जावलाखेलमा परम्पराअनुसार भोटो प्रदर्शन, राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाह पनि उपस्थित



सुशील श्रेष्ठ
२०८३ असार ६ गते १९:३३ | Jun 20, 2026
जावलाखेलमा परम्पराअनुसार भोटो प्रदर्शन, राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाह पनि उपस्थित

काठमाडौं। भोटोजात्राको अवसरमा शनिबार जावलाखेलमा परम्पराअनुसार भोटो प्रदर्शन गरिएको छ। यस वर्ष भोटोजात्रा शनिबार परे पनि विगतका वर्षहरूमा सरकारले यस दिन काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने गरेको थियो।

Tata
GBIME
Nepal Life

बुंगद्यः अर्थात् रातो मछिन्द्रनाथको रथलाई तानेर जावलाखेल पुर्‍याइएपछि भोटोजात्रा सम्पन्न गरिएको हो। यो जात्रालाई राज्यस्तरबाट विशेष महत्त्व दिँदै आइएको छ।

राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री बालेन्द्र शाह तथा हजारौं श्रद्धालु र सर्वसाधारणको उपस्थितिमा जावलाखेलमा भव्य रूपमा भोटोजात्रा मनाइएको छ।

भोटोजात्रासँग कर्कोटक नागराज, ज्यापु किसान र भूतसँग सम्बन्धित एक पुरानो किंवदन्ती जोडिएको छ।

जनविश्वासअनुसार प्राचीन समयमा कर्कोटक नागराजकी श्रीमतीको आँखा दुखेको थियो। स्थानीय एक ज्यापुले तन्त्रमन्त्रको माध्यमबाट उनको आँखा निको पारेपछि नागराजले उपहारस्वरूप उनलाई बहुमूल्य भोटो दिएका थिए।

एक दिन ज्यापु किसानले भोटो फुकालेर खेत खनिरहेका बेला भूत आएर उक्त भोटो चोरेर लगेको भनाइ छ। खेतमा काम गर्ने क्रममा भोटो हराएपछि उनले धेरै खोजी गरे। तर, कतै नभेटिएपछि जावलाखेलमा आयोजित एक जात्राका क्रममा एक राक्षसले त्यही भोटो लगाएको देखेको विश्वास गरिन्छ।

किसानले भोटो आफ्नो भएको दाबी गरेपछि दुवै पक्षबीच विवाद सुरु भयो। लामो समयसम्म विवाद भए पनि कसैले पनि आफ्नो दाबी प्रमाणित गर्न सकेनन्।

त्यसपछि नागराजले भोटो दुवैबाट खोसेर राजा र उपस्थित जनतालाई देखाए। पछि जसले प्रमाणसहित भोटो आफ्नो भएको पुष्टि गर्छ, उसैलाई दिने सर्तसहित भोटो मछिन्द्रनाथको जिम्मामा राखिएको कथन छ।

त्यही घटनापछि प्रत्येक वर्ष जावलाखेलमा भोटो देखाउने परम्परा सुरु भएको मान्यता छ।

भोटोजात्रा सम्पन्न भएपछि बुंगद्यःलाई पुनः बुंगमती फर्काइनेछ। त्यससँगै यस वर्षको जात्रा औपचारिक रूपमा समापन हुनेछ।