चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा बन्दसत्र सुरु हुन ढिलाइ भएको छ। दोस्रो दिन सोमबार बिहान ८:३० बजे बन्दसत्र तोकिए पनि दिउँसो १२ बजेसम्म बन्दसत्र सुरु हुन सकेको छैन।
४ हजारभन्दा बढी महाधिवेशन प्रतिनिधि तय भएको भनिए पनि प्रतिनिधि टुंगो नलाग्दा बन्दसत्रका लागि ढिला भएको बताइएको छ। चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा नेता कार्यकर्ताहरू प्रतिनिधि कार्ड लिन भेला भएका छन्। दिउँसो साढे ११ बजेबाट बल्ल प्रतिनिधि कार्ड बाँड्न थालिएको छ।
मधेश प्रदेशका धेरैजसोको नाम दोहोरिएको, परेका उजुरीमाथि छानबिन गर्नुपर्दा बन्दसत्र ढिला भएको रास्वपा प्रवक्ता मनिष झाले बताए।


बन्दसत्रमा सभापति रवि लामिछानेले पार्टीको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने, महामन्त्री कविन्द्र बुर्लाकोटीले तयार पारेको संगठनात्मक प्रतिवेदन पेस गर्ने कार्यक्रम छन्।
त्यसैगरी, अनुशासन आयोगको प्रतिवेदन प्रस्तुति, पार्टीको वित्तीय प्रतिवेदन प्रस्तुति, सहमहामन्त्री विपिन आचार्यको नेतृत्वमा तयार पारिएको विधान संशोधनको प्रस्ताव एवं अनुमोदन, अर्थमन्त्रीसमेत रहेका उपसभापति डा स्वर्णिम वाग्लेले पार्टीको अर्थ राजनीतिक प्रस्तावना पेश गर्ने कार्यतालिकासमेत छ। त्यसपछिमात्र निर्वाचन प्रक्रिया सुरु हुने कार्यतालिका रहेकोमा बन्दसत्रको ढिलाइले महाधिवेशनको समय लम्बिने नेताहरू बताउँछन्।


















