काठमाडौं। नेपाल क्रिकेट संघले महिला क्रिकेट टोलीले भुटानविरुद्धको खेलमा गरेको निर्णयलाई लिएर माफी मागेको छ।
एसीसी प्रिमियर कप अन्तर्गत बिहीबारको खेलमा भुटानी ब्याटरविरुद्ध ‘टाइम आउट’ दाबी गर्दै नेपालले विकेट लिएको थियो।
ब्याटर क्रिजमा आउन ढिला गरेपछि नियमको हिसाबले ‘टाइम आउट’ लिन मिल्छ। सन् २०२३ मा पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा बंगलादेशले यो अभ्यास गरेको थियो।
श्रीलंकाका एनगोल म्याथ्युज क्रिजमा आउन ढिला गर्दा बंगलादेशले अपिल गर्दै टाइमआउट दाबी गरेको थियो जसलाई अम्पायरले सदर गरे। त्यस्तै, २०२३ मै दोस्रो पटक घाना र सियरालिओनबीचको खेलमा ‘टाइम आउट’ लिइएको थियो।
नियमत गलत नभए पनि क्रिकेटमा ‘टाइम आउट’ लिनुलाई नैतिकरुपमा राम्रो मानिँदैन। नेपाली पुरुष टोलीले आयरल्याण्डविरुद्धको खेलमा आशिफ शेखले एउटा सहजै हुनसक्ने रन आउट समेत नलिँदा वाहवाही कमाएको थियो। तर, महिला टोलीले भने ‘टाइम आउट’ लिने तेस्रो टोली बन्दै खराब इतिहास बनाएको छ।
‘आजको खेलका क्रममा भुटानी ब्याटरलाई टाइम आउट गरी आउट गराइएको घटनाले नेपाल क्रिकेट संघ (क्यान)ले कायम राख्न खोजेको क्रिकेटको मूल्य-मान्यता र भावनालाई प्रतिनिधित्व गर्दैन,’ क्यानका सचिव पारख खड्काले भनेका छन्, ‘नेपाल क्रिकेट संघका तर्फबाट हामी यस विषयमा हाम्रो महिला राष्ट्रिय टोलीको कदमप्रति क्षमाप्रार्थी छौँ।’
उनले ‘टाइम आउट’ क्रिकेटको नियमभित्रै पर्ने भए पनि खेलको भावना लिखित नियमभन्दा माथि भएको बताएका छन्। उनले विज्ञप्तिमा एक विकासोन्मुख क्रिकेट राष्ट्रको रूपमा खेल भावना, आपसी सम्मान र निष्पक्ष खेललाई सबैभन्दा बढी महत्त्व दिने भन्दै यस घटनाले ती मापदण्ड पूरा गर्न नसकेकोमा खेद व्यक्त गरे। यो खेल नेपालले जितेको थियो।
‘हामी भुटान क्रिकेट, सम्बन्धित खेलाडी र सम्पूर्ण सरोकारवालासँग क्षमा याचना गर्दछौँ। क्यान मैदानभित्र र बाहिर दुवै ठाउँमा इमान्दारी र क्रिकेटको भावनाको उच्च मापदण्ड कायम राख्न दृढ रूपमा प्रतिबद्ध छ,’ खड्काले भने।











