काठमाडौं । पछिल्लो समय क्रेडिट कार्ड प्रयोगकर्तामा ‘डिफल्ट’ बढ्दै जाँदा कालोसूचीमा पर्ने ऋणीको संख्या पनि बढ्न थालेको छ। समयमै बक्यौता भुक्तानी नगर्दा क्रेडिट कार्ड प्रयोगकर्ता कालोसूचीमा पर्ने क्रम बढ्न थालेको हो।
क्रेडिट कार्ड प्रयोगकर्ताले खल्तीमा पैसा नभए पनि खर्च गर्न मिल्ने र इएमआईमार्फत किस्ताबन्दी मार्फत विभिन्न प्रयोजनमा खर्च गर्न पाउने सुविधा हो।
यस्तो सुविधा प्रयोग गरिसकेपछि निश्चित समयभित्र भुक्तानी गर्नुपर्छ। सुविधा प्रयोग गरिसकेपछि समयमै भुक्तानी नगर्दा क्रेडिट कार्ड प्रयोगकर्ता कालोसूचीमा पर्ने जोखिम बढ्नु साथै बैंकिङ प्रणालीमा खराब कर्जा पनि ह्वात्तै बढेको छ।
राष्ट्र बैंकको तथ्यांकअनुसार हाल देशभर करिब ३ लाख २० हजारले क्रेडिट कार्ड प्रयोग गरिरहेका छन्। बैंकिङ प्रणालीमा क्रेडिट कार्डमार्फत प्रवाह भएको कर्जा ७ अर्ब ७३ करोड ४८ लाख रुपैयाँ पुगेको छ।
चालु आर्थिक वर्षको ९ महिनामा मात्रै १ अर्ब ५१ करोड रुपैयाँ थप कर्जा प्रवाह भएको देखिन्छ। तर, क्रेडिट कार्ड क्षेत्रमा खराब कर्जा (एनपीएल) दर १८ प्रतिशतसम्म पुगेको छ।
बैंकिङ क्षेत्रमा सामान्यतया ५ प्रतिशतभन्दा कम खराब कर्जालाई सन्तोषजनक मानिने भए पनि क्रेडिट कार्डतर्फको एनपीएल अत्यधिक उच्च देखिएको हो। यसले कर्जा असुली प्रणालीमा गम्भीर दबाब बढेको संकेत गरेको बैंकरहरू बताउँछन्।
ग्लोबल आइएमई बैंकका डेपुटी सीइओ सुमन पोखरेल क्रेडिट कार्ड लोनमा समस्या बढिरहेको बताउँछन्।
‘क्रेडिट कार्ड लोन सचेत वर्गका मानिसहरूले उपयोग गर्ने भनिए पनि यस्तो लोन उच्च दरले बिग्रिरहेको छ,’ उनले भने,’हाम्रो मार्केट अझै म्याच्योर हुन नसकेको हो की भन्ने यसले देखाउँछ।’
बैंकहरूले क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहक आकर्षित गर्न होटल, एयरलाइन्स, अनलाइन सपिङ तथा विभिन्न व्यापारिक केन्द्रमा क्यासब्याक, रिवार्ड प्वाइन्ट र छुटजस्ता सुविधा दिँदै आएका छन्।
नियमित आम्दानी भएका कर्मचारी, व्यवसायी तथा पेसाकर्मीलाई आयस्रोत र बैंक कारोबारका आधारमा सजिलै कार्ड उपलब्ध गराइने गरिएका छन्। तर, क्रेडिट कार्डलाई ‘अतिरिक्त आम्दानी’ जस्तै ठानेर जथाभावी खर्च गर्ने प्रवृत्ति बढ्दा समस्या देखिन थालेको छ।
क्रेडिट कार्ड प्रयोगकर्ताले सुविधा प्रयोग गरी निश्चित अवधिभित्र भुक्तानी नगर्दा कालोसूचीमा पर्ने संख्या बढिरहेको बताए।सचेतनाको कमीले पनि क्रेडिट कार्ड डिफल्ट रेट बढेको उनको भनाई छ।
‘हामीकहाँ अझै क्रेडिट कार्ड कल्चर बसिसकेको छैन्। अझै मानिसहरू भिजा कार्डमा अभ्यस्त छन्,’ उनले भने,’ क्रेडिट कार्डमा अभ्यस्तता बढाउनुका साथै सचेतना कमीले यस्तो समस्या बढेको हो।’
क्रेडिट कार्डको कल्चर नहुँदा देखिएको समस्याको लागि यस्तो सचेतनासँगै यस्तो कल्चर बढाउनु पर्ने उनले बताए।
क्रेडिट कार्डको रकम समयमै भुक्तानी नगर्दा कर्जा सूचना केन्द्र (सिआइसी)को कालोसूचीमा परिन्छ। कालोसूचीमा परेपछि नयाँ कर्जा लिन, चेक साट्न, बैंक ग्यारेन्टी लिन तथा नयाँ क्रेडिट कार्ड प्रयोग गर्न रोक लाग्छ। साथै, क्रेडिट स्कोर नकारात्मक हुन्छ।
भविष्यमा बैंकहरूबाट ऋण नपाइने जोखिम हुँदा पनि ऋणीहरूले बक्यौता भुक्तानी नगर्दा बैंकिङ सेक्टरमा चुनौती थपिएको छ। यसले व्यक्तिको आर्थिक तथा व्यावसायिक गतिविधिमा समेत प्रत्यक्ष असर पार्छ।
क्रेडिट कार्ड आफैँमा खराब साधन नभए पनि यसको प्रयोगमा वित्तीय अनुशासन आवश्यक हुन्छ। उपभोक्तालाई समयमै भुक्तानीको महत्त्व र कालोसूचीमा पर्दा हुने असरबारे पर्याप्त जानकारी नदिइए आगामी दिनमा यो समस्या अझ बढ्न सक्ने देखिन्छ।
हालसम्म कूल १ लाख ५७ हजार ८८७ ऋणी कालोसूचीमा परेका छन्। चालु आर्थिक वर्षको ९ महिनामा मात्रै ४१ हजार ऋणी कालोसूचीमा परेका छन्। सोही अवधिमा १३ हजार ८७ ऋणी भने कालोसूचीबाट हटेका छन्। कर्जा सूचना केन्द्रमा ऋण तिर्न नसकेर र चेक बाउन्समा कालोसूचीमा पर्ने गरेका छन्।











