टिकट बिक्री उच्च थियो। तर, मेक्सिकोको ग्वाडालाजारामा दक्षिण कोरिया र चेक गणतन्त्रबीच भएको विश्वकप खेलमा देखिएका खाली सिटबारे प्रश्नहरु उठे। यसमा विश्व फुटबल महासंघ (फिफा)ले यसबारे ध्यानाकर्षण भएको छ।
फिफाले दर्शकहरू आफ्नो सिटमा नबसी स्टेडियमको कन्कोर्स (आवागमन क्षेत्र) मा बसेर खेल हेरेका कारण त्यस्तो देखिएको जनाएको छ। ४५ हजार ६६४ दर्शक क्षमता रहेको ग्वाडालाजारा स्टेडियममा खेलका क्रममा धेरै खाली सिटहरू स्पष्ट रूपमा देखिएका थिए।
विशेषगरी स्ट्यान्डको बीच भागमा धेरै सिटहरू खाली देखिनुका साथै अन्यत्र पनि छरपस्ट रूपमा खाली स्थान थिए। यद्यपि आधिकारिक रूपमा ४४ हजार ९८५ दर्शक उपस्थित रहेको घोषणा गरिएको थियो। उक्त खेल हेर्न फिफा अध्यक्ष जियानी इन्फान्टिनो पनि पुगेका थिए।
फिफाले विज्ञप्ति जारी गर्दै दर्शक संख्याको आधिकारिक तथ्यांक कुनै समयको दृश्य अवलोकनका आधारमा नभई स्टेडियमभित्र प्रवेश गर्दा स्क्यान गरिएका टिकट र स्टेडियम परिसरभित्र उपस्थित दर्शकको संख्याका आधारमा तय हुने स्पष्ट पारेको छ।
फिफाका अनुसार खेलका क्रममा धेरै दर्शक आफ्नो निर्धारित सिटमा बस्नुभन्दा कन्कोर्स तथा खानपानका स्टल नजिक उभिएर खेल हेरिरहेका थिए। वास्तवमै बिहीबारको खेलभरि ठूलो संख्यामा दर्शकहरू त्यस्ता क्षेत्रमा उभिएको देखिएको थियो।
यसैबीच, क्यानडाको टोरन्टोमा पनि केही सिट खाली देखिएका थिए। शुक्रबार घरेलु भूमिमा क्यानडाले खेलेको आफ्नो पहिलो विश्वकप खेलमा स्टेडियम झन्डै भरिभराउ भए पनि मैदान नजिकको तल्लो भाग र अस्थायी रूपमा थपिएका माथिल्ला कुनाका केही सिट खाली देखिएका थिए।
आधिकारिक रूपमा ४३ हजार ३६ दर्शक क्षमता रहेको टोरन्टो स्टेडियम प्रतियोगिताको सबैभन्दा सानो रंगशाला हो। फिफाको न्यूनतम मापदण्ड पूरा गर्न त्यहाँ अतिरिक्त सिट थपिएका थिए। उक्त खेलमा ४३ हजार २ दर्शक उपस्थित रहेको घोषणा गरिएको थियो।
टोरन्टोमा यो सप्ताहन्त खेलकुद गतिविधिले व्यस्त बनेको छ। त्यहाँ बेसबल टोली टोरोन्टो ब्लु जेजले न्युयोर्क यान्कीजविरुद्ध घरेलु खेल खेलिरहेको छ भने करिब एक घण्टा दूरीमा रहेको क्यानेडियन ओपन गल्फ प्रतियोगिता पनि जारी छ।
यस वर्षको विश्वकपका लागि फिफाले अहिलेसम्मकै उच्च टिकट मूल्य निर्धारण गरेको छ। संयुक्त राज्य अमेरिकाका ११, मेक्सिकोका ३ र क्यानडाका २ रंगशालामा आयोजना भइरहेको प्रतियोगितामा फिफाले ‘डाइनामिक प्राइसिङ’ प्रणाली लागू गरेको छ। टिकट बिक्री सुरु भएको गत शरद ऋतुदेखि नै मूल्य पटक–पटक बढाइएको थियो।
फिफा अध्यक्ष इन्फान्टिनोले बुधबार ती मूल्यहरू उत्तर अमेरिकी बजारअनुसार उपयुक्त भएको बताएका थिए। तर कतिपय टिकटको सूची मूल्य १० हजार अमेरिकी डलरभन्दा माथिसम्म पुगेकाले त्यसको आलोचना भइरहेको छ।
प्रतियोगिता सुरु हुनुअघि २९ खेलका टिकट पूर्ण रूपमा बिक्री भइसकेका थिए, यद्यपि तीमध्ये केही खेलमा ह्वीलचेयर प्रयोगकर्ताका लागि सिट उपलब्ध थिए। बाँकी ७५ खेलका टिकट भने अझै बिक्रीका लागि उपलब्ध रहेका थिए। (एपी)










