आठ जनाको ज्यान गएको काभ्रे बुच्चाकोट बस दुर्घटना छानबिन गर्न ६ सदस्यीय समिति गठन



बिजमाण्डू
२०८३ जेठ ३० गते १५:५१ | Jun 13, 2026
आठ जनाको ज्यान गएको काभ्रे बुच्चाकोट बस दुर्घटना छानबिन गर्न ६ सदस्यीय समिति गठन

काठमाडौं। प्रहरीले काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध-२ बुच्चाकोटमा शुक्रबार भएको बस दुर्घटनाको कारण पत्ता लगाउन छानबिन समिति गठन गरेको छ। प्रहरी प्रधान कार्यालयले शनिबार उक्त दुर्घटनाको छानबिन गर्न प्रहरी प्रदेश कार्यालय, काभ्रेका प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको हो।

Tata
GBIME
Nepal Life

बनेपाबाट रोशी खार्पाचोकतर्फ जाँदै गरेको बा३ख ८३९८ नम्बरको बस सडकबाट करिब ३०० मिटर तल खसेर दुर्घटना भएको थियो। बसमा सवार आठ यात्रुको घटनास्थलमा मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए। घाइतेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।

समितिले घटनाको वास्तविक अवस्था, कारण तथा जिम्मेवार पक्ष पहिचान गरी सत्य, तथ्य छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्नुपर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ। डीएसपी रविन विष्टका अनुसार दुर्घटनामा मृत्यु हुनेमा रोशी-६ का ७३ वर्षीय मेघबहादुर तामाङ, ५५ वर्षीय राजु तामाङ र ७५ वर्षीय इन्द्रबहादुर तामाङ, रोशी-७ की ३४ वर्षीया फूलमाया तामाङ, ६० वर्षीया माया तामाङ, रोशी-८ की ६० वर्षीया प्यारीमाया तामाङ, दैलेख घर भई त्रिनेत्र दल गण भकुण्डेवेँशीमा कार्यरत नेपाली सेनाका ३० वर्षीय अमलदार बमबहादुर भण्डारी र सिन्धुलीको घ्याङ्लेक-४ की २२ वर्षीया सुमी तामाङ छन्।