महाराजगञ्जमा डिपलको नयाँ सोरुम संचालनमा, पहिलो दिनमै २० वटा इभी डेलिभरी



बिजमाण्डू
२०८३ असार १४ गते १४:०६ | Jun 28, 2026
महाराजगञ्जमा डिपलको नयाँ सोरुम संचालनमा, पहिलो दिनमै २० वटा इभी डेलिभरी

काठमाडौं। डिपलले काठमाडौंमा आफ्नो बजार विस्तारलाई थप गति दिएको छ। नेपालका लागि डिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले महाराजगञ्जमा अत्याधुनिक ‘स्टेट अफ द आर्ट’ शोरुम संचालनमा ल्याएको हो।

Tata
GBIME
Nepal Life

नयाँ शोरुमसँगै कम्पनीले राजधानीमा आफ्नो उपस्थिति अझ मजबुत बनाएको जनाएको छ।

एमएडब्लु वृद्धिले एपोलो मोटर्सलाई डिपलको नयाँ आधिकारिक डिलर नियुक्त गरेको छ। कम्पनीका अनुसार यसले काठमाडौंका ग्राहकलाई विश्वस्तरीय विद्युतीय सवारी र बिक्रीपछिको सेवा अझ सहज रूपमा उपलब्ध गराउनेछ।

नयाँ शोरुमको उद्घाटन डिपलका ब्रान्ड एम्बेसेडर पारस खड्का, एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवाल, नेपाल रिपब्लिक मिडियाका संस्थापक विनोदराज ज्ञवाली तथा एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले संयुक्त रूपमा गरेका थिए।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष विष्णु अग्रवालले नेपालमा विद्युतीय सवारीको बजार तीव्र रूपमा विस्तार भइरहेको बताए। उनले डिपल यो परिवर्तनको अग्रपंक्तिमा रहेको उल्लेख गर्दै यसलाई दीर्घकालीन र विश्वासिलो ब्रान्डका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले ग्राहकको बढ्दो मागलाई ध्यानमा राख्दै देशका विभिन्न सहरमा शोरुम र सर्भिस सेन्टर विस्तार गर्ने योजना पनि सार्वजनिक गरे। यसबाट डिपलका ग्राहकले अझ सहज र गुणस्तरीय सेवा पाउने विश्वास व्यक्त गरे।

कार्यक्रमको अर्को आकर्षण अत्याधुनिक ह्युमनोइड रोबोट र रोबोट डगको प्रदर्शनी थियो। एआई र स्वचालन प्रविधिमा आधारित यी प्रदर्शनले सहभागीलाई आधुनिक प्रविधिको प्रत्यक्ष अनुभव गराएका थिए। यसले डिपल र यसको मातृ कम्पनी चांगानको प्रविधिमैत्री सोचलाई पनि उजागर गरेको थियो।

एपोलो मोटर्सका निर्देशक सुयाश ज्ञवालीले डिपलको काठमाडौंका लागि आधिकारिक डिलर बन्न पाउँदा खुसी लागेको बताए। उनका अनुसार नयाँ शोरुम केवल गाडी बिक्री गर्ने केन्द्र मात्र नभई डिपलका आधुनिक विद्युतीय सवारीको प्रत्यक्ष अनुभव गर्ने गन्तव्य पनि हो।

नयाँ शोरुम उद्घाटनकै दिन कम्पनीले २० जना ग्राहकलाई डिपल इभी हस्तान्तरण गरेको छ। ब्रान्ड एम्बेसेडर पारस खड्का, अध्यक्ष विष्णु अग्रवाल र नेपाल रिपब्लिक मिडियाका संस्थापक विनोदराज ज्ञवालीले संयुक्त रूपमा ग्राहकलाई गाडीको चाबी हस्तान्तरण गरेका थिए।

एमएडब्लु वृद्धिका अनुसार नयाँ शोरुम संचालनमा आएपछि काठमाडौं उपत्यकाका ग्राहकले डिपलका नवीनतम इभी मोडल, टेस्ट ड्राइभ, बिक्रीपछिको सेवा तथा आवश्यक परामर्श एकै स्थानबाट प्राप्त गर्न सक्नेछन्।