काठमाडौं। फिफा विश्वकपको समूह चरणका अब अन्तिम केही खेलमात्र बाँकी छन्। फिफा विश्वकप अघि नै चासो दिइरहेका ट्रम्प विश्वकपका कुनै खेलमा उपस्थित छैनन्। यसलाई लिएर निकै अडकलबाजी पनि सुरु भएका छन्। यसको मुख्य कारण त अमेरका नै विश्वकपको तीन आयोजक मध्ये एक हो।
घरेलु टोली अमेरिका नकआउट चरणमा पुगिसकेको भए पनि ट्रम्पको अनुपस्थितिले विभिन्न अड्कलबाजी जन्माएको छ।
विश्वकप सुरु हुनुअघि ट्रम्प प्रतियोगितालाई निकै महत्त्व दिइरहेका देखिन्थे। उनले प्रतियोगितालाई ‘फिफाको इतिहासकै सबैभन्दा सफल विश्वकप’ भन्दै प्रशंसा गरेका थिए।
गत डिसेम्बरमा वासिङ्टन डीसीमा आयोजित विश्वकप ड्र समारोहमा सहभागी हुँदै उनले फिफाका अध्यक्ष जियानी इन्फान्टिनोसँगै उनी थिए। उनीसँगै सम्बन्धलाई लिएर नै इन्फानटिनोले राम्रै आलोचना पनि ब्यहोरिरहेका छन्। नोबल पुरस्कार निकै लबिइङ गर्दा पनि नपाएका उनलाई फिफाले पहिलो ‘पीस प्राइज’ दिएको थियो। यसमा फिफाको नेतृत्वले चाकडी गरेको भनेर अझै आलोचना हुने गर्छ।
विश्वकपअघि निकै चासो देखाएका ट्रम्प विश्वकप सुरु भएपछि भने गुमनाम छन्।अमेरिका र पाराग्वेबीच जुन १२ मा लस एन्जलसमा भएको उद्घाटन खेलमा ट्रम्प उपस्थित भएनन्। त्यसको सट्टा अमेरिकी विदेशमन्त्री मार्क रुबियोले सरकारको प्रतिनिधित्व गरेका थिए। त्यसपछि अस्ट्रेलिया र टर्कीविरुद्धका अमेरिकाका बाँकी समूह चरणका खेलमा पनि उनी देखिएनन्।
राजनीतिक विश्लेषक फेडेरिको डे जेससका अनुसार ट्रम्पको प्राथमिकता प्रायः ठूलो चर्चामा रहने ‘मुख्य इभेन्ट’ मा केन्द्रित हुने गरेको छ। उनले सुपर बाउल, क्लब विश्वकप फाइनल र अन्य ठूला खेलकुद समारोहमा उपस्थित भएको उदाहरण दिँदै विश्वकपको फाइनलमा ट्रम्प उपस्थित हुने सम्भावना बलियो रहेको बताएका छन्।
विश्लेषकहरूले ट्रम्प केही डेमोक्र्याट प्रभाव भएका सहरमा हुने खेलमा दर्शकबाट नकारात्मक प्रतिक्रिया आउन सक्ने सम्भावनाप्रति पनि सचेत रहेको हुन सक्ने बताएका छन्। केही साताअघि एनबीए फाइनलमा राष्ट्रिय गानका क्रममा उनी दर्शकको हुटिङको निसाना परेका थिए।
यद्यपि, ट्रम्पको व्यस्त कार्यतालिकालाई पनि अनुपस्थितिको अर्को कारण मानिएको छ। विश्वकप सुरु भएको समयमा उनी जी–७ शिखर सम्मेलनमा सहभागी हुन फ्रान्स गएका थिए भने इरानसँगको शान्ति सम्झौतासम्बन्धी वार्तामा समेत व्यस्त थिए।
ह्वाइट हाउस विश्वकप टास्क फोर्सका प्रमुख एन्ड्र्यु जुलियानीले भने ट्रम्पले फाइनलअघि नै कुनै खेलमा ‘अचानक’ उपस्थिति जनाउन सक्ने संकेत दिएका छन्। उनका अनुसार ट्रम्पले सधैंजसो अन्तिम क्षणसम्म उत्सुकता कायम राख्न रुचाउँछन्।
फिफा अध्यक्ष जियानी इन्फान्टिनोले जुलाई १९ मा न्यु जर्सीमा हुने विश्वकप फाइनलमा ट्रम्प उपस्थित भई विजेता टोलीलाई ट्रफी प्रदान गर्ने योजना रहेको पुष्टि गरिसकेका छन्। स्वयं ट्रम्पले पनि आफूलाई फाइनलमा उपस्थित हुन निमन्त्रणा आएको बताएका छन्।
यद्यपि, ट्रम्प अहिलेसम्म मैदानमा नदेखिए पनि ह्वाइट हाउसले प्रतियोगितालाई निरन्तर सहयोग गरिरहेको जनाएको छ। ट्रम्पले अमेरिकाको पहिलो खेलअघि टोलीसँग टेलिफोनमार्फत कुराकानी गरेका थिए भने उनका प्रशासनका विभिन्न मन्त्री तथा अधिकारीहरूले विश्वकपका खेलमा सहभागिता जनाइरहेका छन्।

ट्रम्पले ट्रफी दिँदा हुन सक्छ असहजता
दोस्रो कार्यकालका लागि ट्रम्प ह्वाइट हाउस पुगेपछि उनको धेरै वटा देशसँग सम्बन्ध सहज छैन। ट्यारिफ, आप्रवासीप्रति अनुदार नीति, भिषा, युद्ध, विभिन्न देश र राष्ट्रप्रमुखमाथि अपमानजनक व्यवाहारलगायत कारणले धेरै देश उनीसँग चिडिएका छन्। यसमा उनको ‘एलाइ’ राष्ट्रहरु पनि छन्। विश्वकपमै पनि उनको नीतिकै कारणले अफ्रीकी रेफ्रीलगायत विभिन्न देशका अफिसियल र खेलाडीले भिषा नपाउने या पाए पनि इमिग्रेसनमा दु:ख पाएको घटना सतहमा आएको थियो।
यस्तोमा अमेरिकाको न्यु जर्सीमा जुलाई १९ मा हुने फिफा विश्वकप २०२६ को फाइनलमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विजेता टोलीलाई ट्रफी हस्तान्तरण गर्ने चर्चा छ। तर फाइनलमा जुनसुकै टोली पुगे पनि ट्रम्पको उपस्थितिले केही असहज राजनीतिक परिस्थिति सिर्जना गर्न सक्ने विश्लेषण गरिएको छ।
यसको मुख्य कारण ट्रम्पको दोस्रो कार्यकालमा अपनाइएको ‘अमेरिका फर्स्ट’ विदेश नीति हो। उनले विश्वकपमा सहभागी धेरै देशसँग व्यापार, सुरक्षा, कूटनीति वा राजनीतिक विषयमा विवादास्पद अभिव्यक्ति दिएका छन्। केही देशमाथि ट्यारिफ लगाएका छन् भने केहीका नेतामाथि सार्वजनिक रूपमा टिप्पणी गरेका छन्।
यदि घरेलु टोली अमेरिकाले विश्वकप जित्यो भने पनि त्यो ट्रम्पका लागि पूर्ण रूपमा सहज क्षण नहुन सक्छ। अमेरिकी टोलीका प्रमुख गोलकर्ता फोलारिन बालोगुन आप्रवासी पृष्ठभूमिका खेलाडी हुन्। नाइजेरियाली आमाबाट अमेरिकामा जन्मिएका उनी जन्मसिद्ध नागरिकताको आधारमा अमेरिकाबाट खेलिरहेका छन्।
तर ट्रम्प प्रशासनले जन्मसिद्ध नागरिकताको व्यवस्थामाथि प्रश्न उठाउँदै त्यसलाई सीमित गर्ने प्रयास गरिरहेको छ। आलोचकहरूका अनुसार यदि त्यस्तो नीति लागू भएको भए बालोगुन सम्भवतः अमेरिका होइन, नाइजेरिया वा इंग्ल्यान्डबाट खेलिरहेका हुन्थे।
अर्कोतर्फ, अमेरिका बाहेक अर्को राष्ट्रले उपाधि जिते पनि ट्रम्पका अघिल्ला अभिव्यक्ति र नीतिका कारण केही असहज दृश्य देखिन सक्छन्।
ट्रम्पले इरानसँग सैन्य कारबाही गरेका छन् भने स्पेनलाई इरानप्रतिको आफ्नो नीतिको विरोध गरेपछि चर्को आलोचना गरेका थिए। अस्ट्रेलियामाथि पनि इरानसम्बन्धी विषयमा सहयोग नगरेको आरोप लगाएका थिए।
युरोपेली राष्ट्रहरूसँग पनि ट्रम्पको सम्बन्ध उतारचढावपूर्ण रहँदै आएको छ। उनले बेल्जियमको राजधानी ब्रसेल्सलाई ‘नर्कजस्तै ठाउँ’ भनेका थिए भने नर्वेलाई नोबेल शान्ति पुरस्कारको प्रसङ्गमा खराब टिप्पणी गरेका थिए थिए। फ्रान्स, जर्मनी र बेलायतका नेताहरूसँग पनि उनको सम्बन्ध पटक–पटक तनावपूर्ण बनेको थियो। नेटोको सम्बन्धमा युरोपसँग उनी ठूलो मदभेद देखिन थालेको छ।

विश्वकपका सहआयोजक क्यानडा र मेक्सिकोको पनि ट्रम्पसँग सुमधुर सम्बन्ध छैन। उनले क्यानडामाथि बारम्बार आर्थिक दबाब सिर्जना गर्नेदेखि अमेरिका मिलाउनेसम्मको सार्वजनिक चर्चा गरेका थिए भने मेक्सिकोसँग सीमा पर्खाल र आप्रवासनको विषयमा कडा नीतिको वकालत गर्दै आएका छन्।
दक्षिण अमेरिकामा पनि उनले ब्राजिलमाथि ४० प्रतिशत ट्यारिफ लगाउँदा भने अर्जेन्टिना, पाराग्वे र कोलम्बियाको आन्तरिक राजनीतिमा अनावश्यक चासो देखाएको आरोप लागेको छ।
अफ्रिकी राष्ट्रहरूबारे पनि उनका अभिव्यक्तिहरू विवादमा परेका छन्। उनले पहिलो कार्यकालमै केही अफ्रिकी राष्ट्र र हाइटीलाई अपमानजनक शब्द प्रयोग गरेर सम्बोधन गरेका थिए। दक्षिण अफ्रिकामा श्वेत किसानमाथि ‘नरसंहार’ भइरहेको आरोपसमेत लगाएका थिए।
यसबाहेक जापान, बोस्निया–हर्जेगोभिना, ट्युनिसिया, घाना, सेनेगल, साउदी अरेबिया, कतार, जोर्डन, इजिप्टलगायत विभिन्न देशसँग पनि ट्रम्पका नीतिगत वा कूटनीतिक मतभेद देखिएका छन्।
यद्यपि, खेलाडीहरूका लागि यी राजनीतिक विवादभन्दा विश्वकपको उपाधि नै सबैभन्दा ठूलो प्राथमिकता हुनेछ। तर विश्व फुटबलकै सबैभन्दा ठूलो मञ्चमा ट्रम्पले ट्रफी हस्तान्तरण गर्ने क्षणले खेलसँगै विश्व राजनीतिलाई पनि फेरि एकपटक चर्चाको केन्द्रमा ल्याउने निश्चित देखिन्छ।










