साफ च्याम्पियनसिपमा नेपालको असली परीक्षा आज, पूर्वविजेता बंगलादेशसँग सेमिफाइनलमा भिड्दै



बिजमाण्डू
२०८३ जेठ २० गते १२:०८ | Jun 3, 2026
साफ च्याम्पियनसिपमा नेपालको असली परीक्षा आज, पूर्वविजेता बंगलादेशसँग सेमिफाइनलमा भिड्दै
प्रीति राई।


काठमाडौं। नेपाली महिला फुटबल टोलीले बुधबार साफ च्याम्पियनसिपको सेमिफाइनल खेल्दैछ।

Tata
GBIME

भारतको गोवास्थित जवहारलाल नेहरु स्टेडियममा नेपालले फाइनल पुग्न पूर्व विजेता बंगलादेशसँग प्रतिस्पर्धा गर्न लागेको हो। खेल दिउँसो सवा ४ बजे सुरु हुनेछ।

समूह चरणमा नेपालले भुटान र श्रीलंकालाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो। अर्कोतर्फ भारतसँग हार ब्यहोरेर माल्दिभ्सलाई हराएको बंगलादेश उपविजेताका रुपमा सेमिफाइनल पुगेको थियो।

प्रतियोगिताबाट श्रीलंका र माल्दिभ्स बाहिरिसकेका छन्। बुधबार नै अर्को सेमिफाइनलमा भारत र भुटान भिड्नेछन्।

‘आएदेखि खेलमा सुधार हुँदै आएको छ। पहिलो खेलमा कमजोरी भएको दोस्रो खेलमा सुधार गरेका थियौँ। यी दुई खेलमा भने हामी सेमिफाइनलमा टफ फाइट खेल्नुपर्नेछ। खेलाडी तयार छ। प्रीतिको उपस्थितिले अझ बलियो हुनेछौँ,’ नेपाली टोलीका प्रशिक्षक नवीन न्यौपानेले भने।

उनले प्रीति आएपछि ‘बल सप्लाइ’मा सहज हुने भएकाले बंगलादेशविरुद्ध अझ बलियो भएर जाने बताए।

साफका पछिल्ला दुवै संस्करणको च्याम्पियन हो- बंगलादेश। यी दुवै संस्करणमा नेपाललाई नै निराश बनाउँदै बंगलादेश च्याम्पियन बनेको थियो। यसपाला भने भेट सेमिफाइनलमै हुँदा यीमध्ये एक टोलीले मात्र फाइनल खेल्नेछन्।

प्रशिक्षक न्यौपाने बंगलादेशले यसअघिका संस्करणमा जस्तो उम्दो प्रदर्शन नगरेकाले नेपाली टोली जितका लागि योग्य रहेको बताए।

‘विगतमा एएफसी छनोटको या विगतको बंगलादेश भन्दा यहाँ उसले जस्तो प्रदर्शन गरिरहेको छ, त्यो हिसाबले उसको प्रदर्शन अपेक्षाकृत छैन। भारतले पनि निकै डोमिनेट गरेर खेलेको थियो। फिजिकल्ली चाहिँ उनीहरू निकै बलियो छ। त्यसलाई नै आफ्नो हतियार बनाइरहेको छ। खेलाडीलाई त्यही हिसाबले गाइड गरिरहेको छु,’ उनले भने।

न्यौपानेले भनेजस्तो बंगलादेशले समूह चरणमा भारतसँग ३-० को हार ब्यहोरेको थियो भने भारतसँग झण्डै दर्जन गोल खाएको माल्दिभ्ससँग ४-२ गोलको प्रतिस्पर्धात्मक जित निकालेको थियो।

उसो त नेपालको लय पनि उस्तो लोभलाग्दो छैन। नेपालले भुटानलाई १-० गोलको साँघुर अन्तरले हराएको थियो भने श्रीलंकालाई २-० गोलअन्तरले हराएको थियो।