चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन सुरु हुनुअघि भरतपुरमा ठूलो वर्षा भयो। उद्घाटनस्थल रहेको गेस्ट हाउस चौर जलमग्न बन्यो।
मैदानका धेरै भाग पोखरीजस्तै देखिन्थे। तर, पानीका बीच ठूलो संख्यामा कार्यकर्ता र समर्थक उपस्थित भए।
रास्वपाले आफ्नो पहिलो महाधिवेशन सुरु गरेको छ। रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाह एउटै गाडीमा उद्घाटनस्थल पुगेका थिए। दुवैले संयुक्त रूपमा महाधिवेशन उद्घाटन गरे।


उद्घाटन समारोहमा विभिन्न दलका शीर्ष नेताहरूको उपस्थिति थियो। नेपाली कांग्रेसका सभापति गगन थापा, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, एमाले नेता प्रदीप ज्ञवाली, नेकपा नेता वर्षमान पुन, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलगायत सहभागी भए।
उद्घाटनका क्रममा अतिथिहरूले घण्टी बजाएर शुभारम्भ गरेका थिए। गगन थापालाई प्रधानमन्त्री बालेन्द्र शाहले घण्टी हस्तान्तरण गरेका थिए।


तीन दिनसम्म चल्ने महाधिवेशनबाट १९ पदाधिकारीसहित १०० सदस्यीय केन्द्रीय समिति चयन हुनेछ। ४ हजार २११ प्रतिनिधिले नेतृत्व चयन गर्नेछन्।
महाधिवेशनले एक सभापति, एक वरिष्ठ नेता, तीन उपसभापति, दुई महामन्त्री, पाँच सहमहामन्त्री, एक कोषाध्यक्ष, एक सहकोषाध्यक्ष, एक प्रवक्ता र तीन सहप्रवक्ता निर्वाचित गर्नेछ।










