काठमाडौं। नेकपा एमालेको संविधान संशोधन सुझाव कार्यदलको बैठक तीन सातापछि बल्ल बसेको छ। पार्टी उपाध्यक्ष विष्णु पौडेलले आफ्नो संयोजकत्वमा गठित कार्यदलको पहिलो बैठक आइतबार राखेर विभिन्न ४ निर्णय गरेका छन्।
कार्यदलले विभिन्न क्षेत्रबाट सुझाव संकलन गरी संविधान संशोधन सम्बन्धी प्रस्ताव तयार गर्न उपसमिति गठन गरेको छ।
संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानले अवलम्बन गरेको शासन प्रणालीलाई सुदृढ गर्न र थप प्रभावकारी बनाउन राजनीतिक र सामाजिक जीवनका विभिन्न क्षेत्रबाट सुझाव संकलन गरी प्रस्ताव तयार गर्ने निर्णय भएको कार्यदलका सदस्यहरुले बताएका छन्।
संशोधन प्रस्ताव तयार गर्न र सुझाव संकलनका लागि विस्तृत कार्यतालिका निर्माण गर्न अग्नि खरेलको संयोजकत्वमा उपसमिति गठन गरिएको छ। उपसमितिमा रमेश बडाल, महेश बर्तौला, कृष्णभक्त पोखरेल, टीकाराम भट्टराई, राजेन्द्र घिमिरे र अमर थापा सदस्य छन्।

उपसमितिलाई अर्को बैठकमा कार्ययोजना र कार्यतालिका प्रस्तुत गर्न भनिएको छ। एमालेले संविधान संशोधन सम्बन्धमा अन्य राजनीतिक दल र तिनले गठन गरेका कार्यदलसँग संवाद गर्नेछ।
संविधान संशोधन सुझाव कार्यदलमा महेश बर्तौलालाई सदस्यसचिवको जिम्मेवारी तोकिएको छ। जेठ ४, ८ ,९ र १० गते बसेको एमालेको सचिवालय बैठकले पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेको थियो।











