विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप २०२६ सुरु हुन अब करिब साता दिन बाँकी छ। अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्ने यो विश्वकप इतिहासकै सबैभन्दा ठूलो संस्करण बन्नेछ।
प्रतियोगितामा ४८ टोली सहभागी हुनेछन् र कुल १०४ खेल खेलिनेछन्। जुन १२ मा मेक्सिकोमा उद्घाटन खेलको सिट्ठी बजेसँगै विश्व फुटबलको नयाँ अध्याय सुरु हुनेछ। तर, यो प्रतियोगिता मैदानभित्रको खेलमा मात्र सीमित रहने छैन। यसले अर्बौं डलरको व्यापार, पर्यटन, प्रसारण र लगानीको प्रतिस्पर्धालाई पनि केन्द्रमा ल्याउनेछ।
फिफा विश्वकप विश्वकै सबैभन्दा धेरै हेरिने प्रतियोगितामध्ये एक हो। यही कारण विश्वभरका टेलिभिजन कम्पनी, विज्ञापनदाता र ठूला ब्रान्डहरू यससँग जोडिन चाहन्छन्।
फिफा केवल फुटबल संचालन गर्ने संस्था मात्र होइन। यो संसारकै धनी खेल संस्थामध्ये एक हो। फिफाले आफूलाई गैरनाफामूलक संस्था बताउँदै आएको छ। फिफाले विश्वकपबाट प्राप्त आम्दानी फुटबल विकास, प्रतियोगिता सञ्चालन र सदस्य राष्ट्रलाई सहयोग गर्न प्रयोग गरिने दाबी गर्दै आएको छ।
यसको अधिकांश कमाइ टेलिभिजन प्रसारण अधिकार, स्पोन्सरशिप र व्यावसायिक सम्झौताबाट आउने गर्छ।
फिफाका अनुसार २०२६ विश्वकपले विश्व अर्थतन्त्रमा ८० अर्ब डलरभन्दा बढी आर्थिक प्रभाव पार्न सक्छ। प्रतियोगिताका क्रममा ६५ लाखभन्दा बढी दर्शकको आवागमन हुने अनुमान गरिएको छ।
करोडौं मानिस प्रत्यक्ष रंगशाला, टेलिभिजन र डिजिटल माध्यममार्फत प्रतियोगितासँग जोडिने अपेक्षा गरिएको छ। सन् २०२३ देखि २०२६ सम्मको ४ वर्षे चक्रमा फिफाको कुल आम्दानी ११ अर्ब डलरसम्म पुग्न सक्ने प्रक्षेपण गरिएको छ।

अमेरिकामा मात्रै विश्वकपले ३० अर्ब डलरभन्दा बढी आर्थिक गतिविधि सिर्जना गर्ने अनुमान छ। यसबाट पर्यटन, होटल, यातायात, खाद्य उद्योग, विज्ञापन तथा खुद्रा व्यापार क्षेत्रले प्रत्यक्ष लाभ पाउने अपेक्षा गरिएको छ।
विश्वकपमा फिफाका तीन मुख्य आम्दानी स्रोत
फिफाले चार वर्षलाई आधार बनाएर आर्थिक योजना बनाउँछ। विश्वकप हुने वर्षमा उसको आम्दानी अत्यधिक बढ्ने गर्छ।
फिफाको सबैभन्दा ठूलो आम्दानी प्रसारण अधिकारबाट आउँछ। विश्वकप प्रसारण गर्न विभिन्न देशका टेलिभिजन नेटवर्क र डिजिटल स्ट्रिमिङ कम्पनीहरूले ठूलो रकम तिर्छन्।
विश्वभर अरबौं दर्शकले प्रतियोगिता हेर्ने भएकाले प्रसारण अधिकारको मूल्य अत्यन्त महँगो हुने गर्छ। नेपालमा यसपटक हिमालयन टेलिभिजनले प्रत्यक्ष प्रसारण अधिकार प्राप्त गरेको छ। चीन र भारतमा भने फिफाले मागेको शुल्कका कारण प्रत्यक्ष प्रसारणबारे अझै अन्योल रहेको बताइएको छ।
विश्वकप हेर्ने दर्शक संख्या अरबौंमा पुग्ने भएकाले प्रसारण अधिकारको मूल्य अत्यन्त महँगो हुन्छ।
फिफाको दोस्रो ठूलो आम्दानीको स्रोत प्रायोजन हो। विश्वका ठूला कम्पनीहरू आफ्नो ब्रान्ड विश्वकपसँग जोड्न चाहन्छन्। त्यसका लागि उनीहरूले करोडौं डलर खर्च गरेर आधिकारिक साझेदार वा प्रायोजक बन्ने गर्छन्।
त्यसको बदलामा उनीहरूले विश्वकपको लोगो प्रयोग गर्न, रंगशालामा विज्ञापन राख्न र विश्वव्यापी प्रचार गर्न पाउँछन्। कोका-कोला, एडिडास र भिसा जस्ता कम्पनीहरू लामो समयदेखि फिफाका प्रमुख साझेदारका रूपमा रहेका छन्।
टिकट बिक्री पनि फिफाको अर्को महत्त्वपूर्ण आम्दानीको स्रोत हो। लाखौं समर्थक विश्वकप हेर्न विभिन्न देशबाट आयोजक मुलुक पुग्नेछन्। त्यस्तै, विशेष सुविधा, उत्कृष्ट सिट, होटल र भोजनसहितका हस्पिटालिटी प्याकेजबाट पनि फिफाले ठूलो रकम कमाउनेछ।
यीबाहेक फिफाले लाइन्सेन्स बेचेर पनि आम्दानी गर्ने गर्छ। फिफाले आफ्नो लोगो, विश्वकपको नाम, आधिकारिक प्रतीक र अन्य बौद्धिक सम्पत्तिको प्रयोग अधिकार पनि बिक्री गर्छ।
खेलकुद सामग्री, भिडियो गेम, जर्सी, बल तथा अन्य उत्पादन बनाउने कम्पनीहरूले फिफाबाट अनुमति लिएर व्यापार गर्छन्। यसबाट पनि फिफाले रोयल्टी आम्दानी गर्छ।
फिफाले कमाएको पैसा कहाँ खर्च गर्छ?
फिफा आफूलाई गैरनाफामूलक संस्था भन्छ। संस्थाका अनुसार कमाएको रकम विभिन्न सदस्य राष्ट्रलाई सहयोग, फुटबल पूर्वाधार निर्माण, प्रशिक्षण कार्यक्रम र प्रतियोगिता सञ्चालनमा लगानी गरिन्छ।
विश्वभर फुटबल विकासका लागि आर्थिक सहायता दिने कार्यक्रम पनि फिफाले सञ्चालन गर्दै आएको छ।
विश्वकप आयोजना गर्दा आयोजक देशले ठूलो लगानी गर्नुपर्छ। तर, फिफाले तुलनात्मक रूपमा कम लगानी गर्छ। धेरैजसो खर्च रंगशाला, यातायात, सुरक्षा र अन्य पूर्वाधार निर्माणमा आयोजक राष्ट्रले नै व्यहोर्छन्।
फिफाले भने कर छुटको सुविधा पनि पाउने गरेको छ। संस्थाको प्रमुख खर्च पुरस्कार रकममा केन्द्रित हुन्छ। सन् २०२२ को कतार विश्वकपमा कुल ४४ करोड डलर पुरस्कार वितरण गरिएको थियो।
कतार विश्वकप विश्वकप इतिहासकै सबैभन्दा महँगो संस्करण बनेको थियो। सुरुमा २० अर्ब डलर खर्च हुने अनुमान गरिए पनि अन्तिम खर्च २२० अर्ब डलरसम्म पुगेको थियो। कतारले विश्वकपलाई आफ्नो दीर्घकालीन विकास योजनासँग जोड्यो।
उसले आधुनिक मेट्रो प्रणाली निर्माण गर्यो, विमानस्थल विस्तार गर्यो, नयाँ होटल बनायो र आठ वटा विश्वकप लक्षित रंगशाला निर्माण गर्यो। तीमध्ये धेरै संरचना अहिले पनि प्रयोग भइरहेका छन्।
यसपटक तीन देशले संयुक्त रूपमा आयोजना गर्ने भएकाले कतारजस्तो ठूलो पूर्वाधार लगानी आवश्यक पर्ने छैन। धेरै रंगशाला र सुविधा पहिले नै उपलब्ध छन्।
यो विश्वकप आयोजकलाई ४०.०९ अर्ब जिडिपीमा योगदान मिल्ने बताइएको छ। यसमा अमेरिकालाई पर्ने १७ अर्ब जिडीपीले उसको कूल जिडीपीमा ०.१ प्रतिशतमात्र योगदान दिने भएकाले यो नगण्य हुने इन्भेस्टमेन्ट एनालिस्टको दाबी छ। यसकारण अमेरिकाका लागि यो गेमचेन्जर नबन्न सक्छ।
तर, मेक्सिकोको अर्थतन्त्रका लागि भने यो ठूलो प्रभाव हुन सक्छ। विश्वकपबाट उसलाई ०.२ देखि ०.५ प्रतिशतसम्म जिडीपीमा बुस्ट मिल्न सक्ने आँकलन छ। क्यानडाको सन्दर्भमा भने सुरक्षा र सरकारी खर्चका कारण यो इस्टमेट यति नै हुने भनेर अनुमान गर्न नसकिने बताइएको छ।
यो विश्वकपले खासगरी होटल र पर्यटन, मिडिया र स्ट्रिमिङ, स्पोर्टस बेटिङ, पेय पदार्थ, भिडियो गेम र खेलसामग्रीको उत्पादकलाई ठूलो फाइदा दिनसक्ने बताइएको छ।
पछिल्ला ५ विश्वकपको प्याटर्न हेर्दा विश्वकपका लागि इस्टिमेट गरिएको भन्दा धेरै खर्च हुँदै आएको छ।

विश्लेषकहरूका अनुसार विश्वकपले आयोजक राष्ट्रहरूको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने गरेको छ। अन्तर्राष्ट्रिय मुद्रा कोषको तथ्यांकअनुसार फ्रान्सले १९९८ को विश्वकप आयोजना गर्दा उसको कुल गार्हस्थ उत्पादनमा ०.२० प्रतिशत प्रभाव परेको थियो।
जर्मनीमा २००६ मा ०.३० प्रतिशत र दक्षिण अफ्रिकामा २०१० मा ०.५० प्रतिशत प्रभाव देखिएको थियो। ब्राजिलमा २०१४ मा भने ०.२ प्रतिशत नकारात्मक प्रभाव परेको थियो। रसियामा २०१८ मा ०.०५ प्रतिशत र कतारमा २०२२ मा १ प्रतिशत प्रभाव परेको तथ्यांकले देखाउँछ।

नाफा सबै फिफाले पाए किन लगानी गर्छन् देश?
यसरी हेर्दा विश्वकपमा लगानी जति आयोजक देशको र आम्दानी जति फिफाको हुने देखिन्छ। किनभने टिभी राइटस्, टिकेटिङ र स्पोन्सरको पैसा फिफाले नै राख्छ र यसमाथि कर पनि छुट पाउँछ। यसका बावजुद देशहरू विश्वकप आयोजनाका लागि लालायित हुने गर्छन्। यसका पछाडि केही महत्त्व पूर्ण कारणहरू छन्।
पहिलो दीर्घकालीन कारण हो – सफ्ट पावर बन्ने होड। देशहरू आफ्नो देशको ब्राण्डिङ र सफ्ट पावर बन्ने महत्त्वकांक्षा राखेका हुन्छन् विश्वकप आयोजनाका पछाडि।
त्यसबाहेक विश्वकपको बेलमा संरचनाहरू बनाएर दीर्घकालीन प्रयोगमा ल्याउने गर्छन्। यसका तत्कालीन फाइदाहरू छन्। यसमा पहिलो पर्यटन हो। कतार विश्वकपमा १४ लाख समर्थक फुटबलका लागि पुगेका थिए। उनीहरूले टिकट बाहेक पनि राम्रै खर्च गरेका हुन्छन्। यातायात, होटल लगायतको क्षेत्रमा एकैपटक बुस्ट गर्ने अवसर आयोजक देशलाई हुन्छ। यसको पनि तत्कालीन फाइदा हुन्छ।
अर्को भने स्थिरता र समृद्धि देखाएर विदेशी लगानी ल्याउन विश्वकप आयोजनाले भूमिका खेल्छ।
तर, विश्वकपले सधैं फाइदा मात्र दिने गरेको छैन। ब्राजिल र दक्षिण अफ्रिकामा विश्वकपका लागि बनाइएका केही रंगशाला र संरचनाहरू पछि प्रयोगमा आउन सकेनन्। तिनको मर्मतसम्भार खर्च राज्यका लागि बोझ बनेको थियो।
यस्ता संरचनालाई ‘सेतो हात्ती’को संज्ञा समेत दिइएको थियो। यही कारण पछिल्ला वर्षहरूमा विश्वकप र युरोकपजस्ता ठूला प्रतियोगिता एकभन्दा बढी देशले संयुक्त रूपमा आयोजना गर्ने प्रवृत्ति बढ्दै गएको छ।










