नाइमा एक्स्पोमा सार्वजनिक गरिने ‘वुलिङ एक्सिओन’ नेपाली सडकमा कत्तिको उपयुक्त?



बिजमाण्डू
२०८३ असार १२ गते १२:०५ | Jun 26, 2026
नाइमा एक्स्पोमा सार्वजनिक गरिने ‘वुलिङ एक्सिओन’ नेपाली सडकमा कत्तिको उपयुक्त?

काठमाडौं। नेपालमा विद्युतीय सवारीसाधन (इभी)को बजार तीव्र विस्तार भइरहेका बेला वुलिङ मोटर्सको नयाँ एसयूभी ‘वुलिङ एक्सिओन’ नेपाली बजारमा आउने भएको छ। नेपालका लागि वुलिङको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्सले यो गाडी आगामी नाइमा मोबिलिटी एक्स्पो २०२६ मा सार्वजनिक गर्ने जनाएको छ।

Tata
GBIME
Nepal Life

साइक-जीएम-वुलिङद्वारा निर्मित यो एसयूभी विशेषगरी ठूलो परिवार, लामो दूरीको यात्रा गर्ने तथा फराकिलो स्पेस खोज्ने ग्राहकलाई लक्षित गरिएको कम्पनीको भनाइ छ। हाल नेपाली बजारमा ५ सिटे क्रसओभरको विकल्प धेरै भए पनि ७ सिटे विद्युतीय एसयूभीको विकल्प सीमित छन्।

वुलिङ एक्सिओनको प्रमुख विशेषता यसको परिवर्तन गर्न मिल्ने सिट व्यवस्थापन हो। सामान्य अवस्थामा यसलाई ५ सिटे एसयूभीका रूपमा प्रयोग गर्न सकिन्छ। आवश्यकता अनुसार पछाडिका दुईवटा फोल्डिङ सिट खोल्दा यो सात सिटे गाडीमा रूपान्तरण हुन्छ।

५ सिटे मोडमा ५४० लिटरको बुट स्पेस उपलब्ध हुन्छ भने दोस्रो र तेस्रो दुवै लहरका सिट फोल्ड गर्दा करिब २ हजार ९१६ लिटर सामान राख्न सकिने ठाउँ प्राप्त हुन्छ। २ हजार ८१० एमएम ह्विलबेसका कारण पछाडिको सिटमा पनि पर्याप्त लेग स्पेस रहने कम्पनीले जनाएको छ।

गाडीमा ६९.२ किलोवाट आवर क्षमताको लिथियम आइरन फस्फेट (एलएफपी) ब्याट्री जडान गरिएको छ। कम्पनीका अनुसार यसले एकपटक पूर्ण चार्ज गर्दा अधिकतम ५३० किलोमिटरसम्म यात्रा गर्न सक्ने क्षमता राख्छ।

फास्ट चार्जिङ प्रविधिमार्फत ब्याट्रीलाई ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न करिब २० मिनेट लाग्ने दाबी गरिएको छ।

नेपालका पहाडी तथा उबडखाबड सडकमा यसको संरचना उत्तम हुने कम्पनीको भनाइ छ। गाडीको बडीमा ७४.९ प्रतिशत उच्च शक्ति भएको स्टिल प्रयोग गरिएको छ भने मुख्य पिलरमा १ हजार ५०० एमपीए क्षमताको स्टिल राखिएको छ।

एलएफपी ब्याट्रीले आगो तथा पंक्चर परीक्षण पनि पार गरेको कम्पनीले जनाएको छ। पछाडिको भागमा मल्टी-लिंक सस्पेन्सन प्रयोग गरिएकाले असहज सडकमा पनि यात्रालाई सहज बनाउने अपेक्षा गरिएको छ।

एक्सिओनमा १५० किलोवाट क्षमताको विद्युतीय मोटर जडान गरिएको छ। यसले करिब २०१ हार्सपावर र ३१० एनएम टर्क उत्पादन गर्छ।

कम्पनीका अनुसार पूर्ण यात्रु र सामान बोकेको अवस्थामा पनि पहाडी उकालोमा सहज रूपमा चलाउन सकिने क्षमता यसमा छ।

सुरक्षाका लागि गाडीमा एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडास), अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, एडप्टिभ क्रुज कन्ट्रोल, ३६० डिग्री क्यामेरा तथा ट्रान्सपरेन्ट चेसिस जस्ता प्रविधि समावेश गरिएको छ। यसमा गाडीमुनिको सडकको अवस्था पनि स्क्रिन हेर्न मिल्छ।

प्यारामाउन्ट मोटर्सले नाइमा मोबिलिटी एक्स्पो २०२६ मा वुलिङ एक्सिओनसँगै वुलिङ मिनी इभी, वुलिङ डेरियन एमपीभी र वुलिङ बिङ्गो इभी पनि प्रदर्शन गर्ने जनाएको छ। कम्पनीले देशभर रहेका आफ्ना शोरूम तथा सर्भिस नेटवर्कमार्फत यी गाडीको बिक्री तथा बिक्रीपछिको सेवा उपलब्ध गराउने जनाएको छ।