काठमाडौं। नेपाली कांग्रेसमा लिगेसी बोकेका तीन नेता प्रकाशमान सिंह, विमलेन्द्र निधि र डा शशांक कोइरालाले अहिलेको अवस्थामा देशभरका नेता तथा कार्यकर्ता एक हुनुपर्ने अवस्था आएको बताएका छन्।
निधिको निवास नयाँ बानेश्वरमा बिहीबारको छलफलमा तीन नेताले संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउन भए पनि पार्टीका नेता तथा कार्यकर्ता एक हुनुपर्ने निष्कर्ष निकालेका हुन्।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवन महाधिवेशनमा प्रदेश सभा खारेजी, राष्ट्रिय सभालाई निर्दलीय बनाउने जस्ता विषयले प्रवेश पाएकोले यसप्रति सचेत बन्न तीन नेताले अपिल गरेका छन्।
‘संसदीय प्रणालीलाई समाप्त पार्ने कुरा कांग्रेस र देशलाई नै चिन्ताको विषय हो,’ छलफलपछि नेता निधिले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा एकपटक फेरि सचेत र संगठित हुन देशभरका कांग्रेस कार्यकर्तालाई ध्यानाकर्षण गराउने निष्कर्ष निकालेका छौं।’
निधिले असोज १६ देखि तोकिएको कांग्रेसको १५औं महाधिवेशन एकताको महाधिवेशन हुनुपर्ने र यसका लागि सभापति गगन थापाले लचकता अपनाउनुपर्ने बताए।
उनले १५औं महाधिवेशनका लागि संस्थापनइतरले काठमाडौंको चुनदेवीमा सम्पर्क कार्यालय खोल्नेसमेत बताए। ‘चुनदेवीमा १५औं महाधिवेशनका लागि सम्पर्क कार्यालय खोल्ने तयारी छ। अब अर्को हप्ताबाट सञ्चालनमा ल्याउने गरी भोलि तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवासमा भेला बस्दैछ,’ निधिले भने।










