भुर्तेलको शतक, पौडेल र मल्लको अर्धशतकमा चीनमाथि नेपालको भारी जित



बिजमाण्डू
२०८३ जेठ १७ गते १०:५७ | May 31, 2026
भुर्तेलको शतक, पौडेल र मल्लको अर्धशतकमा चीनमाथि नेपालको भारी जित
चीनविरुद्ध भुर्तेलको ब्याटिङ। तस्बिर: क्यान


काठमाडौं। नेपाली क्रिकेट टोलीले चीनलाई हराएको छ। एसियन गेम्स छनोट अन्तर्गतको आफ्नो पहिलो खेलमै नेपालले चीनमाथि २२१ रनको भारी जित निकालेको हो।

Tata
GBIME

सिंगापुर राष्ट्रिय रंगशालामा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै ३१३ रनको विशाल स्कोर खडा गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको चीन १९.२ ओभरमा ९२ रन बनाएर अलआउट भयो। आजैको खेलबाट चीनका पाँच जना खेलाडीले टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए।

नेपालविरुद्ध चीनका सेनजिहान जेहाङले सर्वाधिक ३१ रन बनाउँदा डु जिआनहाओले १७ तथा कप्तान टिआन सेनक्वेनले १२ रनको योगदान दिए। चीनको ब्याटिङ धराशायी बनाउन नेपालका कुशल मल्लले ३ विकेट लिँदा सन्दीप लामिछाने र सोमपाल कामीले समान २ तथा नन्दन यादवले १ विकेट लिए।

नेपालको कीर्तिमानी इनिङ्स

त्यसअघि ब्याटिङ गरेको नेपालका लागि कुशल भुर्तेलको इनिङ्स महत्वपूर्ण बन्यो। उनले ४३ बलमा ५ चौका र १६ छक्काको सहायतामा १२९ रन बनाए। यसक्रममा उनले नवौँ ओभरको सबै बलमा छक्का प्रहार गरे। उनीअघि दीपेन्द्रसिंह ऐरीले कतारविरुद्ध यस्तो दुर्लभ कीर्तिमान बनाएका थिए।

अर्का ओपनर आशिफ शेखले ११ रन बनाउँदा कुशल मल्ल र रोहित पौडेलले अर्धशतकीय इनिङस् खेले। मल्लले ४७ बलमा ८ चौका ५ छक्काको सहायतामा अविजित ८५ रन बनाए। त्यस्तै, रोहितले २१ बलमा ५ चौका र ७ छक्काको सहायतामा अविजित ६९ रन बनाउँदै आफ्नो ब्याट खोले। पछिल्लो समय स्लो इनिङ्स खेलेको भन्दै आलोचनाको केन्द्रमा रहेका उनले चीनविरुद्ध भने बाउन्ड्रीमा प्रभाव जमाउन सफल भए।

बलिङमा चीनका मा क्विनचेङ र डेङ जिङक्वीले समान १ विकेट लिए।

योसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावान प्रबल बनेको छ। अर्को खेलमा नेपालले मलेसियासँग बिहीबार खेल्नेछ।