काठमाडौं। सेयर कारोबारबाट सरकारले चालु आर्थिक वर्ष ९ महिनामा ८ अर्ब १७ करोड ६५ लाख रुपैयाँ पुँजीगत लाभाकर प्राप्त गरेको छ।
सरकारले यो आर्थिक वर्ष चैतसम्म सेयर बजारबाट गरेको आम्दानी पोहोर सोही अवधिको तुलनामा ३६.४३ प्रतिशत कम हो।
गत वर्ष चैतसम्म सरकारले सेयर बजारबाट १२ अर्ब ८६ करोड रुपैयाँ पुँजीगत लाभकर प्राप्त गरेको थियो। यसपालि चैतमा सरकारले १ अर्ब ७३ करोड रुपैयाँ पुँजगत लाभकर प्राप्त भएको छ। यो रकम पोहोर चैतको तुलनामा १५०.२८ प्रतिशत धेरै हो।
फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनपछि चैत दोस्रो सातासम्म सेयर बजार उकालो लागेको थियो। बजार बढ्दा सेयर कारोबार बापत सरकारले पाउने पुँजीगत लाभकर पनि बढेको हो।
सेयर बजारबाट यो वर्ष साउनमा २ अर्ब १५ करोड ७५ लाख, भदौमा ६० करोड १४ लाख, असोजमा २४ करोड ३९ लाख, कात्तिकमा ३८ करोड, मंसिरमा ६२ करोड ९८ लाख, पुसमा ५८ करोड ४३ लाख, माघमा १ अर्ब २९ करोड र फागुनमा ५५ करोड १५ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन भएको तथ्यांक छ।
दुई आर्थिक वर्षको ९ महिनामा सेयर कारोबारबापत सरकारलाई प्राप्त पुँजीगत लाभकर लाखमा
| महिना | २०८२/८३ | २०८१/८२ | फरक |
| साउन | २१५७५ | ४२३७८ | -४९.०९ |
| भदौ | ६०१४ | २५७९४ | -७६.६८ |
| असोज | २४३९ | ५८६५ | -५८.४१ |
| कात्तिक | ३८०५ | ७५८७ | -४९.८५ |
| मंसिर | ६२९८ | १०४०० | -३९.४४ |
| पुस | ५८४३ | ५८०० | ०.७४ |
| माघ | १२९१९ | १०५७० | २२.२२ |
| फागुन | ५५१५ | १३३०२ | -५८.५४ |
| चैत | १७३५७ | ६९३५ | १५०.२८ |
| कुल | ८१७६५ | १२८६३१ | -३६.४३ |
यो वर्ष सेयर किनबेच साउन मध्यदेखि ओरालो लागेको थियो। साउन दोस्रो साता ४ वर्षअघिको उचाइ लिएको बजार त्यसपछि घटेको हो। गत साउनमा ३००२ अंकमा पुगेकामा नेप्से अहिले २८०० वरिपरि छ।











