काठमाडौं। काठमाडौं उपत्यकाका बागमती तथा सहायक नदी किनारामा रहेका अतिक्रमित बस्ती हटाउने कार्य शनिबार पनि जारी छ। संघीय सरकार र काठमाडौं महानगरपालिकाको संयोजनमा शनिबार कामपा-१६ बालाजुस्थित विष्णुमति नदी र धोबीखोला नदी किनारामा रहेका घरटहरा हटाइँदैछ।
सो क्रममा माछापोखरीको श्रीउर्गेन गुम्बासँगै स्कुल र अन्य खोला करिडोर आसपासका अतिक्रमित जग्गाहरूमा बनेको संरचनामा डोजर चलेका छन्। कामपा-१५ स्वयम्भू क्षेत्रका अतिक्रमित घरटहरा हटाउने कार्य जारी छ।


सरकारले शुक्रबार बल्खु र कालिमाटी क्षेत्रमा नदी किनारमा रहेको जोखिमयुक्त वस्ती हटाएको थियो। हालसम्म काठमाडौं उपत्यकामा सरकारी, सार्वजनिक र निजी जग्गा अतिक्रमित गरी अवैधरूपमा निर्माण गरिएका करिब २ हजार घरटहरा हटाइएको छ।


बस्ती हटाउने क्रममा प्रभावित परिवारलाई ‘होल्डिङ सेन्टर’ मा पठाइएको छ। सहरी विकास मन्त्रालयका आधिकारीहरूले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भूमिहीन परिवारको लगत संकलन गरिरहेका छन्।















