म्याच फिक्सिङ हटेपछि सेबोन अध्यक्षमा चार दर्जन आकांक्षी, दुई पूर्वडेपुटी गभर्नरको आवेदन, अरु को-को?



सुनिल कुँवर
२०८३ बैशाख २१ गते १९:३४ | May 4, 2026
म्याच फिक्सिङ हटेपछि सेबोन अध्यक्षमा चार दर्जन आकांक्षी, दुई पूर्वडेपुटी गभर्नरको आवेदन, अरु को-को?


काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षका लागि चार दर्जन आकांक्षीले आवेदन दिएका छन्। नियामकीय निकायकै इतिहासमा यति धेरै आकांक्षीले प्रतिस्पर्धाका लागि आवेदन दिएका हुन्।

Tata
GBIME

विगतमा म्याच फिक्सिङ गरेर आवेदन खुलाउँदा नियमितबाहेक नयाँ दुई/चार जनाले मात्र सेबोन लगायत नियामक निकायमा आवेदन बुझाउने गरेका थिए।

केही वर्षयता उम्मेदवार पहिले नै तय गरेर आवेदन खुला गर्ने गरिएको थियो। त्यसैले ‘जहाँ खुल्दा पनि आवेदन दिने’ नियमित आवेदकबाहेक ४ जना हाराहारी नयाँले मात्र बुझाउने गरेका थिए। स्वार्थ समूहले पैसा बुझाएका आधारमा नियुक्ति दिने गरिएको थियो।

केही वर्षअघिसम्म राजनीतिक आस्था र विज्ञतालाई आधार बनाएर नियुक्ति गरिने सेबोनको अध्यक्षमा पछिल्लो समय करोडौंको बोलकबोल हुन थालेको थियो। सेबोन अध्यक्षकै लागि सरकार समेत परिवर्तन भएकाले यसलाई शक्तिशाली पदका रुपमा लिन थालिएको थियो।

बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार बनेपछि र काविल अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले अर्थमन्त्रीको बागडोर सम्हालेका बेला विज्ञापन खुलाइँदा चार दर्जनको आवेदन परेको छ।

प्रतिस्पर्धाका आधारमा अध्यक्ष नियुक्ति हुने भएकाले बैंकर, सीए, राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नरसम्मले आवेदन दिएका छन्। आवेदन दिनेमा युवाको उल्लेख्य सहभागिता छ। सम्पत्ति शुद्धीकरणमा मुद्दा चल्ने भएपछि यसअघिका अध्यक्ष सन्तोषनारायण श्रैष्ठले वैशाख ४ गते राजीनामा दिएपछि खुलाइएको विज्ञापनमा ४७ जनाले आवेदन दिएका छन्।

योग्य र क्षमतावानहरुले अवसर पाउने सम्भावना बढेको र बिचौलियामुक्त नियुक्ति हुन लागेकाले पनि आवेदन दिनेहरु ह्वात्तै बढेका हुन्।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट नेतृत्वको सिफारिस समितिमा अर्थ सचिव घनश्याम उपाध्याय पदेन सदस्य छन् भने विज्ञ सदस्यमा पूर्वबैंकर भुवन दहाल छन्। भट्ट र दहाल आर्थिक क्षेत्रमा सरोकार राख्नेहरुमाझ स्वच्छ छवि भएका व्यक्तिका रुपमा चिनिन्छन्।

सेबोन अध्यक्षका लागि नेपाल राष्ट्र बैंकका बहालवाला कर्मचारीदेखि चार्टर्ड एकाउन्टेन्टसम्मले आवेदन दिएका छन्। राष्ट्र बैंकका बहालवाला ४ कर्मचारीको आवेदन परेको छ।

राष्ट्र बैंक सुपरिवेक्षण विभागका निर्देशक सुवास चन्द्र घिमिरेले आवेदन दिएका छन्। त्यस्तै, राष्ट्र बैंककै कामु निर्देशक प्रल्हाद गिरीले पनि आवेदन दिएका छन्।

राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर बमबहादुर मिश्र र चिन्तामणि शिवाकोटी, अध्यादेशका कारण सेबोनको सञ्चालकबाट पदमुक्त भएका पिताम्बर भण्डारी, सेबोनको कार्यकारी निर्देशकबाट अवकाश पाएका डा. नवराज अधिकारी, सिन्धु विकास बैंकका पूर्वसीइओ सुरेश देवकोटा र रिलायन्स लाइफ इन्स्योरेन्सका डीसीइओ राकेश पोखरेलले आवेदन दिएका छन्।

ऐनमा सेबोन अध्यक्षका लागि स्नातकोत्तर हासिल गरेर धितोपत्र बजार व्यवस्थापन, पुँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा सात वर्षको अनुभव हुनुपर्ने योग्यता तोकिएको छ।

भट्ट नेतृत्वको सिफारिस समितिले फास्ट ट्र्याकबाट सेबोन अध्यक्षको नाम सिफारिस गर्न लागेको छ। समितिले आवेदन दिएका बाहिरबाट समेत अध्यक्ष छनोटका लागि ट्यालेन्ट हन्ट गर्न सक्नेछ। समितिले ६ दिन अवधि दिएर वैशाख १५ गते आवेदन आह्वान गरेको थियो।

सेबोन अध्यक्षबाट सन्तोषनारायणले वैशाख ४ गते राजीनामा दिएपछि ८ गते बसेको मन्त्रिपरिषद् बैठकले तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो।

बिचौलिया दीपक भट्टको चाहनामा अध्यक्ष बनेका सन्तोषनारायण आइपीओ अनुमतिका लागि कमिसन उठाउने डिल लगायत धेरैवटा विवादमा मुछिएका थिए।

उनलाई नियुक्ति दिलाउन मुख्य भूमिका निर्वाह गरेका भट्ट हाल सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि प्रहरी हिरासतमा छन्। भट्टसँगको कारोबारमा जोडिएका कारण सन्तोषनारायणले १७ महिनामै राजीनामा दिएका हुन्।

त्यसअघिका अध्यक्ष रमेश कुमार हमाल पनि विवादबाट टाढा रहन सकेनन्। उनीमाथि प्रिमियममा आइपीओ अनुमति दिंदा आर्थिक चलखेल गरेको आरोप छ। यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ।

त्यसअघिका अध्यक्ष भीष्मराज ढुंगाना सेयरमा गरेको चलखेलका कारण बर्खास्तगीमा परेका थिए।