बोस्निया-हर्जगोभिनासँग बराबरी खेल्दा क्यानडालाई विश्वकपमा पहिलो अंक, आजै भिड्दैछन् अमेरिका र पाराग्वे



बिजमाण्डू
२०८३ जेठ ३० गते ०४:११ | Jun 13, 2026
बोस्निया-हर्जगोभिनासँग बराबरी खेल्दा क्यानडालाई विश्वकपमा पहिलो अंक, आजै भिड्दैछन् अमेरिका र पाराग्वे
क्यानडाका खेलाडीको सेलिब्रेसन। Photo: FIFA

काठमाडौं। फिफा विश्वकप २०२६ को सह-आयोजक क्यानडाले आफ्नो पहिलो खेलमा बोस्निया-हर्जगोभिनासँग १–१ को बराबरी खेलेको छ। टोरन्टो स्टेडियममा शनिबार सम्पन्न खेलमा क्यानडाले पुनरागमन गर्दै एक अंक जोगाएको हो।

Tata
GBIME
Nepal Life

बोस्निया-हर्जगोभिनाका लागि जोभो लुकिचले पहिलो हाफमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने क्यानडाका लागि साइल लारिनले दोस्रो हाफमा बराबरी गोल फर्काए।

खेलको २१औँ मिनेटमा कर्नरबाट आएको बललाई हेडमार्फत जाली चुमाउँदै लुकिचले बोस्नियालाई अग्रता दिलाए। घरेलु टोली क्यानडाले त्यसपछि लगातार दबाब सिर्जना गरे पनि पहिलो हाफमा गोल फर्काउन सकेन। पहिलो हाफमा ६६ प्रतिशत बल नियन्त्रण राखेको क्यानडाले ९ वटा कर्नर पाएको थियो।

दोस्रो हाफमा क्यानडाले थप आक्रामक खेल प्रस्तुत गर्‍यो। खेलको ७८औँ मिनेटमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेको दुई मिनेटमै साइल लारिनले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए। पेनाल्टी क्षेत्रभित्र प्राप्त पासलाई उनले नियन्त्रणमा लिँदै गोल गर्न सफल भएका थिए।

बाँकी समयमा दुवै टोलीले विजयी गोलका लागि प्रयास गरे पनि सफल हुन सकेनन्। इन्जुरी समयमा लारिनले नै क्यानडालाई जित दिलाउने अवसर पाए पनि बोस्नियाली डिफेन्डर तारिक मुहारेमोभिचले उत्कृष्ट ब्लक गर्दै गोल हुनबाट जोगाए।

खेलमा बलियो पकड बनाएको क्यानडाले १३ प्रहार गर्दा बोस्नियाले ८ प्रहार गर्‍यो।

यो नतिजासँगै क्यानडाले पुरुष विश्वकप इतिहासमा पहिलो पटक अंक जोड्न सफल भएको छ। यसअघिका सहभागितामा क्यानडाले सबै खेलमा हार ब्यहोरेको थियो।

आजै हुने अर्को खेलमा अमेरिका र पाराग्वे भिड्नेछन्। यो खेल बिहान पौने ७ बजे सुरु हुनेछ।