विद्युत मर्मतमा नयाँ प्रयोगको थालनी, अब लाइन चालु रहेकै अवस्थामा मर्मत सम्भार कार्य हुने



बिजमाण्डू
२०८३ असार १३ गते २१:१९ | Jun 27, 2026
विद्युत मर्मतमा नयाँ प्रयोगको थालनी, अब लाइन चालु रहेकै अवस्थामा मर्मत सम्भार कार्य हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले चालु लाइनमा नै मर्मत सम्भार गर्ने कार्यको थालनी गरेको छ। प्राधिकरणले लुम्बिनी प्रादेशिक कार्यालयबाट यस्तो कार्यको थालनी गरेको हो।

Tata
GBIME
Nepal Life

नेपाल विद्युत प्राधिकरण कायम मुकायम कार्यकारी निर्देशक दीर्घायू कुमार श्रेष्ठको उपस्थितिमा लुम्बिनी प्रादेशिक कार्यालयबाट सो कार्यको थालनी भएको प्राधिकरणले जनाएको छ।

‘उपभोक्ताहरूलाई बिना अवरोध गुणस्तरीय तथा निरन्तर विद्युत उपलब्ध गराउने उद्देश्यका साथ नेपालमै पहिलो पटक चालु अवस्थाको विद्युत लाइन अत्याधुनिक मर्मत उपकरणको प्रयोग गरि मर्मत सम्भार कार्यको सुरुवात गरेका हौं,’ लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख मनोज कुमार यादवले भने, ‘विद्युत आपूर्तिलाई थप भरपर्दो र गुणस्तरीय बनाउने उदेश्यले चालु लाइनमै मर्मत–सम्भार गर्ने कार्यलाई आगामी दिनहरुमा पनि निरन्तरता दिने उद्देश्यले यो नमुना कार्यको रुपमा सुरुवात गरेका हौं।’ 

नमुना कार्यका रुपमा बुटवल उपमहानगरपालिका–११, कालीकानगरमा रहेको ११ केभी लाइनको मर्मत गरी कार्य प्रारम्भ गरिएको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक नवराज ओझाले जानकारी दिए।

नमुनाको रुपमा सुरुवात गरिएको यो कार्यलाई प्रभावकारिता र आवश्यकताको आधारमा सहरी क्षेत्रको नियमित मर्मत सम्भारको कार्यमा प्रयोग गर्ने कायमुकायम कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिए।

अत्याधुनिक मर्मत उपकरणको प्रयोगले विद्युत् मर्मतमा अनिवार्य लाइन कटौतीको अभ्यास हट्ने र उपभोक्ताहरुले नियमित सुविधा प्राप्त गर्ने प्राधिकरणको अपेक्षा छ।