पत्रकार खेम भण्डारी पक्राउ, गाली बेइज्जती मुद्दाको फैसला कार्यान्वयनलाई उपस्थित गराइँदै



बिजमाण्डू
२०८३ असार १८ गते १०:११ | Jul 2, 2026
पत्रकार खेम भण्डारी पक्राउ, गाली बेइज्जती मुद्दाको फैसला कार्यान्वयनलाई उपस्थित गराइँदै

काठमाडौं। पत्रकार खेम भण्डारी पक्राउ परेका छन्। निर्मला पन्त मुद्दामा विभिन्न मानिसको चरित्र हत्यादेखि घटनाको अनुसन्धानलाई ‘ट्विष्ट एन्ड टर्न’ गराउने आरोप लागेका कञ्चनपुरका पत्रकार भण्डारीलाई प्रहरीले बिहीबार बिहान भीमदत्त-१८ पुष्पलाल चाोकबाट पक्राउ गरेको हो।

Tata
GBIME
Nepal Life

गाली बेइज्जती सम्बन्धी कसूरमा जिल्ला अदालत कञ्चनपुर र उच्च अदालत दिपायल महेन्द्रनगर इजलासबाट भएको फैसला कार्यान्वयनका लागि भण्डारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला अदालतबाट उनलाई १ महिना कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला भएको थियो भने उच्च अदालतले थप ७ दिन कैद र थप २ हजार १ सय रुपैयाँ जरिवानाको फैसला गरेको थियो।

उनीविरुद्धको मुद्दाका निवेदक किरण विष्टलाई एक लाख रुपैयाँ क्षतिपूर्ति समेत दिनुपर्ने फैसला अदालतबाट भएको प्रहरीले जनाएको छ। भण्डारीलाई फैसला कार्यान्वयनका लागि कञ्चनपुर जिल्ला अदालतमा उपस्थित गराइने भएको छ।

यसअघि पनि जिल्ला अदालत कञ्चनपुरले भण्डारीलाई  ‘तुच्छ सजाय’ अन्तर्गत कारागार पठाएको थियो। अदालतमा उपस्थित भएका पत्रकार भण्डारीलाई एक रुपैयाँ जरिवानासहित एक घण्टा कारागार पठाएको हो। पत्रकार भण्डारी ३ बजेर ५५ मिनेटदेखि ४ बजेर ५५ मिनेटसम्म कारागारमा बसेका थिए।

उनी ‘मानस खण्ड दैनिक’ पत्रिकाका सम्पादक हुन्।