मिडफिल्डरको कारखाना स्पेनलाई ओप्टा सुपरकम्युटरले किन भन्यो फिफा विश्वकपको मुख्य दाबेदार?



बिजमाण्डू
२०८३ जेठ २३ गते ०६:१४ | Jun 6, 2026
मिडफिल्डरको कारखाना स्पेनलाई ओप्टा सुपरकम्युटरले किन भन्यो फिफा विश्वकपको मुख्य दाबेदार?

सन् २०२४ को युरोकपको उपाधि यात्रालाई हेर्दा नै स्पेनलाई विश्वकपको उपाधि दाबेदार भन्न हिच्किचाउनु पर्दैन। युवा खेलाडीले भरिएको यो टोलीलाई त्यतिबेला कम नै आकिँएको थियो। तर, मैदानमा प्रदर्शन र कागजमा नतिजा उसैको हात लाग्यो।

Tata
GBIME
Nepal Life

दशकअघि पनि अनुभवी खेलाडीको टोलीसहित स्पेन (ला रोखा) सन् २००८ देखि २०१२ सम्मको स्वर्णिम कालमा पाँच प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगितामध्ये तीन उपाधि जित्दै विश्व फुटबलमा वर्चस्व जमाएको थियो। अहिले स्पेनिस युवा टिम एक दशकअघि जस्तै सफलता दोहोर्‍याउने लक्ष्यमा छ।

सन् २०१० मा विश्वकप जितेपछि भने स्पेनले फिफा विश्वकपमा अपेक्षित सफलता हासिल गर्न सकेको छैन। सन् २०१४ मा समूह चरणबाटै बाहिरिएको स्पेन सन् २०१८ र २०२२ का दुवै विश्वकपमा अन्तिम १६ मा पराजित हुँदै घर फर्किएको थियो।

यसपटक त्यो निराशाजनक यात्रालाई अन्त्य गर्ने लक्ष्यसहित टोली घोषणा गर्दा प्रशिक्षक लुइस दे ला फुएन्तेले एउटा साहसी निर्णय गरे। उनले स्पेनको प्रारम्भिक टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी समावेश गरेनन्। जुन विश्वकप इतिहासमा स्पेनका लागि पहिलो घटना हो।

युवा तर अनुभवी खेलाडीसहित ला रोखाको अबको लक्ष्य एक दशकभन्दा बढी अगाडिको आफ्नो वर्चस्व फर्काउनेमा हुनेछ।

‘म प्रशिक्षक हुँ, र खेलाडीहरू कहाँबाट आउँछन् भनेर म हेर्दिनँ। उनीहरू राष्ट्रिय टिमका खेलाडी हुन्। म कुनै एउटा क्लब वा अर्कोलाई हेर्दिनँ। एक समर्थकले जस्तो स्थानीय पूर्वाग्रह मलाई छैन। मैले चाहेको केवल यही हो कि यी खेलाडीहरूले राष्ट्रिय टिमको प्रतिनिधित्व गर्नमा गर्व महसुस गरून्,’ दे ला फुएन्तेले पत्रकारहरूलाई भनेका थिए।

२६ जनामध्ये, १५ जना युरो २०२४ को विजयी टोलीमा थिए। यो टोलीमा लामिन यामलसहित १२ जना पहिलोपटक विश्वकप खेल्ने छन्। ६४ वर्षीय प्रशिक्षकका लागि फर्म र उपलब्धताका आधारमा टोली छान्नु भन्दा मैदानमा ११ जना छान्नु भने कठिन साबित हुने देखिन्छ।

स्पेन किन दाबेदार?

स्पेनलाई विश्वकपको मुख्य दाबेदार भनेर धेरैवटा तर्क गर्न सकिन्छ।

सन् २०२४ को युरोकपमा स्पेनले गरेको प्रदर्शन पछिल्ला अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा बढी नजर जाने खेल हो। त्यसबेला ७ मध्ये ६ वटा खेल उसले ९० मिनेटको समय भित्रै जितेको थियो। क्वाटरफाइनलमा जर्मनीलाई हराउन मात्र उसले पेनाल्टी सुटआउटमा पुग्नुपरेको थियो। त्यसपछिका खेलमा पनि स्पेनले लय बिगारेको छैन। यसबाहेक स्पेन नेशन्स लिगको पनि उसले फाइनल पुगेको थियो।

ओप्टा सुपर कम्युटर ले विश्वकपका उपाधि दाबेदारमध्येमा स्पेनको सबैभन्दा ठूलो सम्भावना भएको देखाएको छ। यसमा स्पेनको सर्वाधिक १७ प्रतिशत, दोस्रोमा फ्रान्सको १४.१ प्रतिशत, तेस्रोमा इङ्ग्ल्याण्डको ११.८ र चौथोमा साबिक विजेता अर्जेन्टिनाको ८.७ प्रतिशत देखाएको छ। यो सूचीको पाँचौँ, छैटौं र सातौँ स्थानमा जर्मनी, पोर्चुगल र ब्राजिल छन्।

यो सूचीमा ३ देशको विश्वकप जित्ने सम्भावना शून्य प्रतिशत छ। यसमा जोर्डन, कारकाओ र हाइटी छन्।

ओप्टा सुपर कम्प्युरको अनुमान। theanalyst.com

सबैभन्दा धेरै सम्भावना देखाएको स्पेनको अहिले सबैभन्दा बलियो पक्ष के हो ? – मिडफिल्ड।

यसपाला स्पेन समूह ‘एच’ मा छ। यो समूहमा स्पेनसहित केप भर्डे, उरुग्वे र साउदी अरब छन्।

सेन्ट्रल मिडफिल्डको कारखाना

फुटबलमा केही पोजिसनहरू लामो समयदेखि विशेष देशहरूसँग जोडिएका छन्। ब्राजिलका समुद्री तटहरूमा संसारका सर्वश्रेष्ठ फुल-ब्याकहरू तयार हुन्छन्।  इटालीको रणनीतिक भट्टीमा सबैभन्दा कठोर सेन्ट्रल डिफेन्डरहरू तयार हुन्छ। अनि, अर्जेन्टिना चर्चित छ नम्बर १० का लागि। जो असम्भवलाई सम्भव बनाउन जिउज्यान लगाउँछन्।

सन् २०१० पछि स्पेन फिफा विश्वकप गौरव पायो। ‘ला रोखा’को पहिचान सबैभन्दा बढी एउटै पोजिसनसँग अभिन्न रूपमा जोडिन पुग्यो: सेन्ट्रल मिडफिल्डर।

जाभी, आन्द्रेस इनिएस्ता, जाबि अलोन्सो, सर्जियो बुस्केट्स, सान्ति काजोर्ला, सेस्क फाब्रेगास, थियागो अल्कान्तारा, कोके, दानी पारेखो। यो सूचिमा निकै लामो छ। स्पेनको हालैको इतिहास एलिट प्लेमेकरहरूको नामावली यही हो। बीचमा कहिलेकाहीँ डिफेन्सिभ मिडफिल्डरहरूको नाम पनि आउँछ। यीमध्ये धेरैले खेलका महान् खेलाडीहरूको श्रेणीमा आफ्नो स्थान पक्का गरिसकेका छन्।

स्वर्णीम पुस्ता पछि पनि स्पेनसँग सेन्ट्रल मिडफिल्डरको कारखाना बन्द भएको छैन। हालका मुख्य प्रशिक्षक लुइस दे ला फुएन्तेले आफ्ना सिनियरहरूको पाइलामा हिँड्न उत्सुक नयाँ पुस्ताका खेलाडीहरूलाई बोलाउन सक्छन्।

युरोकपका दौरान फेबियन र पेड्री। तस्बिर: फिफा

रोड्री सेन्टरमा प्रभावशाली छन्। घुँडाको चोटले उनलाई एक वर्षसम्म मैदानबाहिर राखेको भए पनि उनी लयमा फर्कँदै खेल्न तयार छन्। उनको साथमा पेड्री, फाबियान रुइज र मार्टिन जुबिमेन्दी दे ला फुएन्तेको नेतृत्वमा नियमित खेलाडी बनिसकेका छन्। उनीहरूपछि अर्को समूह पर्खिरहेको छ – गावी, पाब्लो बारियोस र गाब्री वेइगा।

स्पेनले यति निरन्तर गुणस्तरका मिडफिल्डरहरू उत्पादन गर्न सक्षम हुनुको पछाडि के कारण छ? हाल टुलुजका मुख्य प्रशिक्षक र बार्सिलोनाको एकेडेमीमा काम गरेका कार्लेस मार्टिनेज यो प्रक्रिया नजिकबाट देखेका छन्।

‘स्पेनका खेलाडीहरूमा र विशेषगरी मिडफिल्डरहरूमा खेलप्रतिको बुझाइमा एउटा फरक देख्छु,’ मार्टिनेजले फिफालाई भने, ‘त्यहाँ किन भन्ने कुरा बुझाउनेमा जोड दिइन्छ। यदि तिमीले यो गर्‍यौ भने, त्यो हुन्छ भनेर स्पस्ट गरिन्छ। तालिम सिकाइको विस्तार हो। जब तपाईं किन गर्दै हुनुहुन्छ भन्ने बुझ्नुहुन्छ, तब सधैं राम्रो हुन्छ।’

यो बुझाइ जरैदेखि राखिएकाले स्पेनिश मिडफिल्डरहरूमा बल र वरिपरिको परिवेशप्रतिको स्वाभाविक अनुभव देखिनु अचम्मको कुरा होइन। मार्तिनेजका लागि यो पोजिसन अलग्गै सिकाउन मिल्दैन यसलाई खेलमार्फत मात्र बुझ्न सकिन्छ।

‘सेन्ट्रल मिडफिल्डरहरू टिमको मुटु हुन्। सबै कुरा उनीहरूमार्फत बग्छ,’ उनले भने। ‘त्यो बुझाइ निरन्तर अभ्यासबाट बन्छ,’ उनले भने,  ‘यदि तपाईं राम्रो पोजिसनमा हुनुहुन्छ भने ‘टच’ सुधरिन्छ, पासिङ राम्रो हुन्छ र ‘एक्जिक्युसन’ गतिलो बन्छ।’

यसरी हेर्दा मिडफिल्डमा नाम फेरिए पनि शैली र दबदबा उस्तै छ।

‘जो छिट्टै सोच्न, खेल्न वा खाली भएको खेलाडी खोज्न सक्दैन उ पछि पर्छ नै,’ उनले भने।