भरतपुरमा जिल्ला सहकारीको इभी चार्जिङ स्टेसन, एकपटकमा आठ गाडीलाई सुविधा



बिजमाण्डू
२०८३ जेठ ३० गते ०६:५७ | Jun 13, 2026
भरतपुरमा जिल्ला सहकारीको इभी चार्जिङ स्टेसन, एकपटकमा आठ गाडीलाई सुविधा

चितवन। जिल्ला सहकारी संघ चितवनले साझा विद्युतीय सवारीसाधन (इभी) चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ। पेट्रोलपम्प सञ्चालन गर्दै आएको संघले इभीको बढ्दो प्रयोगलाई ध्यानमा राखेर चार्जिङ स्टेसन राखेको हो।

Tata
GBIME
Nepal Life

भरतपुर–१० स्थित संघको कार्यालय परिसरमा चार्जिङ स्टेसन राखिएको हो। संघका व्यवस्थापक विनोद खतिवडाका अनुसार चार्जिङ स्टेसनका लागि १ करोड ५० लाख रुपैयाँ लगानी भएको छ। १२० किलोवाट क्षमताका उपकरण जडान गरिएका चार वटा सेन्टरमा आठ वटा गाडी एक पटकमा चार्ज गर्न सकिने उनले बताए।

तोरीको तेल पेलेर बेच्दै आएको संघले साझा पेट्रोलपम्प सञ्चालन गर्दै आएको छ। पम्पबाट डिजल-पेट्रोलमा दैनिक ४० लाख रुपैयाँको कारोबार हुने गरेको छ। सहकारीले बेच्ने तोरीको तेल मासिक ६ हजार लिटर खपत हुँदै आएको छ। यससँगै सेवाग्राहीलाई सुबिधा दिने उद्देश्यले चार्जिङ स्टेसन स्थापना गरिएको खतिवडाले बताए।

इभीको प्रयोगसँगै जिल्लामा बढेको चार्जिङ स्टेसन खुल्ने क्रमलाई द्यानमा राखेर सहकारीले पनि लगानी गरेको हो। नेपाल विद्युत् प्राधिकरणले भरतपुरको केन्द्रीय बसपार्कमा चार सवारीसाधनले एकै पटक चार्ज गर्न सक्ने गरी चार्जिङ स्टेसन स्थापना गरेको थियो। त्यसलगत्तै प्राधिकरणले मुग्लिङमा अर्को चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको थियो। अहिले बसपार्कमा उपकरण थप गरी १२ पुर्‍याइएको छ।

यसबाहेक निजीस्तरबाट व्यावसायिक रूपमा विभिन्न स्थानमा ३१ स्टेसन सञ्चालनमा आएका छन्। प्राधिकरणको भरतपुर वितरण केन्द्रका इन्जिनियर मिलन सापकोटाका अनुसार प्राधिकरणका दुई स्थानमा र निजी क्षेत्रका ३१ स्थानमा स्टेसन सञ्चालनमा ल्याइएको छ।

यीबाहेक होटेल, रेस्टुरेन्टमा आफ्ना ग्राहकलाई सेवा दिने गरी चार्जिङ स्टेसन राख्नेहरू धेरै छन् ।