दुई महिनापछि भारतमा नेपाली चिया निकासीको अवरोध हट्यो, आउन थाल्यो अर्डर



अनन्तराज न्यौपाने
२०८३ असार १४ गते १२:३८ | Jun 28, 2026
दुई महिनापछि भारतमा नेपाली चिया निकासीको अवरोध हट्यो, आउन थाल्यो अर्डर

विराटनगर। नेपाली चिया निर्यातमा गत वैशाख १८ देखि देखिएको भारतको अवरोध नीतिगत रूपमा हटेको छ।

Tata
GBIME
Nepal Life

भारतको खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई)ले अब नेपालबाट आयात हुने चियामध्ये २० प्रतिशत नमुनाको मात्रै परीक्षण गर्ने व्यवस्था लागू गरेको छ। यससँगै लामो समयदेखि रोकिएको चिया निर्यात सहज हुने अपेक्षा गरिएको छ।

शनिबार नेपाल र आइतबार भारततर्फको भन्सार कार्यालय बन्द हुने भएकाले नयाँ व्यवस्था व्यवहारमा लागू भएको पुष्टि सोमबारपछि मात्र हुनेछ। तर, एफएसएसएआईको सूचनापछि भारतीय आयातकर्ताले नेपाली चिया खरिदका लागि फेरि सम्झौता गर्न थालेका छन्।

नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताका अनुसार भारतबाट चियाको अर्डर आउन सुरु भइसकेको छ। अब गैरभन्सार अवरोध व्यवहारमा हट्छ कि हट्दैन भन्ने अवस्था सोमबारदेखि स्पष्ट हुनेछ।

यसअघि वैशाख १८ देखि नेपालबाट जाने हरेक ट्रकको चियाको नमुना परीक्षण अनिवार्य गरिएको थियो। परीक्षणको रिपोर्ट कोलकाताबाट आउन कम्तीमा १५ दिन लाग्थ्यो।

यदि रिपोर्ट प्रतिकूल आए सम्पूर्ण चिया नष्ट गरिन्थ्यो। यही कारण भारतीय व्यवसायीले नेपाली चिया आयात गर्न छाडेका थिए।

‘एफएसएसएआईको पत्र हेर्दा अब त्यस्तो अवस्था आउनेछैन। हामीले नेपालमै चिया राखेर परीक्षणका लागि भारत पठाउन सक्नेछौँ जबकि वैशाख १८ यता भारतको पानीटंकी भन्सारमा ट्रक खडा गरेर पठाउनु पर्थ्यो। अब एउटा ट्रकमा भएको चियाको नमुना स्वीकृत भयो भने त्यही आधारमा ५ ट्रक बिना परीक्षण निर्यात हुनसक्नेछ,’ वरिष्ठ उपाध्यक्ष गुप्ताले भने।

उनका अनुसार वैशाख १८ अघि ५ प्रतिशत चियाको मात्र गुणस्तर परीक्षण गरिन्थ्यो। त्यसबेला एउटा ट्रकको नमुना स्वीकृत भएपछि थप २० ट्रक चिया परीक्षणबिनै निर्यात गर्न मिल्थ्यो।

एफएसएसएआईले हार्मोनाइज्ड कोड ०९०२ अन्तर्गत निर्यात हुने चियामा नयाँ व्यवस्था लागू गरेको हो। यसबाट अब अर्थोडक्स र सीटीसी दुवै प्रकारका चिया भारत निर्यात गर्न सकिनेछ।

एफएसएसएआईका अनुसार यो निर्णय १६ जुन २०२६ मा वाणिज्य सचिवको अध्यक्षतामा बसेको बैठकले गरेको हो।

‘एफएसएसएआईले घरेलु उपभोगका लागि आयात गरिने चियाको जोखिममा आधारित परीक्षण गर्नेछ। यसका लागि सुरुमा २० प्रतिशत नमुनालाई परीक्षणका लागि छनौट गरिनेछ। यो संशोधित २० प्रतिशत छनोटदर तत्काल लागू हुनेछ,’ एफएसएसइआईले भनेको छ।

सूचनामा २० प्रतिशत नमुना छनोटको व्यवस्था कार्यान्वयनमा आएको जानकारी एफएसएसएआईलाई पठाउन पनि भनिएको छ। साथै, यसअघिका चियासम्बन्धी सबै परिपत्र यही सूचनाले प्रतिस्थापन गरेको जनाएको छ।

यो व्यवस्था भारतका सबै सीमा नाकामा लागू हुनेछ। एफएसएसएआईको पछिल्लो निर्णयअनुसार अब भारतमा पुनः निर्यात गर्ने उद्देश्यले आयात गरिने चियाको हरेक ट्रकबाट नमुना परीक्षण गर्नुपर्नेछ।

भारतीय व्यवसायीले नेपालबाट खुला रूपमा चिया आयात गरी रिप्याकिङ र ब्रान्डिङपछि तेस्रो मुलुकमा निर्यात गर्दै आएका छन्। तर, भारतकै घरेलु उपभोगका लागि आयात गरिने चियामा भने २० प्रतिशत नमुना परीक्षण गरे पुग्नेछ।