रोयल च्यालेन्जर्स बेङ्ग्लुरु इण्डियन प्रिमियर लिगको फाइनलमा पुगेको छ। गएराति सम्पन्न पहिलो क्वालिफायरलको खेलमा गुजरात टाइटन्समाथि ९२ रनको फराकिलो जित निकाल्दै बेङ्ग्लुरुले फाइनलको यात्रा तय गरेको हो।
धर्मसाला स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको बेङ्ग्लुरुले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २५४ रनको विशाल स्कोर बनायो। उसका लागि कप्तान रजत पतिदारले ३३ बलमा ५ चौका र ९ छक्काको सहायतामा अविजित ९३ रनको इनिङ्स खेले। त्यस्तै, विराट कोहली र क्रुणाली पाण्ड्याले समान ४३ रन बनाउँदा देवदत्त पार्डिकलले ३० रन बनाए। बलिङमा गुजरातका कागिसो रबाडा र जेसन होल्डरले समान २ विकेट लिँदा प्रसिद कृष्णाले १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको गुजरात १९.३ ओभरमा १६२ रनमा समेटियो। उसका लागि राहुल तेवातियाले सर्वाधिक ६८ रन बनाउँदा जोस बटलरले १९ तथा साइ सुदर्शनले १४ रन बनाए। बलिङमा बेङ्ग्लुरुका जेकोब डफ्फीले ३ विकेट लिँदा भुवनेश्वर कुमार, रसिक सलिम र क्रुणाल पाण्ड्याले समान २ तथा जोस हेजलवुडले १ विकेट लिए।
जितसँगै बेङ्ग्लुरु फाइनल पुग्दा गुजरातसँग अझै अर्को अवसर हुनेछ। उसले अब दोस्रो क्वालिफायर खेलेर फाइनल पुग्ने बाटो बाँकी छ।
लिगको इलिमिनेटरमा आज राजस्थान रोयल्स र सनराइजर्स हैदराबाद भिड्दैछन्। यी मध्ये पराजित हुने टोली बाहिरिनेछन् भने विजयी टोलीले दोस्रो क्वालिफायरमा गुजरातसँग प्रतिस्पर्धा गर्नेछन्।










