काठमाडौं। नेपाली महिला फुटबल टोलीले साफ महिला च्याम्पियनसीपको सेमिफाइनलमा पुगेको छ। भारतको गोवामा आज सम्पन्न खेलमा श्रीलंकालाई २-० गोलले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो।
प्रतियोगितामा कमजोर टोलीमध्येमा लिइएको श्रीलंकामाथि नेपालले पहिलो हाफमा इन्ज्युरी समयमा रश्मीकुमारी घिसिङको गोलमा गोलको अग्रता बनाएको थियो। दोस्रो हाफमा अग्रता दोब्बर बनाउँदै जित सुनिश्चित गरेको हो। खेलको ६० औँ मिनेटमा कप्तानी आर्मब्याण्ड लगाएकी रेनुका नगरकोटेले गोल गर्दै जित सुनिश्चित गरिन्।
योसँगै समूह ‘ए’बाट नेपाल विजेता र भुटान उपविजेता बन्दै सेमिफाइनलमा पुग्दा श्रीलंका बाहिरिएको छ। अर्कोतर्फ समूह ‘बी’बाट बलियो दाबेदारी भारत र बंगलादेशको छ। नेपालको विपक्षी यी दुई टोलीमध्ये एक हुनेछन्।
नेपाललाई अब सबैभन्दा ठूलो चुनौती सेमिफाइनल र फाइनलमा हुनेछ। पहिलो खेलमा औशत टोली भुटानलाई हराउनै निक्कै मुस्किल परेको नेपालका सामू साफका पूर्व च्याम्पियन बंगलादेश र भारत जस्ता टोलीलाई हराउनु पर्ने हुनेछ।










