आईपीएल : सूर्यवंशीको प्रभावशाली ब्याटिङमा राजस्थान क्वालिफायरमा, बाहिरियो हैदराबाद



बिजमाण्डू
२०८३ जेठ १३ गते २३:४२ | May 27, 2026
आईपीएल : सूर्यवंशीको प्रभावशाली ब्याटिङमा राजस्थान क्वालिफायरमा, बाहिरियो हैदराबाद
वैभव सूर्यवंशी। तस्बिर: आईपीएल


राजस्थान रोयल्स इण्डियन प्रिमियर लिग (आईपीएल)को दोस्रो क्वालिफायरमा पुगेको छ। आज सम्पन्न इलिमिनेटरको खेलमा सनराइजर्स हैदराबादलाई ४७ रनले हराउँदै राजस्थानले क्वालिफायरमा स्थान बनाएको हो। राजस्थानले अब फाइनल पुग्न गुजरात टाइटन्ससँग प्रतिस्पर्धा गर्नेछ।

Tata
GBIME

चण्डीगढस्थित महाराजा युजवेन्द्रसिंह स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २४३ रनको विशाल स्कोर खडा गर्‍यो। यसक्रममा प्रभावशाली बलिङ गरेका ओपनर वैभव सूर्यवंशीले २९ बलमा ५ चौका र १२ छक्काको सहायतामा ९७ रनको योगदान दिए। त्यस्तै, ध्रुब जुरेलले ५० रन बनाउँदा यशस्वी जैसवालले २९ तथा कप्तान रियान परागले २६ रन बनाए।

बलिङमा हैदराबादका प्रफुल हिंगेले ३ विकेट लिँदा इशन मालिंगा, शिवांग कुमार र नितिशकुमार रेड्डीले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको हैदराबादले १९.२ ओभरमा अलआउट हुँदै १९६ रनमा समेटियो।

पहिलो ओभरबाटै विकेट गुमाउन सुरु गरेको हैदराबादले विशाल लक्ष्यका सामू सम्हालिनै सकेन। उसका लागि नितिश कुमार रेड्डीले सर्वाधिक ३८ रन बनाउँदा साहिल अरोराले ३५ तथा इशान किसनले ३३ रन बनाए।

बलिङमा जोफ्रा आर्चरले ३ विकेट लिँदा नान्द्रे बर्गर, शुसान्त मिश्र र रवीन्द्र जडेजाले समान २ विकेट लिँदा यसराज पुञ्जाले १ विकेट लिए।

योसँगै राजस्थानले गुजरातसँग भेट पक्का गर्दा हैदराबाद इलिमिनेटरबाटै बाहिरिएको छ। रोयल च्यालेन्जर्स बेङ्ग्लुरुले भने यसअघि नै फाइनलमा स्थान बनाइसकेको छ।