काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष स्थानीय पूर्वाधार विकास विभागमार्फत ७०० वटा पुल र ५०० वटा सडकका नयाँ योजना कार्यान्वयन गर्ने भएको छ।
पूर्वाधार विकास मन्त्रालयले विभागमार्फत कार्यान्वयन गर्ने गरी पुलका ७०० वटा र सडकका ५०० वटा नयाँ योजना बजेटमा समावेश गर्ने पक्का भएको छ। मन्त्रालय स्रोतका अनुसार प्रत्यक्ष निर्वाचित सांसदको सिफारिसमा पुल र सडकका योजना बजेटमा राख्न लागिएको हो।
पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सांसदहरुसँग ३ वटा पुल र ३ वटा सडक योजना मागेका थिए। उनले सांसदहरुलाई राजमार्गलाई जोड्ने गरी सडक र पुलका योजना प्रस्ताव गर्न भनेका थिए।
सांसदको सिफारिस बाहेकका सडक र पुल राख्दा विभागमार्फत कार्यान्वयन गरिने योजनाको संख्या १२०० पुगेको स्रोतले बतायो। स्थानीय तहलाई राजमार्गसँग जोड्ने रणनीतिक सडक र पुलका योजना धेरै छन्।
स्रोतका अनुसार एक सांसदका योजनामा ३० करोड रुपैयाँसम्म बजेट छुट्याइएको छ।










