत नयाँ जुत्ता उद्योग स्थापना हुने क्रम बढ्दै गएको एसोसिएसनले जनाएको छ।











