अमेरिका शीर्ष स्थानमा उक्लिदा समूह ‘डी’ का अन्य प्रतिद्वन्द्वी टोलीलाई सतर्कताको सन्देश



बिजमाण्डू
२०८३ जेठ ३० गते १०:०७ | Jun 13, 2026
अमेरिका शीर्ष स्थानमा उक्लिदा समूह ‘डी’ का अन्य प्रतिद्वन्द्वी टोलीलाई सतर्कताको सन्देश
तस्बिर : एपी

काठमाडौं। आयोजक राष्ट्र अमेरिकाले फिफा विश्वकप २०२६ मा शानदार सुरुआत गरेको छ। समूह ‘डी’ अन्तर्गत लस एन्जलस स्टेडियममा शुक्रबार राति सम्पन्न खेलमा अमेरिकाले महत्त्वपूर्ण तीन अंक जोडेको हो। नयाँ मुख्य प्रशिक्षक माउरिसियो पोचेटिनोको नेतृत्वमा विश्वकपमा अमेरिकाको यो पहिलो ठूलो र आक्रामक प्रदर्शन हो।

Tata
GBIME
Nepal Life

अमेरिका समूहको शीर्ष स्थानमा उक्लिएर अन्य प्रतिष्पर्धीलाई सतर्क गराएको छ। समूह ‘डी’मा अमेरिका, पाराग्वे, फ्रान्स र घाना छन्। पहिलो खेलमा पाराग्वेलाई ४–१ ले हराएर अमेरिका समूहको शीर्ष स्थानमा पुग्दा फ्रान्स र घानाबीचको खेलले यस समूहको अगाडिको समीकरण तय गर्नेछ।

पाराग्वेविरुद्ध अमेरिकाले राम्रो प्रदर्शन गर्दै विश्लेषकहरुलाई स्तब्ध पारेको छ। खेलको सातौं मिनेटमै अमेरिकाले अग्रता लियो। क्रिस्टियन पुलिसिकको उत्कृष्ट मुभपछि वेस्टन म्याककेनीले दिएको बल पाराग्वेका डामियान बोबाडिल्लाले आफ्नै पोस्टमा छिराएपछि अमेरिका १–० ले अगाडि बढ्यो।

अमेरिकाले ३१औँ मिनेटमा अग्रता दोब्बर बनायो। पुलिसिकको पासमा फोलारिन बालोगुनले पेनाल्टी क्षेत्रबाट सहज फिनिस गर्दै टोलीलाई २–० को अवस्थामा पुर्‍याए।

पहिलो हाफको इन्जुरी समयको पाँचौं मिनेटमा बालोगुनले व्यक्तिगत दोस्रो गोल थपे। मलिक टिलम्यानको उत्कृष्ट पासमा बलोगुनले डिफेन्डरलाई छलाउँदै शक्तिशाली प्रहार गोलमा परिणत गरेपछि अमेरिका ३–० ले अगाडि रहँदै विश्राममा गएको थियो।

दोस्रो हाफमा पाराग्वेले केही सुधारिएको प्रदर्शन गर्‍यो। ७३औँ मिनेटमा जुलियो एन्सिसोको पासमा दोस्रो हाफमै मैदान प्रवेश गरेका मौरिसियोले गोल गर्दै अन्तर ३–१ मा झारे। विश्वकपमा १६ वर्षपछि फर्किएको पाराग्वेका लागि त्यो गोल केही आशा जगाएको थियो। तर, अमेरिकाले खेल आफ्नो नियन्त्रणबाट बाहिर जानै दिएन।

इन्जुरी समयको आठौं मिनेटमा जियोभानी रेयनाले एलेक्स फ्रिम्यानको पासमा सुन्दर फिनिस गर्दै टोलीको चौथो गोल गरेका थिए। उक्त गोलसँगै अमेरिका ४–१ ले विजयी बन्यो।

दुई गोल गरेका बालोगुन अमेरिकाको जितका प्रमुख नायक बने। कप्तान टिम रिमको नेतृत्वमा अमेरिकी रक्षापंक्तिले पनि प्रभावशाली प्रदर्शन गर्दै पाराग्वेलाई अधिकांश समय दबाबमा राख्यो।

विश्वकपमा अमेरिकाले पाराग्वेमाथि हासिल गरेको यो लगातार दोस्रो जित हो। यसअघि सन् १९३० को विश्वकपमा पनि अमेरिकाले पाराग्वेलाई ३–० ले पराजित गरेको थियो। घरेलु मैदानमा प्राप्त यस जितसँगै अमेरिका समूह ‘डी’ को शीर्ष स्थानमा उक्लिएको छ भने पाराग्वे दबाबमा परेको छ।

अमेरिकी टोलीका कप्तान टिम रीमले मैदान उत्रिनासाथ एउटा विशेष कीर्तिमान बनाएका छन्। उनी अमेरिकी पुरुष फुटबल इतिहासमै विश्वकप खेल्ने सबैभन्दा बढी उमेरका खेलाडी बनेका छन्।

मुख्य प्रशिक्षक पोचेटिनोको नेतृत्वमा ठूलो प्रतियोगिता खेलिरहेको अमेरिकी टोलीका लागि यस जितले ‘ट्याक्टिकल’ आत्मविश्वास र नयाँ उर्जा थपेको छ। स्टार खेलाडीहरूलाई आराम दिँदा वा परिवर्तन गर्दा पनि टोलीको आक्रामक लय नबिग्रिनुले अमेरिकी बेन्च स्ट्रेन्थ कति बलियो छ भन्ने कुरा प्रष्ट पारेको छ।

फिफा विश्वकप २०२६ को सुरुवाती खेलमै पाराग्वेमाथिको ४–१ को शानदार जित सह-आयोजक अमेरिकाका लागि केवल ३ अंक मात्र होइन, बल्कि घरेलु मैदानमा आफ्नो बलियो उपस्थिति प्रमाणित गर्ने एउटा ऐतिहासिक अवसर हो। पाराग्वेमाथिको यो सानदार सुरुवातले आगामी खेलहरूमा अमेरिकालाई रणनीतिक र मानसिक रूपमा निकै बलियो स्थितिमा पुर्‍याएको छ।

पहिलो खेलमै बलियो नतिजा आएका कारण प्रशिक्षक पोचेटिनोले आगामी खेलहरूमा रणनीतिक परिवर्तन गर्ने र मुख्य खेलाडीहरूलाई आराम दिने अवसर पाउनेछन्। क्रिस्चियन प्युलिसिक जस्ता स्टार खेलाडीलाई लामो प्रतियोगिताका लागि फिट राख्न र चोटबाट जोगाउन यो जितले प्रशिक्षकलाई सहज बनाइदिएको छ।

यो आक्रामक प्रदर्शनले समूह ‘डी’ का अन्य प्रतिद्वन्द्वी टोलीहरूलाई सचेत गराएको छ। अमेरिका केवल सह-आयोजक मात्र नभएर घरेलु मैदानमा जुनसुकै टोलीलाई पनि ध्वस्त पार्न सक्ने क्षमता राख्छ भन्ने सन्देश प्रवाह भएको छ, जसको फाइदा आगामी खेलको सुरुवातमै अमेरिकालाई मनोवैज्ञानिक रूपमा मिल्नेछ।

विश्वकप इतिहासमा अमेरिकाको प्रदर्शन उतारचढावपूर्ण रहेको छ। सन् १९३० को पहिलो विश्वकपमै सेमिफाइनल पुगेको अमेरिका त्यसपछि लामो समय ओझेलमा पर्‍यो। सन् १९९० देखि लगातार सहभागिता जनाए पनि २००२ मा क्वार्टरफाइनल पुग्नुबाहेक टोली प्रायः अन्तिम १६ वा समूह चरणमै सीमित रहँदै आएको छ। सन् २०१८ मा त अमेरिका छनोट हुन समेत असफल भएको थियो।

पाराग्वेमाथिको फराकिलो अन्तरको जितले अमेरिकाको यही औसत इतिहास र मानसिकतामा ठूलो धक्का दिएको छ। विश्लेषकहरूका अनुसार, यो केवल एउटा खेलको जित मात्र होइन, बल्कि अमेरिकी फुटबलले विश्वमञ्चमा आफ्नो ‘अण्डरडग’ छवि बदल्दै ‘पावरहाउस’ बन्ने संकेत दिएको हो।

विश्लेषकहरू प्रशिक्षक पोचेटिनोको रणनीतिको तारिफ गरिरहेका छन्। पहिले रक्षात्मक खेल्ने अमेरिकी टोली अहिले ‘फाइनल थर्ड’ मा आक्रामक र क्लिनिकल देखिएको उनीहरूको ठम्याइ छ।

धेरैजसो विश्लेषकले यसलाई घरेलु मैदानमा अमेरिकी फुटबलको टर्निङ प्वाइन्ट मानेका छन्, जसले टोलीलाई फ्रान्स जस्तो बलियो प्रतिद्वन्द्वीविरुद्ध भिड्न मनोबल उच्च बनाएको छ।