काठमाडौं। अनलाइन प्रणालीमा कमजोरी देखाउँदै घरजग्गा रोक्का/फुकुवामा भूमि प्रशासन कार्यालयहरुले ढिलासुस्ती गर्न थालेपछि भूमि व्यवस्थापन तथा अभिलेख विभागले परिपत्र गरेको छ। विभागले बैंकसँग आवश्यक सहजीकरण गर्न भन्दै देशभरका भूमि प्रशासन कार्यालयलाई परिपत्र गरेको हो।
सहकारीबाहेक सबै बैंकहरुबाट जेठ १ बाट घरजग्गा रोक्का फुकुवा अनलाइनबाटै हुन थालेसँगै घरजग्गा व्यवसायी र सेवाग्राही खुसी भएकामा एकैदिन हुनुपर्ने काममा प्रणालीमा समस्याका कारण बैंकहरुले हैरानी खेपेपछि नेपाल बैंकर्स संघले आवश्यक सहजीकरण गर्न विभागलाई अनुरोध गरेको थियो।
बैंकर्स संघको पत्रको जवाफमा विभागले भूमि प्रशासन कार्यालयहरुलाई सर्कुलर जारी गरेको हो। ‘बैंक तथा वित्तीय संस्थाबाट हुने धितो बन्धकी रोक्का फुकुवा सम्बन्धी कारोबार अनलाइनमार्फत गर्ने सिलसिलामा नेपाल बैंकर्स संघबाट आवश्यक सहजीकरणका लागि लिखित रुपमा प्राप्त भएको पत्र तथा अन्य बैंक वित्तीय संस्थाले धितोबन्धक लिखत तथा फुकुवा अनलाइनमार्फत कार्यालयमा पेस गर्दा उत्पन्न भएका समस्याहरुको सम्बन्धमा तहाँ कार्यालयहरुबाट तपसिल अनुसार सहजीकरण गर्ने गराउने व्यवस्थाका लागि यस विभागको मिति २०८३/०२/०८ गतेको निर्णयानुसार अनुरोध छ,’ विभागले परिपत्रमा भनेको छ।
भूमि प्रशासन अधिकृतले दु:ख दिने नियतले सिस्टममा खराबी भएको भन्दै कामबाट पन्छिने प्रवृत्ति देखिन थालेको बैंकरहरुको गुनासो छ।
घरजग्गा रोक्का फुकुवामा अनलाइन सिस्टमले नधान्ने, सम्बन्धित कागजात नभेट्ने, एकाउन्ट खोल्दा समस्या देखिने, सम्बन्धित शाखाबाट काम नबन्दा सेवाग्राही अर्को शाखामा धाउनुपर्नेजस्ता समस्या देखिएका छन्।
विभागले अहिले प्रत्येक बैंकलाई १५० भन्दा बढी युजर आइडी दिएको छैन। यसैगरी विभागले भूसेवाको युजर म्यानुअल नबनाउँदा बैंकहरु अलमलमा पर्न थालेका छन्।
यी विषय सम्बोधन गर्न विभागले ९ बुँदे परिपत्र जारी गरेको छ। जसमा थप/पुन: धितो बन्धक पारित, आंशिक फुकुवा, रोक्का रहेको जग्गामा घर कायम गर्ने, रोक्का रहेको धितो सम्पत्ति फुकुवा, धितोबन्धकीको सम्बन्धमा पेस गरेको लिखतको ढाँचा, रोक्का फुकुवा ढिलासुस्ती र अनलाइनबाट भएको शुल्क भुक्तानीबारे आवश्यक सहजीकरण गर्न भनिएको छ।
भूमि प्रशासनले रोक्का फुकुवाबारे जानकारी सकेसम्म एकैदिन नभए भोलिपल्टसम्म गराउने व्यवस्था गर्नसमेत भनिएको छ।
‘निर्देशिकाको दफा ३९२ को उपदफा (४) को खण्ड (ड) मा प्राप्त हुन आएका रोक्का तथा फुकुवा सम्बन्धी विवरणलाई कार्यालयले पहिलो प्राथमिकतामा राखी रूजु तथा पारित गरिदिनुपर्छ भन्ने व्यवस्था रहेकोले बैंक वित्तीय संस्थाबाट पेस भएको रोक्का तथा फुकुवा लिखत/निवेदन १२ बजे अगाडि पेस भएकामा सोही दिन र १२ बजे पछाडि पेस भएको हकमा सम्भव भएसम्म सोही दिन सम्भव नभए भोलिपल्ट कार्यालय खुलेको दिन बिहान १२ बजे अगाडि नै जानकारी दिने व्यवस्था गर्ने गराउने,’ परिपत्रमा भनिएको छ।
त्यसैगरी बैंकबाट भएको धितोबन्धकी लिखतको तामेली व्यवस्थापनमा अपलोड गरी राख्नसमेत भूमि प्रशासन कार्यालयलाई निर्देशन दिइएको छ।










