विश्वकप फुटबल : ब्राजिल पाँचपटक च्याम्पियन बन्दा नेदरल्याण्ड्स अभागी, कुन देशले कहिले जिते?



बिजमाण्डू
२०८३ जेठ २१ गते १४:०९ | Jun 4, 2026
विश्वकप फुटबल : ब्राजिल पाँचपटक च्याम्पियन बन्दा नेदरल्याण्ड्स अभागी, कुन देशले कहिले जिते?

काठमाडौं। विश्वको सबैभन्दा चर्चित खेलको सबैभन्दा ठूलो स्टेज हो-फिफा विश्वकप। फिफा विश्वकप अरु प्रतियोगिताभन्दा बढी रुचाइन्छ। यही प्रतियोगिताले नामै नसुनिएका खेलाडीलाई रातारात चर्चित बनाउँछ। चर्चित खेलाडी र टिम आफ्नो मेहेनत र भाग्य दुबैको परख गर्न मैदानमा उत्रिन्छन्।

Tata
GBIME
Nepal Life

फिफा विश्वकपको पहिलो संस्करण १९३० मा १३ वटा देशले सहभागिता जनाएका थिए। उरुग्वेमा भएको प्रतियोगितामा अर्जेन्टिना, बेल्जियम, बोलिभिया, ब्राजिल, चिली, फ्रान्स, मेक्सिको, पाराग्वे, पेरु, रोमानिया, अमेरिका, उरुग्वे र युगोस्लाभियाले खेलेका थिए। अहिले सहभागी टोली ४८ पुगिसकेको छ।

विश्वकपको उद्‍घाटन प्रतियोगिता घरेलु मैदानमा उरुग्वेले जितेको थियो। सबैभन्दा पहिला दोहोर्‍याएर विश्वकप जित्ने टोली थियो इटली। तर, दुर्भाग्य यसपालि इटली विश्वकपमा छनोट हुन सकेन।

त्यस्तै, सबैभन्दा धेरै पटक विश्वकप जित्ने टोली हो ब्राजिल। उसले १९५८, १९६२, १९७०, १९९४ र २००२ मा विश्वकप जितेको थियो। हालसम्म सबै विश्वकपमा सहभागिता जनाएको टोली पनि ब्राजिल नै हो। उसले विश्वकपरमा सर्वाधिक २३७ गोल गरेको छ।

विश्वकपमा अभागी टोलीको चर्चा चल्दा सबैभन्दा अगाडि आउँछ नेदरल्याण्ड्स। उसले १९७४, १९७८ र २०१० को विश्वकप फाइनल खेलेर पनि उपाधि चुमेको छैन। त्यस्तै हंगेरी र चेकोस्लोभाकिया पनि दुईपटक फाइनल खेलेर उपाधिविहीन देश हुन्।

अहिलेसम्म कुन देश कतिपटक च्याम्पियन?

ब्राजिल – ५ पटक (१९५८, १९६२, १९७०, १९९४ र २००२)

जर्मनी – ४ पटक (१९५४, १९७४, १९९० र २०१४)

इटली – ४ पटक  (१९३४, १९३८, १९८२ र २००६)

अर्जेन्टिना – ३ पटक (१९७८, १९८६, २०२२)

फ्रान्स – २ पटक (१९९८ र २०१८)

उरुग्वे – २ पटक (१९३० र १९५०)

इङ्ग्ल्याण्ड – १ पटक (१९६६)

स्पेन – १ पटक (२०१०)